१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
डा. राधिका बुढ्थापा
२०८० फाल्गुण २५ शुक्रबार ०७:१७:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आठ मार्च र नेपाली महिला

हाम्रो समाजका जन्मदेखि मृत्युसम्मका धेरैजसो धार्मिक, सामाजिक तथा सांस्कृतिक संस्कारमा महिलामाथि गरिने विभेद कहालीलाग्दा छन्

Read Time : > 4 मिनेट
डा. राधिका बुढ्थापा
२०८० फाल्गुण २५ शुक्रबार ०७:१७:००

महिला दिवस अंग्रेजी महिनाको मार्च आठका दिन विश्वका अधिकांश देशमा मनाइन्छ । यो दिवसकोे इतिहासबारे छोटो जानकारी लिन विगतको पृष्ठभूमिलाई केही केलाउनुपर्ने हुन्छ । संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरको एउटा कपडा मिलमा सन् १८५७ मार्च आठका दिन, त्यहाँ कार्यरत महिलाले पुरुषसरहको काम गरेको अवस्थामा पुरुषसरह नै ज्याला पाउनुपर्छ भन्ने माग राखेर पहिलोपटक संगठित रूपमा आन्दोलन गरेका थिए । सोही मिलमा सन् १८६० को मार्च आठमा यिनै महिलाले राष्ट्रियस्तरको पहिलो सम्मेलन सम्पन्न गरे ।

यता फ्रान्समा सन् १८८९ मार्च आठकै दिन भव्य रूपमा पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना भयो भने उता अमेरिकाको सिकागो सहरमा सन् १८९७ मार्च आठकै दिन महिला अधिकारका पक्षमा विशाल जुलुस, आमसभा र ठुल्ठूला हडताल भए । दश घन्टाभन्दा बढी काम गर्नुपर्ने बाध्यताको विरोध, पुरुषसरह महिलाले पनि ज्याला पाउनुपर्ने, मातृशिशुको अधिकार, मजदुर युनियनमा महिलाको पनि मताधिकार हुनुपर्ने आदि सो आन्दोलनका मुख्य माग थिए । 

संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा त्यहाँको तत्कालीन समाजवादी पार्टीले सन् १९०९ को फेब्रुअरी महिनाको २८ तारिखका दिन र सन् १९१० मा सम्पन्न अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनले महिलालाई पुरुषसरहको अधिकार हुनुपर्ने मागसहित दिएको सुझावअनुसार प्रत्येक वर्ष मार्च आठका दिन महिला दिवस मनाउन थालिएको देखिन्छ ।

अन्तर्राष्ट्रिय रूपमा महिलाले सशक्त रूपमा उठाउँदै आएका आन्दोलनलाई निरन्तरता दिन सन् १९१० मा डेनमार्कको कोपनहेगनमा अन्तर्राष्ट्रियस्तरको एउटा महिला दिवस मनाउने प्रस्ताव भयो । यसैको फलस्वरूप सन् १९११ को उन्नाइस मार्चका दिन प्रथमपटक अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्यान्डजस्ता देशमा लाखौँ महिलाको सहभागितामा प्रथम अन्तर्राष्ट्रिय महिला दिवस भव्यतासाथ मनाइयो । उक्त दिवसमा महिलालाई मतदान गर्ने अधिकारका अलावा व्यावसायिक तालिम प्रदान गरिनुपर्ने र महिलामाथि कुनै पनि किसिमको विभेद हुन नपाउनेलगायत माग समावेश गरिएका थिए । 

महिला अधिकारकै प्राप्तिका लागि गरिएको आन्दोलनको निरन्तरता स्वरूप सन् १९१३, १९१४ र १९१७ मा तत्कालीन रुसमा प्रथम विश्वयुद्धको विरोधमा महिलाले रोटी र शान्तिको नारासहित अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाए । युरोपका कैयौँ देशका महिलाले क्लारा जेटकिन, रोजा लक्जम्बर्ग र टेरेसा मल्किएललगायतको नेतृत्वमा महिला आन्दोलनलाई निरन्तरता दिए । यही महिला दिवसलाई हाल आएर संसारभर महिला अधिकारका लागि महत्वपूर्ण नारी दिवसका रूपमा लिइन्छ । हाम्रो देश नेपालमा पनि वर्षौंदेखि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिएको छ । तर, यो दिवस ‘श्राद्धमा बिरालो बाँध्ने परम्परा’जस्तो मात्र भएको छ ।

अशिक्षा, गरिबी, पितृसत्तात्मक सोच, हात्तीको देखाउने दाँतजस्ता कानुन आदिका कारण घरेलु हिंसा, दाइजो प्रथा, एसिड आक्रमण, जिउँदै जलाउनेजस्ता अमानवीय व्यवहारले महिलालाई जहिल्यै झस्काउने गरेका छन्
 

नेपाली महिलाले वि.सं. २००३ सालमा स्थापित नेपाली कांग्रेस पार्टी, २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी, त्यसपछि आएको झापा आन्दोलन, दशवर्षे जनयुद्ध, जनआन्दोलनलगायत सबै संघर्षमा धेरै ठूलो योगदान गरेको इतिहास साक्षी छ । यसैको फलस्वरूप नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तरित भयो । यही व्यवस्थाअन्तर्गत जनताका छोराछोरीले सत्ताको सम्पूर्ण बागडोर सम्हालेको पनि करिब–करिब दुई दशक हुन लागिसक्यो, तैपनि नेपाली महिलाको समस्या ज्युँकात्युँ छन् । हरेक दिनजसो हामी महिलाले कहालीलाग्दा हिंसा, बलात्कार, विभेद, दमन र शोषणसम्बन्धी समाचारका पात्र बनेर दिनचर्या सुरु गर्नु परिरहेको छ । 

हाम्रो समाजका जन्मदेखि मृत्युसम्मका धेरैजसो धार्मिक, सामाजिक तथा सांस्कृतिक संस्कारमा महिलामाथि गरिने विभेद कहालीलाग्दो छ । त्यसमा पनि अशिक्षा, गरिबी, पितृसत्तात्मक सोच, हात्तीको देखाउने दाँतजस्ता कानुन आदिका कारण घरेलु हिंसा, दाइजो प्रथा, एसिड आक्रमण, जिउँदै जलाउनेजस्ता अमानवीय व्यवहारले महिलालाई जहिल्यै झस्काउने गरेको छ । के यो देशमा महिला भएर जन्मिनु अभिशाप नै हो त ? यो प्रश्न यसै महिला दिवसदेखि उठाउनुपर्ने भएको छ ।

विगत पाँच वर्षमा आठ हजारभन्दा बढी नेपाली महिला बलात्कृत भएको आँकडाले छाती चरक्क चिरिन्छ । अहिले पनि प्रतिदिन ६ जना महिला बलात्कृत हुने गरेको यथार्थ नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । अबोध बालिकादेखि ८० वर्षसम्मका हजुरआमासमेत हाम्रै देशमा बलात्कृत भएका छन् । झन्डै साठी हजार घरेलु हिंसाका उजुरी प्रहरी प्रशासनमा परेको देखिन्छ ।

मानवअधिकारका क्षेत्रमा काम गर्ने एउटा संस्थाले २०७९ पुस १७ देखि २०८० पुस १५ सम्म नौ सय ८८ मानवअधिकार उल्लंघनका घटना घटेको उल्लेख गरेको छ । यस्ता अधिकांश घटनाका पीडित महिला नै हुने गरेका छन् । यसैगरी ज्यादतीका घटनामा सात हजार सात सय १६ महिला पीडित भएका देखिन्छन् । सो तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा महिलाको हकअधिकार उल्लंघनका घटना दुई हजारजनाभन्दा बढीमा भएको देखिन्छ । एवं रूपले अत्याचार बढ्दै जाने हो भने भोलिका दिनमा नेपाली महिलाको अवस्था के होला ? एउटा गम्भीर प्रश्न हाम्रा अगाडि तेर्सिन्छ । 

हिजो महिला दिवसको दिन प्राडो र पजेरो चढ्नेको विरोध गर्नेहरू आज आफू  यसबाट तल ओर्लंदैनन् । तारे होटेलमा महिला दिवस मानउनेहरूलाई सामन्ती, शोषक, नारीका नाममा कलंक भनेर नथाक्नेहरू अहिले तारे होटेलबाहिर महिला दिवसका कार्यक्रम गर्नै मान्दैनन् । सुन्दरी प्रतियोगिताको विरोध गर्नेहरू आज यस विषयमा चुइँक्कसम्म बोल्दैनन् । हिजो आप्mनो ज्यान, घरपरिवार, सम्पत्ति नभनी आन्दोलनमा होमिनेलाई, गाँस, वास, लत्ताकपडा र बाटोखर्च दिएर पठाउनेलाई आजभोलि बाटोमा देखेमा चिन्दैनन् । 

नेपाल आमाका हजारौंँ छोराछोरीले रगत र लाखौँलाखले पसिना बगाएका कारण देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएको हो । यो रक्तिम इतिहास निर्माणमा हामी महिलाको योगदान कत्ति पनि कम छैन । हिजोको त्यो कालरात्रिमा सबै राजनीतिक दलले महिला, सर्वहारा, श्रमिक, मजदुर, किसान, सीमान्तकृत समुदायको मुक्ति नै आफ्नो मूल मुद्दा बनाएका थिए । निश्चित् राजनीतिक दर्शन र विचारका आधारमा दलहरू बनेका हुन् । तर विडम्बना, अहिले नेपालमा आपूmलाई एक नम्बरका समाजवादी दाबी गर्ने यी राजनीतिक दलभित्र विचारको बहस शून्य छ । जसका लागि यी पार्टी बनेका हुन्, तिनकै लागि आज यी पार्टी छैनन् ।

अहिले राजनीतिक दर्शन, विचारसँग यिनीहरूको टाढाको पनि नाता पर्दैन । रगतको आहालबाट उठेर आएका यी पार्टी अनि मृत्यु वा मुक्ति घोकेर नथाक्ने नेताहरू आज केही वर्षभित्रै आदर्शबाट पूरै विमुख देखिन्छन् । भर्खरै देशमा विद्यमान प्रमुख तीन ठूला राजनीतिक दलहरूले तामझामसाथ बैठक–भेला सम्पन्न गरेका छन् । तर, यिनका कुनै पनि मुद्दाहरूले जनतालाई आकर्षित गर्न सकेनन्, महिलाका मुद्दा उठाउनु त धेरै टाढाको विषय भयो । 

आजभोलि नेपाली महिलाले आफू  संलग्न राजनीतिक दलबाट धोका पाएको अनुभूति गरिरहेका छन् । आजको मानव समाज विज्ञान र प्रविधिमा आएको चमत्कारसँगै धेरै अगाडि बढिसक्यो । यही प्रविधिकै सहयोगमा अर्को ग्रहमा मानव अस्तित्व खोेजिँदै छ । जल, जमिन, जंगल आदि नहुँदा पनि मान्छे बाँच्न सक्छ भनेर अर्को पृथ्वी निर्माण गर्ने परीक्षणमा छ मानव जाति ।

हावामा पनि उद्योग खोलेर फेसबुकका जन्मदाता मार्क जुकरबर्गले ३२ वर्षको उमेरमा विश्वको कान्छो छैटौँ धनी बनेर आफ्नो इतिहास बनाइसके । त्यस्तै दिमागकै उपयोग गरेर एलन मस्क (ट्विटर), अलिबाबा (अमेजन) आदि कहाँबाट कहाँ पुगिसके । भोलिका दिनको त कल्पनासम्म पनि गर्न सकिँदैन । सम्भवतः हामीजस्तै यस धर्तीका मान्छेले एउटा ग्रहमा एउटा घर र अर्को ग्रहमा अर्को घर बनाएर केही दिन यता केही दिन उता बस्छन् होला कुनै दिन । तर, विडम्बना, आजको यस युगमा पनि हुम्ला अदानचुली गाउँपालिका, काँखे गाउँकी रंगिता शाही नाम गरेकी २० वर्षीया एक युवतीको गाउँनजिकै स्वास्थ्यचौकी नहुँदा सुत्केरी हुन नसकेर २०७९ फागुनमा मृत्यु भयो ।

हुम्लाकै सर्केगाड गाउँपालिकाकी २४ वर्षीया अर्की युवती पवित्रा शाहीको सुत्केरी भएपछि भएको उच्च रक्तस्रावले स्वास्थ्य संस्थामा उपचार हुन नसकेर मृत्यु भयो । हवाईजहाजको प्रतीक्षा गर्दागर्दै ताजाकोट गाउँपालिकाकी २३ वर्षीया अंशु बुढाको सुत्केरी हुन नसकेर २०८० पुसमा मृत्यु भयो । यी घटनाले सञ्चार माध्यममा आएको सीमित जिल्लाका थोरैको मात्र प्रतिनिधित्व गर्छन् । यस्ता कैयौँ दुःखद घटना देशभर दिनदिनै मात्र होइन, पलपलमा घटिरहेका हुन्छन् । 

मानिसको बाँच्न पाउने अधिकारको सुनिश्चतता नै मानवअधिकारको पहिलो सर्त हो । अधिकारभन्दा जीवन ठूलो हो, जीवन रहे मात्र अधिकारको कुरा गर्न सकिन्छ । यसैले काठमाडौंका महँगा होटेलमा हिजोको गरिबी र विपन्नतालाई भजाएर अहिले सुकिलामुकिला भइटोपलेका सम्भ्रान्त महिलाले एक दिन मनाएको यस दिवस र फलाकेका खोक्रा भाषणले देशभरिका शोषित–पीडित, बलात्कृत, अल्पआयुमै मृत्युकोे पर्खाइमा बसेका निमुखा, गरिब, दुःखी, मजदुर, किसान महिलालाई केही फरक पार्नेछैन । भनिन्छ, समयले मानिससँग केही समय खोस्छ, तर त्यसको बदलामा कुनै महत्वपूर्ण पाठ सिकाएर जान्छ रे ! सम्भवतः अहिलेको यस विषम समयले पनि हामी महिलालाई यस्तै केही पाठ सिकाउने नै छ । यो वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले भर्खरको उमेरमा उचित उपचार नपाएर मृत्यु भोग्नुपर्ने महिलाको यो नियतीको परम्परालाई चिर्न सकोस्, यही शुभकामना !
(सामाजिक विकृति र महिला अधिकारबारे कलम चलाउँदै आएकी डा. बुढ्थापा महिला अभियन्ता हुन्)