१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुदूरपश्चिम सरकार अल्पमतमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४१:oo

नेकपा एकीकृत समाजवादी पनि सरकारबाट बाहिरिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन् । समाजवादीको संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रले बुधबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

एकीकृत समाजवादी केन्द्रीय गठबन्धनमा सहभागी भएपछि मुख्यमन्त्री शाहले उक्त दलबाट आर्थिक मामिलामन्त्री बनेका नरेशकुमार शाहीलाई आज पदमुक्त गरेका छन् । यसअघि माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पनि मुख्यमन्त्रीले मंगलबार पदमुक्त गरेका थिए ।

अल्पमतमा परेका मुख्यमन्त्रीलाई अब उनको पार्टी नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका सात गरी २५ सांसदको समर्थन छ । सरकारमा नागरिक उन्मुक्तिबाट एक मन्त्री छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ ।

बहुमत कायम राख्न मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिको समर्थन जोगाएर प्रदेश सभामा एक सदस्य रहेको राप्रपा र स्वतन्त्रबाट निर्वाचित एक सांसदको समर्थन अनिवार्य छ । प्रदेशमा राप्रपा र स्वतन्त्र सांसद अहिले प्रतिपक्षीको बेन्चमा छन् । मुख्यमन्त्री अल्पमतमा परे पनि गठबन्धनलाई पनि यहाँ नयाँ सरकार गठनका लागि सहज छैन ।

नागरिक उन्मुक्ति पार्टीको समर्थनविना एमाले–माओवादी गठबन्धनले सरकार गठन गर्न सक्ने अवस्था छैन । गठबन्धनको पक्षमा माओवादीका सभामुखबाहेक १०, एमालेका १० र एकीकृत समाजवादीका चार गरी २४ सिट छ । राप्रपा र स्वतन्त्र सांसदले समर्थन गरेको अवस्थामा पनि गठबन्धनको पक्षमा बहुमत पुग्दैन ।

केन्द्रमा सरकारमा सहभागी नभएको नागरिक उन्मुक्तिले प्रदेशको सन्दर्भमा निर्णय गरिसकेको छैन । कांग्रेसबाट निर्वाचित एक सदस्यको दुर्घटनामा निधन भएपछि प्रदेश सभामा अहिले ५२ सदस्य छन् ।  
 

ad
ad