१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

युट्युबरका लागि काउन्सिलको अभिमुखीकरण

मर्यादित सामग्री सम्प्रेषण गरेर स्थापित हुन महासंघका अध्यक्ष पोख्रेलको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:४o:oo

प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका सन्दर्भमा दोस्रो चरणको आचारसंहिता अभिमुखीकरण कार्यक्रम गरेको छ । मंगलबार काउन्सिल सभाहलमा सञ्चालनमा रहेका युट्युब च्यालनका सञ्चालक–सम्पादकलाई बोलाएर आचारसंहिता, निर्देशिका तथा कानुनी प्रावधानबारे कक्षा दिएको हो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले युट्युबमार्फत मर्यादित सामग्री सम्प्रेषण गरेर समाजमा स्थापित हुन सुझाव दिए ।  पत्रकार आचारसंहिता र त्यसका प्रावधानबारे प्रस्तुति राख्दै उनले जुनसुकै समाजले नयाँ कुरा सहजै स्वीकार नगर्ने हुँदा निरन्तर मर्यादित सामग्री दिएर पनि समाजको स्वीकार्य हुनुपर्ने बताए । युट्युबमा समाचारजन्य र सार्वजनिक सरोकारका विषयवस्तु राख्ने हो भने पत्रकार आचारसंहिता र प्रचलित ऐन–कानुनको परिधिमा बाँधिनैपर्ने उनको  भनाइ थियो । 

कार्यक्रममा युट्युबको व्यवस्थापनमा काउन्सिल विषयक कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले काउन्सिलले लामो समयदेखि युट्युब र यसबाट सम्प्रेषित सामग्रीका सम्बन्धमा गरिरहेको गृहकार्यबारे जानकारी दिए । यस्तै, विभिन्न सञ्चार निर्देशिका र तिनमा रहेका प्रावधानबारे कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलकी पूर्वसदस्य शुभेच्छाविन्दु तुलाधरले युट्युबमार्फत गरिने पत्रकारिता आचारसंहिता र निर्देशिकाको मातहतमा रहनैपर्ने बताइन् ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले चालू आर्थिक वर्षमा युट्युबबाट प्रसारित सामग्रीबारे २९ वटा उजुरी परेको जानकारी दिए । उनले अनुगमन गर्ने, सचेत गराउने र कारबाही गर्ने प्रक्रियाबारे बुझाउन पनि युट्युब सञ्चालकका लागि कार्यक्रम सुरु गरिएको बताए । कार्यक्रममा सहभागीले युट्युब सञ्चालन गर्दाका समस्या, विषयवस्तुको छनोट, प्रसारण र काउन्सिलको अनुगमन तथा कारबाही प्रक्रियाबारे जिज्ञासा राखेका थिए ।

काउन्सिलका आचारसंहिता अनुगमन अधिकृत महेन्द्रराज सिंहले सहजीकरण गरेको कार्यक्रममा ३० जना युट्युब सञ्चालक तथा सम्पादकको सहभागिता रहेको थियो ।

ad
ad