१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० फाल्गुण १७ बिहीबार ११:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मनाङमा बढ्दै आन्तरिक पर्यटक

Read Time : < 1 मिनेट
२०८० फाल्गुण १७ बिहीबार ११:००:००

विगतमा बाह्य पर्यटक बढी आउने मनाङमा अहिले आन्तरिक पर्यटकको आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङले जनाएको छ । मनाङबाट लमजुङ, अन्नपूर्ण, मनास्लु, जुलुलगायतका हिमशृंखलाहरू आँखैको सामुन्ने देख्न सकिन्छ । चारैतिर हिमालले घेरिएका उपत्यका छन् । ताल, गुम्बा, बुद्धमन्त्र कुँदिएका ढुंगा, माटोको छानाका घर, घरैपिच्छे लुङदार, स्थानीय रहनसहनले मनै प्रफुल्ल बनाउँछ । हिमाली भञ्ज्याङ थोराङ्लापास (५,४१६ मिटर उचाइ) पनि यहीँ छ । 

कसरी पुग्ने ?
पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेदेखि उत्तरतर्फ लमजुङको बेँसीसहरसम्म ४२ किलोमिटर कालोपत्रे सडक छ । बेँसीसहरदेखि मनाङ सदरमुकाम चामे ६५ किलोमिटर र चामेदेखि खाङसार ३१ किलोमिटर दूरी छ । जिपमा डुम्रेदेखि बेन्सीसहर डेढ घण्टा, बेंसीसहरदेखि चामे ६ घण्टा र चामेदेखि मनाङगाउँ साढे दुई घण्टामा पुगिन्छ । मनाङगाउँदेखि खाङसार आधा घण्टामै पुग्न सकिन्छ । मनाङगाउँ चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य हो भने खाङसार चर्चित हिमताल तिलिचो ताल (४९,१९ मिटर) जाने बाटो हो । २१ दिनको पदयात्रा मोटर चलेपछि धेरै पर्यटक एक सातादेखि १० दिनमै यात्रा टुंग्याउँछन् । यात्रा काठमाडौंदेखि सुरु भएर पोखरा पुगेर टुंगिन्छ । कतिपय बेँसीसहरबाट मनाङसम्म हिँडेर यात्रा गर्न रुचाउँछन् ।

घुम्ने उपयुक्त मौसम
मनाङमा पदयात्रा बाहै्र महिना गर्नेहरू पनि भेटिन्छन् । पर्यटकीय मौसम भने मार्च, अप्रिल, मे साथै सेप्टेम्बर, अक्टुबर र नोभेम्बर गरी दुई सिजनमा हुन्छ । लमजुङको बेँसीसहरबाट जिपमा पुग्न सकिन्छ । पदयात्रीहरू अधिकांश लमजुङ सिमानादेखि नै हिँडेर उक्लन्छन् । मनाङ क्षेत्रमा पदयात्रीहरू विशेष गरेर थोराङ्लापास, लार्केपास, कालापास, विश्वकै अग्लो स्थान (४,९१९ मिटर)मा रहेको तिलिचो तालको अवलोकनका लागि आउने गर्छन् ।