पछिल्लो समय नेपाली सिने र रंगमञ्चमा युवा कलाकारको उपस्थिति बढ्दै गइरहेको छ। कलाको उज्यालोमा होमिन आएका लक्ष्मी बर्देवा र विजय बरालले कलाकारिताको सम्भाव्यतामाथि बुढानीलकण्ठ सांस्कृतिक–साहित्यिक महोत्सव–२०८० को दोस्रो दिन ‘नाङ्साल’ सेसनमा आफ्नो यात्रालाई सम्झेका थिए। तामाङ भाषाको शब्द ‘नाङ्साल’को नेपाली अर्थ हो- बत्ती।
सहजकर्ता केदार श्रेष्ठले कलाकारिता र समाजको समृद्धिको चाहनाको अन्तर र सामीप्यता, कलाकारको जीवनयापन र वर्तमान कला परिवेशको बारेमा प्रश्नहरू सोधेका थिए।
बर्देवा र बराल दुवैले कला क्षेत्र उज्यालो भएरै युवा आकर्षण बढेकोमा सहमति जनाए। तर, यो क्षेत्रमा आउन अध्ययन र पर्याप्त तयारीको आवश्यकता हुनुपर्नेमा उनीहरूको जोड थियो।
सेसनमा बर्देवाले भनिन्, ‘समाजमा भइरहेको परिवर्तनले कलामा प्रत्यक्ष प्रभाव पार्छ। जतिजति समाज परिवर्तन हुँदै गयो, त्यसलाई देखाउने कलाकारिता पनि समयअनुसार परिमार्जन भइरहेको हुन्छ। समाजको समृद्धिलाई कला–साहित्यले नै टेवा दिने हो।’
बरालको धारणा पनि मिल्दोजुल्दो थियो। उनले भने, ‘समाजसँगै कलाकारिताको पनि विकास हुँदै जान्छ। समाजमा भौतिक उन्नतीसँगै कलाकारिताको उपयोगितालाई पनि कम आकलन गर्न सकिन्न।’
सिनेमा र रंगमञ्चको प्राविधिक पक्ष फरक भए पनि अभिनयमा भने समानता हुने विजयको थियो धारणा। लक्ष्मीले भने महिला कलाकारले अभिनय गर्दै गर्दा खासै विभेद सहनुनपरे पनि निर्देशकको भूमिकामा आउँदा भने चलचित्र उद्योगभित्रैका व्यक्तिलाई स्विकार्न गाह्रो भइरहेको बताइन्।
उनले भनिन्, ‘मैले (महिलाले) कलाकार भएर मात्र आउँदा त्यस्तो ठूलो अन्तर हुने रहेनछ। निर्देशक भएर आउँदा महिलाको बुद्धिमाथि नै प्रश्न उठ्ने रहेछ। महिलाको दिमाग यसरी चल्दैन भन्ने हिसाबमा चलचित्र क्षेत्रभित्रकै व्यक्तिहरूले औँला उठाए।’