नेपाल युवा परिषद्ले धनगढीका पत्रकार दीर्घराज उपाध्यायलाई आइकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरेको छ।
परिषदद्वारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक रहेका उपाध्यायलाई पत्रकारिता विधातर्फको आइकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरिएको हो।
प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पत्रकार उपाध्यायलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरे।
उपाध्यायले पत्रकारिताका माध्यमबाट सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको परिषद्ले जनाएको छ।
बिहीबार सुरु भएको प्रदेश युवा सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ। सम्मेलनको दोस्रो दिन आज विभिन्न विधामा योगदान पुर्याउने व्यक्तिहरूलाई आइकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको हो।
सम्मेलनमा सुदूरपश्चिम प्रदेशका रक्तदातामध्ये सर्वाधिक एक सय पाँचपटक रक्तदान गर्ने पत्रकार दीपक उपाध्याय, उद्योगीतर्फ आदित्य अग्रवाल, शिक्षा क्षेत्रतर्फ अनिता जोशी, समाजसेवातर्फ कल्पना भट्ट, संगीततर्फ रेखा जोशी, सूचना प्रविधितर्फ दीपेन्द्र जोशीलगायतलाई आइकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको थियाे।