१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १२:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘फेरि संसार देख्छु भन्ने लागेको थिएन’ 

रोशी गाउँपालिकाद्वारा १७१ जनाको निःशुल्क शल्यक्रिया

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:१९:oo

रोशी गाउँपालिका– ४ का ७८ वर्षीय मानबहादुर तामाङ आँखा जचाउने पालो पर्खँदै थिए। उनलाई कतिखेर खुसी साटौँ भन्ने छटपटीले सताइरहेको उनको हाउभाउबाट बुझ्न सकिन्थ्यो। 

उनको आँखाको ज्याेति शल्यक्रियापछि भर्खरै खुलेको थियो। एक वर्षदेखि श्यामश्वेतजस्तै बनेको उनको संसार फेरि देख्ने मौका मिलेको थियो।

‘एक वर्षदेखि एउटा आँखा बन्दै थियो। अर्काेले धमिलो मात्रै देख्थेँ। मोतियाविन्दुको शल्यक्रियापछि अहिले त प्रस्ट देख्न थालेँ। खुसी लागेको छ,’ उनले भने, ‘यो जुनीमा फेरि यसरी संसार देखिएला भन्ने लागेको थिएन। तर, देखियो। एकदम खुसी लागेको छ। सबैलाई धन्यवाद छ।’

रोशी– ३ का ७० वर्षीय पाल्साङ लामाको एक वर्षअगाडि आँखाको अप्रेसन गरिएको थियो। धमिलो देखिने र मान्छे चिन्नलाई नजिकै जानुपर्ने लामाले अहिले टाढैबाट प्रस्टै मान्छे चिन्छन्। अक्षर सजिलै पढ्न सकिने उनले बताए। अहिले उनी श्रीमतीको आँखा शल्यक्रिया गर्न बनेपा आएका छन्। 

उनकी ६६ वर्षीया श्रीमती लामु लामाका दुवै आँखा नदेख्ने भएपछि उपचार गर्न आएको उनले बताए। उनको पनि शल्यक्रियापछि दुवै आँखा देख्ने भएका छन्। ‘मेरो जहानको दुवै आँखा नदेख्ने थियो। अस्ति एउटा आँखाको अप्रेसन गर्‍याे र हिजो एउटा आँखाको अप्रेसन गर्‍याे, अहिले दुवै आँखा देख्छ।’ पाल्साङ लामाले भने, ‘सबैभन्दा ठूलो कुरा आँखा रहेछ। यसरी देख्छ जस्तो लागेको थिएन, देखियो खुसी लाग्या छ।’

त्यसरी नै रोशी– ११ का ७५ वर्षीय डिल्लीराम श्रेष्ठ रोशीका स्वास्थ्यकर्मी देवेन्द्र चौधरीलाई भन्दै थिए, ‘तपाईंहरूले हाम्रा लागि धेरै दुःख गर्नुभयो। भीमखोरीतिर आउने वेलामा सम्झनुहोस् है म लिन आउँछु। मेरो घरमा जानुपर्छ।’ 

उनीहरूजस्तै एक सय ७१ जनाले मोतियाविन्दुको शल्यक्रियापछि आँखा देखेका छन्। रोशी गाउँपालिकाको आयोजना तथा रेयुकाई एईको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा तीन ठाउँमा एक–एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो। 

सोही आँखा शिविरमा मोतियाविन्दु पहिचाहन गरी शल्याक्रिया गर्न बनेपा ल्याइएको थियो। गाउँपालिकाले गत वर्षदेखि आफ्ना नागरिकहरूलाई निःशुल्क आँखा उपचार गर्दै आएको छ। निःशुल्क शिविरबाट फेल परेको मोतियाविन्दुको गाउँपालिकाद्वारा निःशुल्क शल्यक्रिया पनि गरिदिने गरेको छ। 

रोशी गाउँपालिका स्वास्थ्य शाखाका सहसंंयोजक दिलरत्न शाक्यका अनुसार गत वर्ष एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको थियो। यस वर्ष ४८ जनाको शल्यक्रिया गरेको शाक्यको भनाइ छ। 

यस वर्ष फागुन २ गते वडा नं. ७ मा, फागुन ३ गते वडा नं. ११ मा र ४ गते वडा नं. ४ मा निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो। शिविरमा चार सय २७ जनाको आँखा परीक्षण गरेकोमा ६६ जनाको आँखामा मोतियाविन्दु फेला परेको थियो। सोमध्ये ४८ जनाले मात्र शल्यक्रियामा भाग लिएका थिए। 

शल्यक्रियाका लागि वडा–वडाबाटै यातायातको साधन लगेर बनेपा ल्याएको शाक्यले जानकारी दिए। शल्यक्रिया अवधिमा घरबाट आउने–जाने यातायात खर्च र अस्पतालमा बस्ने–खाने सबै र उपचार खर्च सबै गाउँपालिकाले व्यहोरेको उनले बताए। 

रोशी गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। 

नागरिक स्वस्थ भएमा मात्र विकास निर्माणको काम गर्न सकिने र समृद्ध गाउँपालिका निर्माण गर्न सम्भव हुने भएकाले नागरिकको स्वास्थ्य गाउँपालिकाको पहिलो प्राथमिकता रहेको लामाले बताए। 

‘जुन ठाउँको नागरिक स्वस्थ हुन्छ, त्यस ठाउँको विकास हुन्छ। नागरिक नै स्वस्थ भएन भने कसले विकास गर्छ ? त्यसैले हामीले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौँ,’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘हामी निर्वाचित भएर पहिलो निर्णय नै ६०–७० वर्षसम्मको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका थियौँ।’ 

अहिलेसम्ममा रोशीमा तीन हजार ७९ परिवारमध्ये दुई हजार ६ सय ४८ भन्दा बढी परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। जसमा ६०–७० वर्षसम्मको एक हजार सात सय ८० भन्दा बढी परिवारको बिमा शुल्क गाउँपालिकाले व्यहोरेको छ भने ७० वर्षदेखि माथिको आठ सय ६८ परिवारको संघीय सरकारले बिमा शुल्क व्यहोरेको छ।

ad
ad