१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण १२ शनिबार ११:५०:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलाडीलाई प्रोत्साहन गर्दै मुसिकोट : भलिबल खेलाडीलाई जनही ११ हजारले सम्मान

Read Time : > 1 मिनेट
२०८० फाल्गुण १२ शनिबार ११:५०:००

गुल्मीको मुसिकोट नगरपालिकाले खेलाडीहरूलाई प्रोत्साहन गर्न नगदसहित सम्मान गरेको छ । मदाने गाउँपालिकामा ७ देखि ९ फागुनसम्म सञ्चालन भएको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि प्राप्त गर्ने नगरका खेलाडी, कोच र व्यावस्थापकलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । 

खेलाडीहरू आशिष सुनार, सागर सुनार, सागर बिक, सागर रसौली, सुदीप रायमाझी, सन्दीप बिक, लक्ष्मण बिक, राजन बिक, दीपेन्द्र माझी, टिम कोच मदन पचभैया र नगर खेलकुद विकास समिति अध्यक्ष सन्दीप खत्रीलाई जनही नगद ११/११ हजारसहित सम्मान गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए ।

जिल्लाका अन्तरपालिकाबीच भएको प्रतिस्पर्धामा मुसिकोटले चन्द्रकोटलाई २५–१९, २५–१९ र २५–१८ को सोझो सेटमा हराउँदै प्रतियोगिताको उपाधि हात पारेको थियो। खेलमा प्रथम मुसिकोटले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रशासकीय अधिकृत कुँवरले जानकारी दिए। 

मुसिकोट खेल क्षेत्रमा अब्बल बन्दै

मुसिकोट खेल क्षेत्रका विभिन्न विधामा अब्बल बन्दै गएको छ। कुँवरले नगरले खेलाडीको सबै खर्च व्यहोरेर प्रतियोगिताहरूमा खेलाडी सहभागी गर्ने र ऊर्जाका निम्ति सम्मान गर्ने गरेको बताए। त्यस्तै, मुसिकोट नगरपालिकाले १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधिको लागि प्रतिस्पर्धा गर्ने एक सय तीनजना खेलाडीलाई पनि नगरसहित सम्मान गरेको थियो। 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सहभागी एक सय एकजनालाई जनही क्रमश: एक हजार, सात सय ५० र पाँच/पाँच सय रुपैयाँ नगदसहित सम्मान गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दीप खत्रीले जानकारी दिए।

गुल्मी तम्घासको चिदिचौर खेल मैदानमा सञ्चालन भएको जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मुसिकोट नगरपालिकाले लगातार तीन वर्ष रनिङ सिल्ड प्राप्त गरेको छ। मुसिकोटले १७ स्वर्ण, २० रजत र २३ कांस्य गरेर ६० पदकसहित रनिङ सिल्ड कब्जा गरेको खत्रीले बताए। 

मुसिकोट नगरपालिकालले कार्यक्रमहरूमा खेलाडी, पूर्वखेलाडी, रेफ्री तथा विभिन्न विषयमा मुसिकोटको पहिचान गराउने व्यक्तिहरूलाई सम्मान र प्रोत्साहन गर्दै आएको छ। मुसिकोट नगरपालिकाले ३५ मिनेटमा १० किलोमिटर दौडेर प्रथम हुने मुसिकोट नगरपालिका ८ का भुवन खत्रीलाई पनि नगरमै अभिनन्द गरेको थियो। उनले जिल्ला खेलकुद विकास समिति गुल्मीले आयोजना गरेको ‘जाऊँ हिडौँ रेसुंगा’ १० किलोमिटर दौड प्रतियोगितामा ४३ जनालाई उछिनेर प्रथम भएका थिए।

त्यस्तै, गत कात्तिक २२ गतेदेखि २४ सम्म सञ्चालित एक लाख ५० हजार राशिको मेयरकप भलिबल प्रतियोगितामा मुसिकोट नगरपालिका–५ का पूर्वराष्ट्रिय भलिबल खेलाडी छवि खरेललाई नगरले सम्मान गरेको थियो। त्यस्तै, सगरमाथा आरोही गुल्मीको मुसिकोट नगरपालिका ३ का २६ वर्षीय गणेश कार्कीलाई नगरले सम्मान गरेको थियो। ०७२ सालमा सहायक सेनानी पदबाट नेपाली सेवामा प्रवेश गरेका कार्की ‘सफा हिमाल अभियान–२०२२’ अन्तर्गत गत वर्ष सगरमाथा आरोहण गरेका थिए। 

मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले खेलाडीहरूको सफलताले समग्र मुसिकोटको पहिचानमा टेवा पुगेको बताए। उनले खेल क्षेत्रको विकास र खेलाडीको ऊर्जालाई कहिल्यै मर्न नदिने गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। आफूहरूले हरेक विधामा मुसिकोटको पहिचान दिलाउने व्यक्तिहरूलाई सूचना प्राप्त भएसम्म सम्मान गर्ने गरिरहेको खरेलले बताए।