१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खुकुरी युथ क्लब : भैलो र होलीमा संकलित रकमले सामाजिक कार्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:५४:oo

सरकारप्रतिको परनिर्भरता बढ्दै गएपछि अहिले नागरिक र संघसंस्थामा सामाजिक उत्तरदायित्व हराउँदै गएको छ । अर्बौँ कमाउने संघसंस्थाले पनि बरु सरकार ठग्ने, तर आफ्नो जिम्मेवारी र उत्तरदायित्वबाट उम्कने प्रवृत्ति हाबी हुँदै गएकाे पाइन्छ । तर, गुल्मी तम्घासमा भर्खर हुर्कँदै गरेको क्लबले भैलो र होलीमा संकलन गरेको पैसाले उदाहरणीय सामाजिक काम गरिरहेको छ ।

खुकुरी युथ क्लब संगीतबाट स्थापित संस्था हो । यसको ११ सदस्यीय कार्यसमिति छ । आधुनिक पप र्‍यापमा स्थापित खुकुरी ब्यान्डले ०७९ सालबाट क्लबको रूपमा सामाजिक काम गर्दै आएको छ । स्थानीय ३५ जना युवा आबद्ध खुकुरी युथ क्लबले स्थापनाकालदेखि म्युजिक वर्कसप, विद्यालय प्रशिक्षण, दीर्घरोगी सहयोग, खेलाडी प्रोत्साहन तथा डस्टबिन तथा होर्डिङ बोर्ड राख्ने काम गरिरहेको क्लबका अध्यक्ष सन्दीप भलामीले बताए ।

क्लबले गत होलीमा ‘होली उत्सव– ३’ आयोजना गरेर  संकलित रकममध्येबाट गुल्मीदरबार– ७ का ब्रेनट्युमरपीडित सन्दीप अर्याललाई १५ हजार प्रदान गरेको थियो । त्यस्तै, क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत खानीगाउँ, बुढीचौर र अस्पताल लाइनका विभिन्न चोकमा १० वटा फोहोर संकलन गर्ने डस्टबिन वितरण गरेको अध्यक्ष भलामीले जानकारी दिए । साथै विद्यालयहरू भएको खानीगाउँ बजार क्षेत्रमा गाडीको गति सीमितका लागि सांकेतिक सूचना पाटी र ऐतिहासिक तथा पर्यटकीय क्षेत्र रेसुंगाको प्रवेश संकेत गर्ने होर्डिङ बोर्ड पनि क्लबले राखेको छ ।

क्लबको गत वर्ष पनि विभिन्न रोगबाट पीडित व्यक्तिहरूलाई सहयोग गरेको थियो । त्यस्तै, विदेशमा खेल खेल्न जाने क्रममा खेलाडी वीरेन्द्र कुँवरलाई पनि क्लबले आर्थिक सहयोग गरेको थियो । ‘क्लबको आर्थिक स्रोत केही छैन । सरकारले युवा क्लबहरूलाई सहयोग र उपयोग गर्न सकेन,’ उनले भने, ‘भैलो र चन्दाको भरमा काम गरिरहेका छौँ ।’

खुकुरी ब्यान्डमा विभिन्न विधाका सातजना कलाकार छन् । यो खुकुरी ब्यान्ड व्यवसायी छ । तर, गाउँमा अझै पनि आधुनिक पप र्‍यापमा रमाउनेहरू कम छन् । जसका कारण ब्यान्डको दौड सोचेअनुसार भएको छैन । उनीहरूले करिब पाँच लाखबराबरको ब्यान्डसँग सम्बन्धित संगीत सामग्री जुटाएका छन् । म्युजिक रुममा उनीहरूले हरेक दिन म्युजिक वर्कसप गर्छन्। 

सम्भावना भएका कलाकारहरू विदेश पलायन 
आधुनिक पप र्‍यापमा गाउन वा वाद्यवादनमा रुचि भएकाहरूलाई अभ्यासको व्यवस्थान क्लबले गरेको क्लबका सचिव निशान टन्डनले बताए । गत वर्ष क्लबका अध्यक्षले ३१ विद्यालयमा संगीत प्रशिक्षण दिएका थिए । आधुनिक पप र्‍यापप्रतिको सकारात्मक बुझाइ नभएका कारण खुकुरी ब्यान्डसँगै हुर्किएर कलाकारहरू बिस्तारै पलायन भइरहेको टन्डनले दुःखेसो पोखे । 

समीर श्रीस खुकुरी ब्यान्डका अब्बल ड्रमर हुन् । उनी अहिले युएई छन् । गितारिष्ट सिर्जन खड्का र गणेश सुनार जापान छन् । यसैगरी, प्रतापराज मल्ल भारतीय सेनामा भर्ती भएका छन् । राम्रो गायकी भएका सौरभ थापा साइप्रस लागे ।

राम्रो सम्भावना भएका कलाकारहरू विस्थापित हुँदै गएपछि क्लबको लगानीअनुसारको उद्देश्य पूरा गर्न कठिन भएको सचिव टन्डनले बताए । ‘जिल्लाकै मेला उत्सवमा बाहिरका महँगा कलाकार बोलाउँदा हामीलाई उपेक्षा गरिन्छ । पहाडी जिल्लामा पप र्‍यापको बुझाइ पनि सकारात्मक छैन,’ उनले भने, ‘सहयोगी हातको साथमा सामाजिक काम गर्दा खुसी नै छौँ ।’


 
 

ad
ad