१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:५४:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आगलागीबाट गुल्मीमा २८ घरगोठ जले, कैलालीमा करिब आठ बिघामा लगाएको गहुँबाली नष्ट

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:५४:oo

कैलालीको जोशीपुर र बर्दगोरिया गाउँपालिकामा खेतमा भित्र्याउन ठिक्क भएको गहुँबालीमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ । प्रहरीले संकलन गरेको विवरणअनुसार करिब आठ बिघामा लगाएको गहुँबाली आगलागीले नष्ट भएको छ । गहुँ काटेर भित्र्याएको ठाउँमा समेत करिब ५० बिघा खेतमा आगलागी भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो बर्दगोरिया गाउँपालिका– ६, स्थानीय विपना गड्सेलाले बारीमा लगाएको आगो गहुँको खेतमा सल्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले बताए । खेतमा सल्किएको आगोसँगै जोडिएको जोशीपुर गाउँपालिका– ६, सिमरी र पकडिया गाउँसम्म पुगेको थियो ।

आगलागीबाट जोशीपुरको सिमरी र पकडिया गाउँका १५ किसानको करिब एक सय ४४ कट्ठा खेतमा लगाएको गहुँबाली नष्ट भएको इलाका प्रहरी कार्यालय जोशीपुरका प्रहरी निरीक्षक गणेशबहादुर थापाले जानकारी दिए । उनका अनुसार एकै किसानको अधिकतम एक बिघासम्ममा लगाएको गहुँबाली जलेर नष्ट भएको छ । करिब ५० बिघाजति खेतमा आगलागी भएकोमा कतिपय किसानले गहुँ भित्र्याइसकेको प्रहरीले जनाएको छ । काट्न बाँकी, काटेर खेतमा छोडेको र थ्रेसिङका लागि खेतमै थुपारेर राखेको गहुँ जलेर नष्ट भएको वडाध्यक्ष भोजराज डगौराले बताए । ‘गहुँ काटेर भित्र्याइसकेको ठाउँमा पनि नल थियो । गर्मीको समयमा दिउँसो अलिअलि हावा पनि चलेको थियो,’ उनले भने, ‘सुकेको गहुँ र नलमा सल्केको आगो नियन्त्रण गर्नै कठिन भयो ।’ 

टीकापुर, लम्कीचुहा र घोडाघोडी नगरपालिकाबाट आएका तीनवटा दमकल, स्थानीय र सुरक्षाकर्मीको प्रयासमा करिब साढे दुई घन्टापछि आगलागी नियन्त्रणमा आएको वडाध्यक्ष डगौराले बताए । उनका अनुसार खेतमा भीषण आगलागी भएपछि गाउँमा दुई सयभन्दा बढी मानिस जम्मा भएका थिए, तर दमकलविना आगो नियन्त्रणमा आउन सकेन । ट्याक्टरले खेत जोतेरसमेत आगलागी नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।

बर्दगोरियाको जोकहीँका तीनजना किसानको करिब एक बिघा खेतको गहुँ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय सडकपुरले जनाएको छ । बर्दगोरिया–६, का वडाध्यक्ष भोजराज डगौराले छिमेकी पालिकाबाट दमकल आउन समय लागेकाले बढी क्षति भएको बताए । स्थानीयका अनुसार जोशीपुर र बर्दगोरिया गाउँपालिकासँग दमकल छैन । आगो निभाउनका लागि ठूलो संख्यामा स्थानीय बासिन्दा र सुरक्षाकर्मी जम्मा भए पनि गर्मीयाममा तीव्र रूपमा फैलिएको आगो निभाउन नसकिएको वडाध्यक्ष डगौराले बताए । ‘काटेर थ्रेसिङका लागि खेतमै थुपारेको गहुँ पनि बचाउन सकिएन,’ उनले भने, ‘आगलागीले गहुँबालीमा ठूलो क्षति पुर्‍यो । किसान मारमा परेका छन् ।’

सिमरीका किसान फुलराम चौधरीले आफूले १९ कट्ठामा लगाएको गहुँ आगलागीबाट नष्ट भएको बताए । ‘अधिया लिएर गहुँ लगाएको थिएँ, वर्षभरि खाने गुजाराको माध्यम त्यही थियो,’ उनले भने, ‘वर्षभरिको मिहिनेत र लगानी नष्ट भयो ।’ लगाएको बाली नष्ट भएपछि खेतीमा निर्भर १० जनाको परिवारको गुजारा कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको उनले बताए । ‘आधा काटेर खेतमै छोडेको थिएँ, आधा गहुँ काट्नै बाँकी थियो,’ सिमरीकै अर्का किसान रामचन्द्र कठरियाले भने, ‘आगोले सबै नष्ट गरिदियो ।’ आफूले आठ कट्ठामा लगाएको गहुँ जलेर नष्ट भएको उनले बताए । बीउ, मल, खनजोतमा भएको लगानी तथा परिश्रम खेर गएको उनले बताए । स्थानीयका अनुसार सडक परेकाले थप आगलागी फैलन पाएन । ‘सीमरीमा सडक भएकाले आगलागी उता जान पाएन,’ जोशीपुर– ६, का वडासदस्य खडकबहादुर डगौराले भने, ‘सडक नभएको भए गाउँ नै सखाप हुने थियो ।’ 

एउटा विद्युत् सबस्टेसन जल्यो, अर्को उच्च जोखिममा

गुल्मीका विभिन्न स्थानमा लागेको डढेलोबाट ठूलो क्षति भएको छ । शुक्रबार र शनिबार इस्मा गाउँपालिकाको १ र ४ वडामा लागेको आगोले २७ घरगोठ र गुल्मी दरबार गाउँपालिकामा एउटा घर जलेको छ । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेर भौतिक संरचना र पशुचौपायाको क्षति गरेको छ ।

इस्मा– १ की वसुन्धार कुँवरको घर बंगालो पूर्ण रूपमा जलेर नष्ट हुँदा घरमा भएको सबै सम्पत्ति र गोठमा रहेका आठ बोका, पाँच बाख्रा र दुई भैँसी जलेर मरेका छन् । सोही ठाउँका चन्द्रबहादुर कँुवरको घर, कुटानी पिसानी गर्ने मिल, किराना पसल र बंगालो जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकरप्रसाद पोख्रेलले जानकारी दिए । यस्तै, रमेश थापाको घरगोठ, होमबहादुर मल्लको बंगालो, लीलाबहादुर थापाको घरकटेरो, टीकाबहादुर रायामाझीको घरगोठ, गोलबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र कुटानी–पिसानी मिल, इन्द्रबहादुर थापाको किराना पसल र तीनवटा गोठ, रामबहादुर थापाको घरगोठ जलेको छ । 

स्थानीय सिदुंखाको रानी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि हस्तिचौरका १५ जनाको घरगोठ र चार दर्जन पशुचौपाय जलेको उनले बताए । इस्मा गाउँपालिका– ४ को हुल र कोटकोटेरी गरेर शनिबार दुई स्थानमा डढेलो लागेको छ । हुलमा लागेको डढेलो बस्ती पसेपछि टोकली बस्नेतको बंगालो, सूर्य र गुन्जबहादुर बस्नेतको गोठ जलेर नष्ट भएका छन् । 

इस्मा गाउँपालिका– ४ कै कोटकोटेरीमा जंगलको डढेलो बस्ती पसेपछि स्थानीय ऋषिराम खनाल, बलबहादुर दर्जी, सरिता अधिकारी, ज्ञानु अधिकारी, विमला अधिकारी, सुरेन्द्रलाल विक, रामबहादुर अधिकारी, गोरखनाथ विकको घर र कगेश्वर विकको बंगालो जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गाउँमा पाइपहरू जलेपछि खानेपानीको प्यासमा डढेलो पीडित तड्पिएका छन् । नगद, खाद्यान्न, लत्ताकपडासहित जलेकाले पीडित परिवारको बिचल्ली भएको छ । हावासहित तीव्र रूपमा आगो बस्ती पसेकाले तत्काल उद्धारको काम भइरहेको इस्मा गाउँपालिका– ४ का वडाध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिए । उनले डढेलो नियन्त्रणको प्रयास भए पनि तत्काल सम्भावना कम भएको बताए । 

शुक्रबार र शनिबार इस्मा, रेसुंगा, गुल्मीदरबार र रुरुक्षेत्रलगायतका स्थानीय तहका विभिन्न स्थानमा डढेलो बस्तीमा फैलिएको छ । मदाने र मालिकामा पर्ने गुराँसे वनमा दुई दिनदेखि डढेलो लागिरहेको छ । जंगलको डढेलो बस्ती पस्दा मदाने गाउँपालिकाका केही घरमा पनि क्षति पुगेको छ ।

इस्मा गाउँपालिका– १ मा लागेको डढेलोका कारण ट्याक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका– ७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरूको हातखुट्टा र अनुहार जलेको प्रहरीले जनाएको छ । घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । डढेलोका कारण लु४त ६५३५ नम्बरको ट्रयाक्टर जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलनको कार्य भइरहेकाले आइतबारसम्म यकिन तथ्यांक आउने प्रहरीले जनाएको छ ।

शुक्रबार नजिकैको वनबाट लागेको डढेलो पसेपछि गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ । सबस्टेशन पूर्णरूपमा क्षति हुनबाट रेसुंगा नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट करिब दुई करोडबराबरको क्षति भएको छ । नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार महत्वपूर्ण कन्डक्टर, केवललगायत सामग्री जलेकाले प्रारम्भिक रूपमा करिब दुई करोडको क्षति भएको अनुमान गरिएको छ । रेसुंगा नगरपालिका– ७ को पाताल सामुदायिक वनमा डढेलो लागेपछि उनायचौरको १३२ केभिए राष्ट्रिय विद्युत् प्रसारण लाइनको सबस्टेसन आगलागीको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले जानकारी दिए । उनायचौरमा करिब ४१ करोडको लागतमा सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा उद्धार र राहतको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । अहिले तत्काल नजलेका घरमा पीडितको खानेबस्नेसहितको व्यवस्थापन गरिएकाले आइतबार थप राहतको काम गरिने उनको भनाइ छ । उनले धेरै स्थानमा डढेलो भएकाले मानवीय क्षति हुन नदिने गरेर सुरक्षाकर्मी र स्थानीयको सक्रियता बढाएको बताए । डढेलोकै कारण करिब तीन दर्जन परिवार खुला आकाशमा बस्न बाध्य छन् । 
 

ad
ad