सांसदहरूले दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनीहरूले चितवनलगायतका स्थानमा भुक्तानी नपाएर किसानले सडकमा दुध पोख्न बाध्य भएको भन्दै समस्या समाधान गर्न ध्यानाकर्षण गराएका हुन् ।
रास्वपा सभापति रवि लामिछानेले किसानको समस्यालाई नजरअन्दाज नगर्न चेतावनी दिए । ‘मेरो निर्वाचन क्षेत्र (चितवन) र देशैभरका दुग्ध किसान र महकिसान मारमा परेका छन्, दुध पोखेर बसिरहेका छन् । अर्काेतिर पाउडरको दुध र नक्कली मह, विदेशबाट आयातित महले स्थान पाएको छ । किसान आन्दोलनलाई नजरअन्दान ग¥यो भने किसानले सरकार ढाल्नेसम्मको क्षमता राख्छन्, होसियार हुनुहोला,’ उनले भने ।
एमाले सांसद राजेन्द्रकुमार राईले किसानको बक्यौता तत्काल भुक्तानी दिन सरकारको ध्यानाकर्षण गराए । ‘धनकुटामा ८५ प्रतिशत किसानको समस्या अहिले जटिल बनेको छ । गाईभैँसी पाल्ने र जीविकोपार्जन गर्ने किसानले भदौ महिनादेखि पैसा पाएका छैनन् । उनीहरूले १० करोड पैसा पाउनुपर्नेछ,’ उनले भने, ‘अनि सरकार चुपचाप छ । मैले धेरैपटक कृषिमन्त्रीलाई भेटेर निवेदन गरेँ । तर, उहाँ चुपचाप हुनुहुन्छ ।’
माओवादी सांसद माधव सापकोटाले दुग्ध किसानको समस्या तत्काल हल गर्न माग गरे । ‘नेपालमा सहरको पैसा गाउँ–गाउँमा लैजाने र आत्मनिर्भर हुँदै गरेको दुग्ध व्यवसाय अहिले गम्भीर संकटमा छ । गाईभैँसी पालेर दुध बेचेर गर्जाे टार्ने किसान गम्भीर मारमा छन्,’ उनले भने, ‘तर, डिडिसीले भदौदेखिको रकम भुक्तानी गरेको छैन । सडकमा हाल दुध मात्रै पोखिएको छ, सर्वसाधारणको आक्रोश पोखियो भने सरकारले थेग्न सक्नेछैन । त्यसैले वेलैमा ध्यान आकर्षित होस् ।’