१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १६:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याका धावकको वर्चस्व

खुल्लाको उपाधि केन्याका वाहोम र महिला हाफ म्याराथनको उपाधि नेपालकी श्रेष्ठलाई

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:oo:oo

केन्याका जुलिअस मुरौकी बाहोमले १८औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०८० अन्तर्गत खुला म्याराथनको उपाधि जितेका छन्। यसैगरी, महिलातर्फको हाफ म्याराथनको उपाधि नेपालकी सन्तोषी श्रेष्ठले हात पारिन्।

पोखरेली पूर्वखेलाडीहरूको साझा संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना तथा लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरी उद्योगको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा शनिबार पोखरामा सम्पन्न म्याराथनमा सहभागी अन्य १४ देशका १०७ धावकहरूलाई पछि पार्दै बाहोमले उपाधि जितेका हुन्। उनले निर्धारित ४२.१९५ किमि दूरी दुई घण्टा १९ मिनेट ३६ सेकेन्डमा पार गरे।

बाहोम १७औँ संस्करणका उपविजेता हुन्। गत वर्ष उनले दुई घण्टा २० मिनेट २७ सेकेन्डमा सो दूरी पार गरेका थिए।

महिलातर्फ हाफ म्याराथनको निर्धारित २१ किलोमिटरको दूरी १ घण्टा १८ मिनेट ३७ सेकेन्डमा पार गर्दै सन्तोषी श्रेष्ठले सहभागी अन्य ३० जनालाई पछि पार्दै उपाधि हात पारिन्।

खुला म्याराथनतर्फ केन्याका धावकहरूले वर्चश्व कायम गरेका छन्। खुलातर्फ केन्याका आइस्याक किहारा कामिरीले निर्धारित दूरी दुई घण्टा २० मिनेट पाँच सेकेन्डमा पार गर्दै दोस्रो, केन्याकै इड्विन किप्लागट मारिटिमले दुई घण्टा २० मिनेट ४५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो, नेपालका किरण बोगटीले दुई घण्टा २४ मिनेट दुई सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान हात पारे।

म्याराथनअन्तर्गत गण्डकी प्रदेशतर्फ सफल लामाले तीन घण्टा १७ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै पहिलो, देवप्रसाद जलारी तीन घण्टा ३० मिनेट १४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र मनोज अधिकारी तीन घण्टा ३३ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए।

महिलातर्फको हाफ म्याराथनको निर्धारित दूरी एक घण्टा १९ मिनेटमा पार गर्दै केन्याकी अबिजल जेरोप दोस्रो, एक घण्टा १९ मिनेट २० सेकेन्डमा दूरी पार गर्दै राममाया बुढा तेस्रो, एक घण्टा २१ मिनेट पाँच सेकेन्डमा दूरी पार गर्दै फुलमती रानाले सान्त्वना स्थान हात पारिन्।

१० किलोमिटर दौडअन्तर्गत पुरुषतर्फ ३१ मिनेट १५ सेकेन्डमा दूरी पार गरी टंकबहादुर कार्की प्रथम, ३२ मिनेट ३७ सेकेन्डमा दूरी पूरा गर्दै सुवास कार्की दोसो र सन्जीव नेपालीले ३३ मिनेट २९ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए। महिलातर्फ आशा रावतले ४२ मिनेट १६ सेकेन्डमा दूरी पार गर्दै प्रथम, ४२ मिनेट २४ सेकेन्डमा दूरी पार गरेकी सीमा चौधरी दोस्रो र ४४ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै नम्रता गुरुङ तेसो भइन्।

पाँच किलोमिटरअन्तर्गत छात्रतर्फ तेन्जन रोक्का मगर प्रथम, प्रकाश थिङ दोस्रो र ईश्वर ढकाल तेस्रो हुँदा छात्रातर्फ नारायणी भण्डारी प्रथम, गीता श्रेष्ठ दोस्रो र एन्जिला जिटीले तेस्रो स्थान हात पारे। पाँच किलोमिटर भेट्रानअन्तर्गत पुरुषतर्फ कपिल श्रेष्ठ प्रथम, आइलाल शाही दोस्रो र निमबहादुर थापा तेस्रो भए। महिलातर्फ चित्रा गुरुङ प्रथम, विष्णुकुमारी गुरुङ दोस्रो र चेत माया पंगेनी तेस्रो भए।

विजेताहरूमध्ये खुला म्याराथनमा प्रथम हुनेले पाँच, दोस्रोले तीन, तेस्रोले दुई लाख र सान्त्वनाले ३० हजारसँगै गण्डकी प्रदेशतर्फको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगद पुरस्कार पाए।

महिलातर्फको हाफ म्याराथनमा प्रथम हुनेले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार र सान्त्वना हुनेले १५ हजार हात पारे। १० किमि महिला-पुरुष दौडका विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार प्राप्त गर्दा पाँच किमि छात्र/छात्रा र भेट्रान महिला-पुरुषतर्फका प्रथम, द्वितीय र तृतीयले १५ हजार, १० हजार र सात हजार नगद पुरस्कार पाए।

खुला म्याराथनमा नेपालका ५८ र अन्य १४ देशका ५० जना गरी कुल एक सय आठ धावकहरूले प्रतिस्पर्धा गरेकाे आयोजक मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए। पराजुलीका अनुसार प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, भारत, जापान, हङकङ, फ्रान्स, केन्या, पोल्यान्ड, जर्मनी, साउदी अरेबिया, ताइवान, युके र अमेरिकाका धावकहरूले प्रतिस्पर्धा गरेका थिए। महिलातर्फको हाफ म्याराथनमा १७ विदेशीसँगै कुल ३१ जनाले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका सबै विधामा गरी ३१ विदेशी धावकहरू सहभागी भएकाे पराजुलीले जानकारी दिए।

ad
ad