![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/maoist2024-02-14-07-04-21.gif)
माओवादीले पार्टीभित्रका सबै तहमा प्रत्यक्ष निर्वाचनको प्रस्ताव गरेको छ । मंगलबारबाट काठमाडौंमा सुरु भएको विधान अधिवेशन अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका सबै तहमा प्रत्यक्ष निर्वाचनको प्रस्ताव गरेका हुन् ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत नै स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्म चयन गर्ने प्रस्ताव गरे । यद्यपि, हलले गर्ने निर्णय नै अन्तिम हुने उनको भनाइ थियो । प्रचण्डको भनाइ उद्धृत गर्दै एक प्रतिनिधिले भने, ‘सबै तहको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गर्नुपर्छ भन्ने अनुभवले देखायो । जनवादको अभ्यास पनि हुनुपर्छ । समावेशी प्रतिनिधित्व पनि सुनिश्चित हुनुपर्छ । समावेशीका लागि केही निश्चित कोटा निर्धारण गरेर जान सकिन्छ ।’ जनवादी केन्द्रीयता कम्युनिस्ट पार्टीको संगठतात्मक सिद्धान्त भएको भन्दै प्रचण्डले स्पष्ट व्याख्या गरेर अगाडि बढ्न जरुरी रहेको बताए ।
अधिवेशनहरूले कमिटी चुन्ने र कमिटीले पदाधिकारी चुन्ने प्रस्ताव गरिएको छ । ‘प्रत्यक्ष निर्वाचनमा जाने भनिएको छ । ५१ प्रतिशत खुला प्रतिस्पर्धा र ४९ प्रतिशत समावेशिता प्रस्ताव गरिएको छ । एकताबाट आउनेलाई केही प्रतिशत राख्ने प्रस्ताव गरिएको छ ।’ एक पदाधिकारीले भने, ‘विधान मस्यौदामा प्रतिनिधित्वको सुनिश्चितता र प्रतिस्पर्धाको राजनीतिलाई समायोजन गरिएको छ ।’
केन्द्रमा १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको छ । हाल वैकल्पिक केन्द्रीय सदस्यसहित ६ सयभन्दा बढीको केन्द्रीय कमिटी छ । संघीयतालाई प्रभावित नगर्ने गरी जिल्लालाई कार्यकारी बनाउने प्रस्ताव गरिएको छ । विधान मस्यौदामा जनवर्गीय संगठनलाई स्वायत्तता दिने प्रस्ताव गरिएको छ । अधिवेशन उद्घाटन सम्बोधनको क्रममा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टी र सरकार दुवै मोर्चाबाट समाजवादको नयाँ अभियान सुरु गर्ने जमर्को गरेको बताए । ‘सरकारको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान, समाजवादको भ्रुण रोप्ने प्रक्रियाको सुरुवात हो । यसलाई क्रान्तिकारी सहयोद्धाहरूले गहिरो गरी बुझ्न जरुरी छ । विशेष रूपान्तरण अभियान भनेर पार्टी रूपान्तरण अभियानमा जे–जस्ता उपलब्धि हासिल भए र विधान अधिवेशनबाट जे–जस्ता संकल्प गर्दै छौँ । सामूहिक छलफलबाट आफैँलाई बाँध्ने विधि–विधान बनाउँदै छौँ । यो पनि समाजवादतिर यात्रा गर्नका लागि हाम्रा हतियारमा साध लगाउने प्रक्रिया हो ।’
सबै क्रान्तिकारीलाई एकजुट हुन अपिल
प्रचण्डले सबै क्रान्तिकारी एकजुट भएर प्रतिक्रियावादीविरुद्ध जागी लाग्नुपर्ने स्थिति आएको बताए । ‘एकातिर समाजवादी मोर्चा बनाएका छौँ । अर्कोतिर समान विचार भएका साथीहरू एकताबद्ध हुने कोसिस पनि गरिरहेका छौँ । सबै क्रान्तिकारी एकै ठाउँमा केन्द्रित हुने यो राम्रो अवसर हो । प्रतिक्रियावादीले टाउको उठाउन खोजेकोलाई त्यसविरुद्ध जाइलाग्ने राम्रो अवसर पनि हो,’ उनले भने । विधान अधिवेशनले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित र सुदृढ तुल्याउँदै समाजवादी क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणका पक्षमा गुणात्मक योगदान गर्ने विश्वास प्रचण्डको छ ।
अहिले चार कार्यभार छन् : श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिले मुख्यतः चारवटा कार्यभार रहेको उनले बताए । ‘राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षा गर्नु र राष्ट्रिय एकता कायम गर्नु पहिलो कार्यभार हो । उपलब्धिको रक्षा गर्नु र अझ बलियो बनाउनु दोस्रो हो । तेस्रो केन्द्रीय कार्यभार राजनीतिक परिवर्तनलाई सामाजिक, आर्थिक क्षेत्रमा विस्तार गरेर रूपान्तरण गर्नु हो । विकास र समृद्धिको प्रक्रियालाई तीव्रता प्रदान गरेर फड्कोको विन्दुमा पु¥याउनु हो । चौथो कार्यभार शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्नु हो ।’
विधानमाथि छलफल गर्न २० समूह
विधान मस्यौदामाथि छलफल गर्न २० वटा समूह बनाइएको छ । २० वटै समूहले सहजकर्ता तोकेर छलफल अघि बढाएका छन् । समूह एकमा अञ्जना विशंखे, समूह दुईमा अमृता थापा, समूह तीनमा ओनसरी घर्ती, समूह चारमा कमला रोका, समूह पाँचमा कालीबहादुर मल्ल, समूह ६ मा कुलप्रसाद केसी, समूह सातमा खगराज भट्ट, समूह आठमा गणेशमान पुन, समूह नौमा जयपुरी घर्ती सहजकर्ता छन् । समूह १० मा जोखबहादुर महरा, समूह ११ मा नारायणप्रसाद दाहाल, समूह १२ मा परशुराम तामाङ, समूह १३ मा पूर्णकुमारी सुवेदी, समूह १४ मा प्रह्लाद बुढाथोकी, समूह १५ मा महेश्वरराजजंग गहतराज, समूह १६ मा विश्वनाथ साह, समूह १७ मा यशोदा सुवेदी, समूह १८ मा शशी श्रेष्ठ, समूह १९ मा सत्य पहाडी र समूह २० मा हकिकुल्ला खाँले सहजकर्ताको जिम्मेवारी पाएका छन् । ५० देखि ५५ जना रहने गरी समूह विभाजन गरिएको माओवादीले जनाएको छ ।