मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपक भट्ट रामेछाप
२०८० जेठ २६ शुक्रबार १२:४०:००
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

एक गाग्री पानीका लागि रातभर जाग्राम !

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०८० जेठ २६ शुक्रबार १२:४०:००

रामेछापको मन्थली नगरपालिका– १२ गेलु सिक्रालका नागरिक एक गाग्री पानीका लागि रातभरको निद्रा माया मारेर पँधेरामा पालो कुरेर बस्ने गरेका छन्।

घर वरपर भएका खानेपानीका सबै मुहान एकपछि अर्को गर्दै सुकेपछि गेलु सिक्रालका नागरिकलाई यतिखेर कसरी खानेपानीको व्यवस्थापन गर्ने भन्ने पिरलो छ। गाउँमा भएका पानीको मुहान सुकेपछि अहिले सिमलबोटे पँधेरो मात्रै विकल्पका रूपमा रहेको छ। त्यहाँ पनि पर्याप्त पानी छैन। एक गाग्रो पानी भरिन घन्टाैँ लाग्छ। त्यही पनि त्यहाँ जो अघि पुग्छ उसैले पालो पाउने भएपछि त्यहाँका उपभोक्ता एक गाग्रो पानीका लागि रातभरि पँधेरोमा नै रात बिताउनुपर्ने बाध्यता छ।

पानीकै समस्याका कारण बालबालिका नियमित विद्यालयसमेत जान पाएका छैनन् । पानीका लागि पँधेरोमा पालो कुर्न जानुपर्छ। समयमा पालो आउँदैन जसका कारण धेरै दिन विद्यालयको पढाइ नै छाड्नुपरेको स्थानीय मञ्जु अछामी बताउँछिन्। मञ्जु मात्र होइन, यस गाउँमा बसोवास गर्ने ४० घरधुरीकै समस्या हो यो।

जलवायु परिवर्तनको असरका कारण यसअघि भएका पानीका मुहान सुक्दै गएपछि अहिले गेलुवासीलाई खानेपानीकै चिन्ता छ। मान्छेका लागि जसरी–तसरी पानी पुर्‍याउँदै आएका स्थानीयलाई घरमा पालेका पशुचौपायालाई कसरी पानी पुर्‍याउने भन्ने अर्को चिन्ता पनि छ। ‘गाउँमा पालिएका चौपायाले पेटभरि पानीसमेत खान पाएका छैनन्। मान्छेलाई त पानीको समस्या छ, घरमा पालेको वस्तुलाई कसरी पानी खुवाउनु ?’ स्थानीय बुद्धिबहादुर अछामीले भने।

विगतका वर्षहरूमा सिमलबोटे पँधेरोमा पानी प्रशस्त उम्रन्थ्यो । यस वर्ष बढी मात्रामा खडेरी परेका कारण उक्त कुवाको पानी पनि सुकेपछि स्थानीयवासी मारमा परेका हुन् । ‘गाउँमा भएको एउटा पानीको मुहान पनि सुक्यो । नजिकै पानीको अर्को मुहान छैन,’ नगरपालिका– १२ गेलुका वडाध्यक्ष खिलेन्द्रबहादुर खत्रीले भने । अब तामाकोसी नदीको पानी लिफ्ट गरेर ल्याउनुको विकल्प नरहेको उनी बताउँछन्। तर, यसका लागि टेन्डर आह्वान भएर काम सुरु गरे पनि निर्माण व्यवसायीले बीचमै अलपत्र पारेर काम छाडेपछि योजना नै अलपत्र परेको छ।

पछिल्लो केही वर्षदेखि गाउँमा भएका खानेपानीका मुहान सुक्दै गएपछि स्थानीयले नदी र खोलाको पानी विद्युतीय माध्यममार्फत तानेर प्रयोग गर्दै आएका छन्। अहिले तामाकोसी, सुनकोसी, लिखु र अन्य ठूला खोलाको आसपासमा भूमिगत इनार निर्माण गरी विद्युतीय माध्यमबाट डाँडाको रिजर्भ ट्यांकीमा जम्मा गरी वितरण गरिँदै आएको छ।