मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० बैशाख १८ सोमबार १४:१५:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

धरानमा खानेपानी अभाव, एक वर्षदेखि नेतृत्वविहीन खानेपानी बोर्ड

Read Time : > 2 मिनेट
२०८० बैशाख १८ सोमबार १४:१५:००

धरान उपमहानगरपालिकाका विभिन्न वडाहरूमा खानेपानीको चरम अभाव भएको छ। हप्तौँदेखि धारामा खानेपानी नआउँदा स्थानीय समस्यामा परेका छन्।

धरान– १३ का हरि कार्कीका अनुसार चैत अन्तिम सातादेखि नै खानेपानी अभाव सुरु भएको हो। गत वर्ष यही समयमा खानेपानी अभाव नभए पनि यस वर्ष चरम अभाव भएपछि खानेपानी बोर्डसँग छलफल गरेको उनले बताए।

सोही वडाकी जानकी सामुदायिक टोल सुधार समितिका संस्थापक सदस्य दिलीप श्रेष्ठले खानपानी नभएर स्कुल जाने बच्चालाई समेत समस्या भएको गुनासो गरे। ‘मेयर हर्क साम्पाङले पानीले धरान नै बगाइदिन्छु भन्नुहुन्थ्यो। तर, पानीको समस्या उस्तै छ,’ उनले भने। आफूहरू रित्तो गाग्री लिएर खानेपानी व्यवस्थापन बोर्डको कार्यालय घेराउ गर्न जाने तयारीमा रहेको उनले प्रस्ट पारे।

धरानको १५, १७, ९, १०, १६ लगायत अधिकांश वडामा खानेपानीको अभाव भएको स्थानीयले बताएका छन्। धरानमा केही समयअघि वडाध्यक्षहरूले पत्रकारसँगको भेटघाटमा प्रायः वडामा पानीको समस्या रहेको बताएका थिए। मेयर साम्पाङ बोर्ड व्यवस्थापनामा गम्भीर नहुँदा समस्या भएको उनीहरूको भनाइ थियो।

धरान– १३ स्थित उदयमार्गका पदम प्रधानले घरमा चैतदेखि नै पर्याप्त मात्रामा पानी नआएको बताए। धरानको नेतृत्वप्रति उनले आक्रोशसमेत पोखे। हप्तौँदेखि धारामा पानी नआउँदा धरान– ७ शान्तिपथका स्थानीय पानी किनेर प्रयोग गर्न बाध्य छन्।

धरानमा सन् २०१७ मा एडिबीको अनुदान सहयोगमा खानेपानी परियोजना सञ्चालन गरिएको थियो। तर, उक्त परियोजनाले धरानको पानीको आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा धरानमा बर्सेनि खानेपानीको समस्या हुँदै आएको छ।

धरानका पाखामा पानीका पाइप तान्न व्यस्त मेयर
वर्षायाममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले निसानेलगायतका साना खोलाहरूबाट श्रमदानमा पानी संकलन गरेका थिए। तर, हिउँद लागेसँगै ती मुहान सुकेका छन्। धरानमा अब पानी अभाव नहुने भन्दै उनले धरान १३ फुस्रेमा ठूलो पाइपबाट पानी ल्याएको भिडियो युट्युबुमा राख्दै प्रचारसमेत गरेका थिए। तर, उक्त पानी पनि सुकेको छ। 

यति वेला मेयर राई पानीकै लागि भनेर धरानको २० नं. वडामा पर्ने कोकाहा खोलाको पानी ल्याउन श्रमदान अभियानमा छन्। तर, धराने जनता भने काकाकुल बनेको अवस्था छ। मेयर राईले धरानको खानेपानी व्यवस्थापनमा आफू निरन्तर लागिरहेको बताउँदै कोसीको पानी ल्याएर धरानको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने बताउँदै आएका छन्। विरोधीहरूले पानीको कृत्रिम अभाव गराएको भन्दै उनले चैत–वैशाखमा अभाव हुनु सामान्य भएको फेसबुकमा स्टाटस लेख्दै आएका छन्। 

एक वर्षदेखि खानेपानी बोर्ड नेतृत्वविहीन
०७७ सालमा खानेपानी संस्थानलाई गाभेर धरान उपमहानगरपालिकाको स्वामित्वमा रहने गरी खानेपानी व्यवस्थापन बोर्ड गठन गरिएको थियो। ०७९ वैशाखसम्म तत्कालीन मेयर तिलक राईको अध्यक्षतामा बोर्ड गठन गरिएको थियो। बोर्डमा राजनीतिक दलका नेताहरुरूसहित ६ सदस्यीय समिति रहेको थियो । दुईजना सदस्यको कार्याविधि सकिएको छ।

०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनपछि मेयरमा हर्कराज राई निर्वाचित भएपछि उनले बोर्डको बैठक एकपटक पनि राखेका छैनन्। हाल बोर्डका सदस्यसचिव राजु पोखरेल, पदेन सदस्य विजय श्रेष्ठ तथा राजनीतिक दलहरूको तर्फबाट श्याम पोखरेल र मनोज भट्टराई रहेका छन्। खानेपानी विज्ञको रूपमा रहेका देवराज श्रेष्ठको चारवर्षे पदावधि सकिएको छ। यस्तै बोर्डमा प्रदेश सरकारको खानेपानी डिभिजनका उपसचिव पनि पदेन सदस्य हुने व्यवस्था छ।

मेयरले चासो दिएर बोर्ड बैठक बस्नुपर्ने भए पनि कुनै पहलकदमी नहुँदा बोर्ड नेतृत्वविहीन हुन पुगेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका पदेन सदस्य विजय श्रेष्ठले बताए। बोर्ड नेतृत्वविहीन अवस्थामा हुँदा बोर्डबाट गरिएको करोडौँको खर्चसमेत बेरुजु आएको बताइएको छ।

बोर्ड सदस्य मनोज (सूर्यप्रसाद) भट्टराई बोर्डको हिसाबकिताब कर्मचारीसँग माग गर्दा मेयरले लगेको जवाफ पाएको बताउँछन्। बोर्ड सदस्यले नै हिसाबकिताब र खातापाता माग्दा नपाएको बोर्ड सदस्यहरूको गुनासो छ। यस विषयमा कुरा गर्न मेयर राईलाई सम्पर्क गर्दा उनले फोन उठाएनन्।