१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राज्यबाट पाएको सम्पूर्ण सेवा सुविधा सामाजिक कार्यमा खर्च

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५९:oo

अघिल्लो कार्यकाल र हालको एक वर्षकाे सेवा सुविधाबापत ४९ लाख ६७ हजार प्राप्त गरेकाेमा त्यसमा रकम थपेर सामाजिक कार्यमा खर्च गरे ६९ लाख ४१ हजार

जनप्रतिनिधिले राज्यकोषको रकम दुरुपयोग गरेको विभिन्न घटना बाहिर आइरहेको समयमा गण्डकी प्रदेशका एकजना प्रदेश सभा सदस्यले अघिल्लो र हालको कार्यकालमा राज्यबाट पाएको सम्पूर्ण सेवा सुविधाहरू सामाजिक काममा खर्च गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा विन्दुकुमार थापाले सामाजिक काममा गरेको खर्च विवरण सार्वजनिक गरेका हुन् । 

नेपाली कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ निर्वाचित गण्डकी प्रदेशका पूर्वकानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्रीसमेत रहेका थापाले प्रदेश सभा सदस्यमा अघिल्लोपटक र हाल निर्वाचित भएदेखि पाएको सम्पूर्ण सेवा–सुविधा विभिन्न सामाजिक काममा खर्च गरेका छन् ।

अघिल्लो ०७४ र ०७९ मा भएको दुवै निर्वाचनमा थापा कास्की २ (ख)बाट निर्वाचित भएका थिए । अघिल्लो कार्यकालमा उनी मन्त्रीसमेत भएका थिए । मन्त्री भएको बखत प्रदेश सरकारबाट प्राप्त निवासको सुविधासमेत नलिई उनी आफ्नै निजी निवासमा बसेका थिए ।

व्यवसायी एवं पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका थापाले ०७९ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित भए पनि २५ पुस ०७९ देखि हालसम्म प्रदेश सभाबाट मासिक पारिश्रमिक, बैठक भत्तालगायतका शीर्षकबाट आठ लाख ९६ हजार प्राप्त गरेकोमा उक्त रकममा व्यक्तिगत रूपमा दुई लाख १६ हजार थप गरी ११ लाख १२ हजार रुपैयाँ विभिन्न सामाजिक काममा खर्च गरेको जानकारी  दिए ।

यसअघि अघिल्लो कार्यकालमा थापा माघ ०७४ देखि ७ साउन ०७८ सम्म प्रदेश सभा सदस्यबापत र ८ साउन ०७८ देखि ०७९ पुस तेस्रो सातासम्म मन्त्रीबापत बैठकभत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवासुविधा गरी राज्यबाट ४० लाख ७१ हजार २४३ रुपैयाँमा प्राप्त गरेका थिए । आफूले करिब पाँच वर्षको अवधिमा पाएको रकममा व्यक्तिगत रूपमा १७ लाख ७५ हजार आठ सय १७ रुपैयाँ थप गरी ५८ लाख २९ हजार ६६ रुपैयाँ विभिन्न सामाजिक काममा खर्च गरेकाे उनकाे भनाइ छ।

थापाले क्यान्सर, मुटुरोग, पानी ट्यांकीसँगै खानेपानी आयोजना, सडक, सडक बत्ती, तालिम, खेलकुद, विभिन्न संघसंस्था र समुदायका सामाजिक भवन निर्माण, विभिन्न संघसंस्थाको कार्यालका लागि आवश्यक फर्निचर र अन्य सामग्री, आर्थिक सहयोग, आर्थिक अवस्था कम्जोर भएका बिरामीको उपचारमा सहयोग, सांस्कृतिक नृत्य, बाटो निर्माण, विद्यालयको बस खरिद, भूकम्प राहत, तारजाली खरिदलगायतका काममा रकम खर्च गरेको जानकारी दिए ।

कार्यक्रममा थापाले आफूले अघिल्लो कार्यकालमा उम्मेदवारी दिने क्रममा पाएको सेवा सुविधा जनसेवामै खर्च गर्ने घोषणा गरेको र हाल पनि त्यसलाई निरन्तरता दिएको बताए ।
 

ad
ad