१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इस्मा गाउँपालिकाको गाउँ सभा एमालेद्वारा बहिष्कार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:३९:oo

गुल्मीको इस्मा गाउँपालिकाको गाउँ सभा एमालेका सभा सदस्यहरूले बहिष्कार गरेका छन् । सभा सञ्चालन भएपछि सभा सदस्यहरूले विभिन्न माग राखेर सभामा नाराबाजी गर्दै बहिष्कार गरेका हुन् ।

गाउँपालिकाले दुई वर्षसम्म सार्वजनिक सुनुवाइ नगरेको, बेरुजु बढाएको, जीवराज आश्रित बहुप्राविधिक शिक्षालयलाई गाउँपालिकाले जग्गा उपलब्ध नगराएको, गाउँपालिकाको केन्द्रको विषयमा अदालतलाई दोष लगाएर उम्कने गरेकाले सभामा विरोध र नाराबाजी गरिएको सभा सदस्य तथा इस्मा गाउँपालिका– ३ का वडाध्यक्ष ज्योतिराज कुँवरले बताए ।

त्यस्तै, घुम्ती स्वास्थ्य शिविर गर्दा १० लाखको औषधि खरिद गरेर अनियमितता गरेको गुनासो आउँदा पनि पालिकाले समिति गठन गरेर छानबिन नगरेको, अध्यक्ष र उपाध्यक्षले एकमुष्ट बजेट राखेर वडालाई कमजोर बनाइएको भन्दै आफूहरूले सभामा नाराबाजी गरेर बहिष्कार गरेको कुँवरले जानकारी दिए ।

उनीहरूले पार्टीले बुझाएका ज्ञापनपत्रका विषय सम्बाेधनको माग पनि गरेका थिए । ‘आफूहरू र पार्टीले ज्ञापनपत्रमा पेस गरेका पालिकाका महत्वपूर्ण विषयमा सभा कहिल्यै गम्भीर बनेन,’ कुँवरले भने, ‘जायज माग सम्बाेधन नभएसम्म सभामा विरोध गर्छौँ ।’ इस्मा गाउँपालिकाको गाउँ सभामा एमालेका ११ जना सभा सदस्य रहेका छन् । 

पार्टीको नीति भन्दै सभा बहिष्कार : खड्का
बिहीबार इस्मा गाउँपालिकाको गाउँ सभामा विषयगत समिति र न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर, एमालेद्वारा निर्वाचित सभा सदस्यले सभा बहिष्कार गरे । गाउँपालिका प्रमुख भगतसिंह खड्काले सभामा उठेका सबै विषयमा वडाध्यक्षहरूसँग बसेर सल्लाह गरे पनि पार्टीको बहिष्कार गर्ने निर्देशन भनेर सभा सदस्यहरू सभाबाट बाहिरिएको बताए । गाउँपालिकाको केन्द्रको विषय सर्वोच्चमा भएकाले सभामा बोल्न सान्दर्भिक नहुने र स्थानीय सरकार सञ्चालन ऐनअनुसार जीवराज आश्रित बहुप्राविधिक शिक्षालयलाई जग्गा भोगचलन गर्न दिन नमिल्ने भएकाले संघमा पत्राचार गरेको बताउँदै पालिकामा सर्वपक्षीय छलफल र निर्णय गरिने खड्काले बताए ।

उनले औषधिमा अनियमितताको विषयमा पनि शाखा र वडाध्यक्षसँग छलफल गरिएको र सार्वजनिक सुनुवाइको पनि मिति तय भएको बताए । इस्मा गाउँपालिकाको केन्द्रको विषय एमाले, कांग्रेस र माओवादीका नेताहरूबीचको भूगोलको लडाइँमा फसेको छ । अघिल्लो नेतृत्वकै सभाले केन्द्र टुंगाे लगाएर ८० लाखभन्दा बढीका दुई भवन निर्माण गरे पनि प्रयोगमा नहाउँदा भत्किन थालेका छन् । 

निरन्तर विरोध गर्छौँ : एमाले इस्मा
नेकपा एमाले इस्मा गाउँ कमिटीले गत १५ माघमा इस्मा गाउँपालिकामा विभिन्न १२बुँदे मागसहित ज्ञापनपत्र गाउँपालिका प्रमुख भगतसिंह खड्कालाई पेस गरेको थियो । अहिले सभामा विरोध र बहिष्कारको नीति अगाडि बढाएको छ । नेकपा एमाले इस्मा गाउँ कमिटी अध्यक्ष राजेन्द्रविक्रम कुँवरले आफूहरूले ज्ञापनपत्र र सभामा उठाएका विषयमा सम्बाेधन नभए सबै सभाहरूमा विरोध गरिने बताए । 

उनले नीतिमा सुशासनलाई प्राथमिकता दिएको इस्मा गाउँपालिकाले आजसम्म एउटा पनि सार्वजनिक सुनुवाइ नगर्नु निकै लज्जाको विषय भएकाले इस्मा गाउँपालिकाको सुशासनको स्थितिमा सुधार ल्याउन आफूहरूको खबरदारी निरन्तर रहने बताए ।

उनले गाउँपालिकाको सेवा प्रवाहमा ढिलासुस्ती, आर्थिक चलखेल र पूर्वाग्रहपूर्ण निर्णयसहितका विभिन्न १२ बुँदे माग राखेर गाउँपालिकाको ध्यानाकर्षण गराएकाले यथाशीघ्र सम्बाेधन गर्न आग्रह गरे ।

ad
ad