Skip This
अझै टुंगिएन महानगरका निलम्बित कर्मचारीमाथिको छानबिन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २५ बिहीबार
  • Saturday, 27 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o माघ २५ बिहीबार o८:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अझै टुंगिएन महानगरका निलम्बित कर्मचारीमाथिको छानबिन

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २५ बिहीबार o८:३४:oo

छानबिन समिति संयोजक भन्छन्– गम्भीर विषय हो, समय लाग्छ 

नियमविपरीत कर्मचारी थप गर्न लागेको आरोपमा निलम्बनमा परेका कर्मचारीमाथि काठमाडौं महानगरपालिकाले थालेको छानबिन अझै टुंगिएको छैन । महानगरले प्रमुख प्रशासकीय अधिकृतसहित चारजना कर्मचारीलाई निलम्बन गरेको २१ दिन पुगेको छ । तैपनि, निलम्बित कर्मचारीसँग मौखिक जवाफसमेत लिइएको छैन ।

महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको संयोजकत्वमा १७ पुसमा गठन भएको समितिले छानबिन सक्न अझै कम्तीमा १५ दिन लाग्ने जनाएको छ । संयोजक राजभण्डारीले निलम्बित कर्मचारीसँग मौखिक जवाफ लिन र अन्य प्रमाण जुटाउने काम बाँकी रहेको बताए । ‘यो गम्भीर विषय हो, हामीलाई छानबिनका लागि एक महिनाको समय दिनुभएको थियो, तर उक्त समयभित्र छानबिन सकिने अवस्था देखिन्न,’ उनले भने, ‘यसमा अध्ययन गर्नुपर्ने भित्री विषयहरू धेरै छन् ।’

महानगरकै कर्मचारीका आफन्तलाई नियमविपरीत जागिर खुवाउन लागेको फेला पारेपछि महानगरपालिकाले चार कर्मचारीमाथि १६ पुसमा कारबाही अघि बढाएको थियो । उनीहरूलाई छानबिन नसकिँदासम्म कार्यालय नआउन भन्दै १७ पुसमा पत्र थमाइएको थियो । तर, छानबिन समितिले ढिलो काम गर्दा अन्योल भइरहेको निलम्बित कर्मचारी तथा स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । ‘हाम्रो गल्ती के हो भन्नेबारे मौखिम रूपमा समेत सोधिएको छैन, यो विषयलाई अझ ठूलो पार्दा हामीमा अन्योल बढेको छ,’ उनले भने । कारबाहीमा परेका कर्मचारीले १७ पुसमा स्पष्टीकरण बुझाएका थिए । तर, समितिले त्यसबाहेक मौखिक कुराकानी, कार्यालयसँग जोडिएका अन्य प्रमाण जुटाउने काम बाँकी रहेको जनाएको छ । 

कर्मचारी राख्ने निर्णय प्रमाणीकरण गर्दा महानगरकै वरिष्ठ शाखा अधिकृत भगवती बिडारीकी छोरीलाई जागिर खुवाउन ६ जनाको नाम उल्लेख गरिएको थियो । सो विषय थाहा पाएपछि मेयर बालेन्द्र साहले कारबाहीस्वरूप निलम्बन गरेका थिए । सो प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, मेयर साहको सचिवालय प्रमुख नूरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी मुछिएका छन् । तर, प्रमुख प्रशासकीय अधिकृत अधिकारीको सामान्य प्रशासन मन्त्रालयले अन्य ठाउँमा सरुवा गरिसकेको छ । उनको ठाउँमा प्रदीप परियार आइसकेका छन् । 

महानगरकी कर्मचारी बिडारीकी छोरीलाई जागिर खुवाउन स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले टिप्पणी उठाएर प्रशासकीय अधिकृतकहाँ पु¥याएका थिए । त्यहाँबाट सो फाइल मेयर साहका सचिवालय प्रमुख नूरनिधि न्यौपानेकहाँ पुगेको थियो । सो जानकारी पाएपछि मेयर साहले छानबिन नसकिँदासम्म चारैजनालाई निलम्बन गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत अधिकारीको गाडीसमेत महानगरले फिर्ता ल्याएको थियो । उनको कार्यकक्षमा ताला लगाइदिएको थियो । यसबाहेक अधिकारीमाथि अन्य आर्थिक चलखेल गरेकोसमेत आरोप लागेको छ ।

चारजना कर्मचारीको मिलेमतोमा महानगरको १९ नम्बर वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा एकजना थप कर्मचारी राख्ने तयारी गरिरहेका वेला मेयर साहले जानकारी पाएका थिए । हाल सो प्रवर्द्धन केन्द्रमा एकजना ल्याब टेक्निसियन, एकजना एमबिबिएस डाक्टर, एकजना फर्मासिस्ट र दुईजना स्टाफ नर्स गरी पाँच कर्मचारी छन् । नयाँ कर्मचारी नराख्ने र पुरानै कर्मचारीलाई निरन्तरता दिने विषय कार्यपालिका बैठकमा समेत निर्णय भइसकेको थियो । तर, कर्मचारी राख्ने निर्णय प्रमाणीकरण गर्दा महानगरकै वरिष्ठ शाखा अधिकृत भगवती बिडारीकी छोरीलाई जागिर खुवाउन लागेको थाहा पाएपछि मेयर साह आक्रोशित बनेका थिए । बिडारीकी छोरीलाई जागिर खुवाउन स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले टिप्पणी उठाएर प्रशासकीय अधिकृतकहाँ पु¥याएका थिए । त्यहाँबाट सो फाइल प्रमाणीकरण भएर मेयर साहका सचिवालय प्रमुख नूरनिधि न्यौपानेकहाँ पुगेको थियो  । तर, कार्यपालिका बैठकको निर्णयविपरीत काम गरेको थाहा पाएपछि मेयर साहले कर्मचारीलाई तत्काल निलम्बन गरेका थिए ।