१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o७:११:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको स्रोत सुनिश्चित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:११:oo

बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन अवस्था रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेटको स्रोत सुनिश्चितता गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक बजेटमध्ये ७० प्रतिशत व्यहोर्ने गरी स्रोत सुनिश्चितताको निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिएका छन् । मुख्यमन्त्री जम्कट्टेलका अनुसार प्रदेश सरकारले रंगशाला निर्माणका लागि ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको छ ।

गत २१ कात्तिकमा प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि कुल ७५ करोड रुपैयाँको लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने सम्झौता भएको थियो । महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावअनुसार १० हजार दर्शक अट्ने पारापिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको जम्कट्टेलले बताए । बैठकले भरतपुर महानगरपालिकालाई रंगशालाको निर्माण कार्यका लागि ठेक्का प्रक्रिया अघि बढाउन आग्रहसमेत गरेको छ । सोमबार मात्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बागमतीका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले निरीक्षण गरेका थिए । 

बागमती प्रदेशले राष्ट्रिय गौरवको आयोजनामा रहेको रंगशाला निर्माणका लागि ५२ करोड ५० लाख रुपैयाँ स्रोत सुनिश्चित गरेको छ

दुवै मन्त्रीले रंगशाला निर्माणका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने आश्वासन दिएका थिए । रंगशाला निर्माणस्थल अवलोकनपछि अर्थमन्त्री लामाले देशकै गौरवको आयोजनाको रूपमा रहेको रंगशाला निर्माण सम्पन्न गर्नु प्रदेश सरकारको आफ्नो दायित्व बताएका थिए । गत पुसमा नेपाल सरकारको बैठकले रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको थियो । 

जग्गा सम्झौतासँगै काम अगाडि बढ्ने
सरकारले लिज ऐनअन्तर्गत रंगशालाले जग्गा लिनुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकबाट सहमति लिएको थियो । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाइँदै छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले रंगशालामा बजेट पार्ने विश्वास दिलाएकी छिन् । ‘रंगशाला निर्माणमा प्रदेश सरकारको चासो छ । हामी बजेट सुनिश्चित गरेरै अघि बढ्छौँ,’ उनले भनिन् । यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले १९ करोड रुपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । 

ad
ad