१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रासस कपिलवस्तु
२०८० माघ २३ मंगलबार १४:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री महतको निर्देशन

Read Time : < 1 मिनेट
रासस, कपिलवस्तु
२०८० माघ २३ मंगलबार १४:१६:००

अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीका जायज माग पूरा गर्न आफू तयार रहेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन्।

कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालयको निरीक्षणपछि मंगलबार कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘को, कहाँ र के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुन्छ।’

अर्थमन्त्री डा. महतले गरेका कामबाट देखिएका परिणामका आधारमा कर्मचारीको मूल्यांकन हुने बताए। उनले व्यवसायको अनुशासन, पारदर्शिताका साथ यथार्थ मूल्यांकन गरिए राजस्वको लक्ष्य नजिक पुग्न कठिन नहुने दाबी गरे।

व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न उनले आग्रह गरे। आन्तरिक राजस्व र भन्सारको अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, ‘कुन वस्तु कानुनी रपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्टियो भने राजस्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ।’ 

अर्थमन्त्री महतले अहिले धेरै वस्तुलाई भ्याटको दायरामा ल्याइएको भन्दै त्यसबाट कति कारोबार भयो ? कति आय भयो भन्ने पत्ता लगाउन सकिने उल्लेख गरे। ‘होटेल, रेस्टुराँजस्ता सेवा–व्यवसायको संख्या बढिरहेको छ। नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ। उनीहरूलाई कर प्रणालीमा जोड्नुपर्छ,’ उनले भने।

मन्त्री महतले अनुशासन र पारदर्शिताका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए। ‘अनावश्यक रूपमा कसैलाई दुःख दिनुहुँदैन र आँखा चिम्लिनु पनि हुँदैन। जे गर्नुपर्ने हो त्यो अनिवार्य गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्छ,’ उनले भने।