१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
खुटिया नदी किनारमा ढुंगा–बालुवा उत्खनन गर्दै ।
२०८० माघ २३ मंगलबार ०९:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुरेबाट बग्ने नदीखोलामा जथाभावी उत्खनन, बस्ती र पुलसमेत जोखिममा

Read Time : > 1 मिनेट
२०८० माघ २३ मंगलबार ०९:०७:००

कैलालीमा चुरे भएर बग्ने नदी, खोलाहरूबाट मापदण्डविपरीत जथाभावी ढुंगा, गिटी, बालुवा उत्खनन भइरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन नै नभएको क्षेत्रबाट समेत एक्स्काभेटर लगाएर ढुंगा, बालुवा संकलन भइरहेको हो ।

वातावरणलाई असर पर्ने गरी जथाभावी उत्खनन हुँदा आसपासका बस्ती जोखिममा परेका छन् । स्थानीय तहकै संरक्षणमा यस्तो कार्य भइरहेको स्थानीयवासी बताउँछन् । गोदावरी नगरपालिकाको गोदावरी र खुटिया नदी तथा खमौरा खोलाको धार नै परिवर्तन हुने गरी उत्खनन भइरहेको छ । एक्स्काभेटरले खोलाको बीचमा ठुल्ठूला खाल्डा पारेको छ । जथाभावी उत्खननले बर्खायाममा नदी तथा खोलाआसपासका बस्तीमा पस्ने भयमा स्थानीयवासी छन् ।

खमौरा खोलामा समेत खनेर ढुंगा, बालुवा संकलन भइरहेको खमौराका रेश्मा चौधरीले बताइन् । ‘नदीको बीच र किनारामा खनेर ठुल्ठूला खाल्डा पारिएका छन्, जथाभावी ढुंगा–बालुवा संकलन भइरहेको छ,’ उनले भनिन्, ‘बर्खामा नदीको धार परिवर्तन गरेर गाउँ पस्ने त्रास छ ।’

गोदावरीमा मापदण्डविपरीत नदीखोलाबाट प्राकृतिक स्रोतको व्यापक दोहन भइरहेको गुनासोका आधारमा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख खगराज भुसाल, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । यी तीनवटै नदीमा मापदण्डविपरीत ढुंगा, बालुवा उत्खनन भइरहेको पाएपछि टोलीको निर्देशनमा प्रहरीले १९ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । अवैध उत्खननमा संलग्न तीन–तीनवटा जेसिबी, एक्स्काभेटर र ट्र्याक्टर तथा १० वटा टिपरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

गोदावरीमा प्राकृतिक स्रोतको अनियन्त्रित दोहन भइरहेको पाएको अनुगमन टोलीले जनाएको छ । चुरेको फेदी, पुलमुनि र तोकिएभन्दा बढी गहिराइबाट उत्खनन गर्न नपाइने मापदण्डविपरीत त्यहाँ नदीको स्वरूप नै कुरूप हुने गरी उत्खनन भइरहेको अनुगमनमा संलग्न जिल्ला समन्वय समितिका सूचना अधिकारी विमलप्रकाश जोशीले बताए । वातावरणीय प्रभाव मूल्यांकन नगरिएको ठाउँबाट समेत उत्खनन भइरहेको उनले बताए । ‘नदी र खोलाको धार परिवर्तन हुने गरी मेसिनले नदीमा ठुल्ठूला खाल्डा खनिएका छन्, चुरेको फेदी र पुलमुनिबाट समेत उत्खनन भएको देखियो,’ जोशीले भने, ‘तीनवटै नदीमा वातावरणीय प्रभाव मूल्यांकनमा बढीमा एक मिटर गहिराइबाट उत्खनन गर्न सकिने भनेको रहेको छ, तर चार मिटरभन्दा गहिरा खाल्डा खनिएका छन् ।’ चुरेको फेदीमै डोजरले खाल्डा खनेर ढुंगा निकाल्ने र पुर्ने गरेको देखिएको अनुगमन टोलीले जनाएको छ ।

खुटिया नदीको पुल नै जोखिममा
डोजर र एक्स्काभेटर लगाएर नदीजन्य पदार्थ जथाभावी संकलन गरिँदा पूर्व–पश्चिम राजमार्गअन्तर्गत खुटिया नदीको पुलका दुईवटा पिलर जोखिममा परेका अनुगमन टोलीको निष्कर्ष छ । गोदावरी नगरपालिकै सेहरी गाउँमा खुटिया नदीमा बनेको झोलुंगे पुलसमेत अवैध उत्खननले जोखिममा देखिएको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख भुसालले बताए ।

‘पुलको पाँच सय मिटरआसपाससम्म उत्खनन गर्न पाइँदैन, तर यहाँ पिलरैनजिकबाट उत्खनन भएको देखियो । यसले पुल जोखिममा परेको देखिन्छ,’ उनले भने, ‘नदीमा ढुंगा, गिटी, बालुवा थुपारेर राख्न पाइँदैन, तर थुपारेर चाल्ने कामसमेत भइरहको छ ।’ चुरेको फेदी भएर बग्ने यी तीनवटै नदीखोलामा ढुंगा, बालुवा संकलनको ठेक्का लाग्न नसकेपछि गोदावरी नगरपालिकाले कर्मचारी खटाएर रोयल्टी संकलन गरिरहेको छ । नगरका जनप्रतिनिधिकै संरक्षणमा अनियन्त्रित दोहन भइरहेको स्थानीयको आरोप छ ।

गौरीगंगा नगरपालिकाले ठेक्का लगाएको कान्द्रा नदीबाट पनि ढुंगा, गिटी, बालुवाको अनियन्त्रित दोहन भइरहेको स्थानीयले बताएका छन् । लिक्मा नदीमा मापदण्डविरीत उत्खनन भइरहेको स्थानीयबाट गुनासो आएकाले अनुगमन गरिने कार्यवाहक प्रमुख भुसालले बताए ।