१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:३१:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपाल–खनाल शीतयुद्ध : विचारको बहस कि शक्ति–संघर्ष ?

Read Time : > 5 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:३१:oo

पार्टी संगठनको आकार र संसदीय शक्तिलाई आधार मान्ने हो भने सत्तारुढ दल एकीकृत समाजवादीभित्र त्यति ठूलो बहस नहुनुपर्ने हो । तर, पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच लामो समयदेखि शीतयुद्ध छ । 

आगामी जेठमा घोषित महाधिवेशनको मिति नजिकिँदै जाँदा उनीहरूबीचको संघर्ष पार्टी बैठकमा मात्र सीमित नभई सार्वजनिक मञ्चमा पनि कार्यकर्ताले महसुस गर्न सक्ने गरी देखिन थालेको छ । अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच सैद्धान्तिक–वैचारिक मात्र होइन राजनीतिक र सांगठनिक मुद्दामा समेत पेचिलो संघर्ष छ । 

को–अर्डिनेसन केन्द्रदेखि नै एउटै पार्टीमा रहँदै आएका नेपाल र खनाल डेढ वर्षअघि एमालेबाट अलग भएर एकीकृत समाजवादीमा पहिलो र दोस्रो वरीयताको नेता छन् । विद्रोहको औचित्य पुष्टि गर्र्न एकजुट भएर लाग्नुपर्नेमा शीर्ष दुई नेताबीच नै मतभेद छ । 

अहिलेको मतभेद शक्तिमा पुग्नका लागि संघर्ष हो : रोशन जनकपुरी, विश्लेषक
माधवकुमार र झलनाथबीच अहिले देखापरेको लाइन पुरानै हो । दुवै नेता पूर्वप्रधानमन्त्री र ठूलो पार्टीको अध्यक्ष भइसकेकाले इगोको विषय पनि भयो । अहिलेको मतभेद शक्तिमा पुग्नका लागि संघर्षजस्तो देखिन्छ ।

विश्लेषक रोशन जनकपुरी नेपाल–खनालबीचको संघर्ष शक्तिमा पुग्नका लागि भएको बताउँछन् । ‘माधवकुमार र झलनाथबीच अहिले देखा परेको लाइन पुरानै हो । दुवै नेता पूर्वप्रधानमन्त्री र ठूलो पार्टीको अध्यक्ष भइसकेकाले इगोको विषय पनि भयो । एकीकृत समाजवादी ठूलो पार्टीबाट बनेको पार्टी हो,’ उनले भने, ‘यसको आधार एमालेकै लाइनको देखिन्छ । एमाले र नेपालले भन्न खोजेको जबजमा भिन्नता छैन । अहिलेको मतभेद शक्तिमा पुग्नका लागि संघर्षजस्तो देखिन्छ ।’

पार्टी नेताहरूका अनुसार दुवै नेता भावी अध्यक्षको दौडमा छन् । केन्द्रीय परिषद् बैठकले उमेर हद नराख्ने निर्णय गरेसँगै उनीहरूले कार्यकर्ता भेटघाटलाई बाक्लो बनाएका छन् । पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल दुवैले एमालेको समेत नेतृत्व गरिसकेका छन् । विगतमा एमालेकै महाधिवेशनको झल्को दिने गरी दुई लाइन संघर्ष सुरु भइसकेको छ । 

पार्टी बैठकमा सीमित मतभेद सार्वजनिक कार्यक्रममै पोखिन थालेको छ, एकले अर्कामाथि आरोप–प्रत्यारोप थालेका छन् । पार्टी उपाध्यक्षसमेत रहेका कृषिमन्त्री डा. बेदुराम भुसालद्वारा लिखित पुस्तक ‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’को लोकार्पण कार्यक्रममा आइतबार अध्यक्ष नेपाल सम्मानित नेता खनालप्रति व्यक्तिगत घोचपेचमै उत्रिए । 

अध्यक्ष नेपालले व्यापक राजनीति परिवर्तनपछि पनि खनालले जबज बुझ्न नसकेको टिप्पणी गरे । ‘विचार नै परित्याग गरेर हिजो पनि जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउको भन्ने र आज पनि यसलाई समाप्त पार्न लाग्ने विचारलाई किमार्थ ठीक भन्न सकिँदैन । जनक्रान्ति सम्पन्न भइसकेपछि पनि जबजलाई जसले बुझ्न सकेन, त्यो ठीक छैन,’ खनालको नामै नलिई नेपालले भने, ‘जनक्रान्ति सम्पन्न भइसकेपछि पनि कुनै परिवर्तन भएको छैन भन्न मिल्दैन । एउटै परिवर्तन भएको छ कि हामीले संविधान बनाएका छौँ । क्रान्तिलाई संस्थागत गरेका छौँ । उपलब्धिलाई संस्थागत गरेका छौँ । जबजको सन्दर्भमा त्यो वेलामा एउटा आज अर्को हुन सक्दैन । यसको मर्म, भावना, अन्तर्यलाई आत्मसात् गर्नुपर्छ ।’

अध्यक्ष नेपालले समाजवादी क्रान्तिको चरणमा पनि बहुदलीय प्रतिस्पर्धाको राजनीतिको त्यतिकै उपादेयता रहेको बताए । ‘हाम्रो समाजजवाद चीनको जस्तो हुँदैन, भियतनामको जस्तो हुँदैन । क्युबाको जस्तो पनि हुँदैन । हाम्रो समाजवाद बहुदलीय प्रतिस्पर्धासहितको समाजवाद हुन्छ,’ नेपालले भने । 

नेपालले कम्युनिस्ट पार्टीको अस्तित्व रक्षाका लागि पनि जबज आवश्यक रहेको र विचार परित्याग गर्न नसकिने बताए । ‘कम्युनिस्ट पार्टीको अस्तित्व धराशयी पार्न साम्राज्यवादी, प्रतिक्रियावादी शक्ति लागिरहेका छन् । हाम्रो देशको राजनीतिमा कम्युनिस्ट पार्टीलाई लोकप्रिय पार्टीका रूपमा अगाडि बढाउनु छ भने, राष्ट्रियताको पक्षपोषक, लोकतन्त्रको संवाहक र परिवर्तनको वाहक पनि कम्युनिस्ट पार्टीबाट पुष्टि गराउनु छ भने आफ्नो लोकतान्त्रिक चरित्र दृढताको साथ अगाडि बढाउनुपर्छ । बहुदलीय प्रतिस्पर्धाको विधिलाई नयाँ परिवेशबाट अगाडि बढाउनुपर्छ,’ नेपालले भने ।

केही दिनअघि सम्पन्न केन्द्रीय परिषद् बैठकको समापन सत्रमा सम्मानित नेता खनालले जबजबाट समाजवादतिर जान नसकिने बताएका थिए । ‘कहिले जबज भन्छौँ, कहिले समाजवाद भन्छौँ । कता जाने त ? तपाईं जबज भन्नुहुन्छ भने त ठूलो जबजतिर किन नजाने भन्छ नि त मान्छेले ? ठूलो जबजवाला त एमाले छ,’ खनालको भनाइ थियो, ‘हामीले जबज भन्यो भने त हामीले भनेको भन्दा केपी ओलीले भनेको चाहिँ बढ्ता सुन्छ । त्यो खतरा हुन्छ । हामी क्लियर हनुुपर्छ । समाजवादमा जाने हो भने समाजवाद र पुँजीवादको बीचमा भिन्नता के हो ? यसबारे शिरदेखि तीरसम्म छ्याङ्ग हुनुप र्‍यो । अनि मात्रै हामी समाजवादको बाटोमा जान्छौँ ।’

खनालले पुँजीवाद र समाजवादमा आधारभूत मात्रै नभई गुणात्मक भिन्नता रहेको व्याख्या गरेका थिए । उनले सैद्धान्तिक समझलाई उन्नत बनाउन पनि बहस आवश्यक रहेको औँल्याएका थिए । उनले भनेका थिए, ‘रुसमा पनि बहुदलीय जनवाद थियो । लेनिनले किन जबज मान्नुभएन ? कोही कमरेडको विरुद्धमा बोल्ने कुुरा होइन यो । हाम्रो सैद्धान्तिक समझलाई उन्नत बनाउने कुराका लागि यी काम गर्ने हो ।’ 

जबजलगायत विगतका विषयलाई समाजवादी क्रान्तिको अंग बनाएर जानुपर्ने खनालको तर्क छ । ‘जबजको रक्षा गर्ने कुरामा हामीले जनवादी क्रान्तिमा तीन–चारवटा कार्यक्रम अगाडि सा र्‍यौँ । पहिला पुष्पलालले ००८ मा अगाडि सार्नुभएको कार्यक्रम नयाँ जनवादी कार्यक्रम थियो । ०१९ मा तुल्सीलालले राष्ट्रिय जनवादको कार्यक्रम अगाडि सार्नुभयो,’ उनले भने, ‘त्यसपछि फेरि नयाँ जनवादी कार्यक्रम नै अगाडि सा र्‍यौँ । कसैकसैले यसलाई जनताको जनवादी कार्यक्रम पनि भने । पछिल्लो अवधिमा हामीले जबज भन्यौँ । यी जनवादी क्रान्तिका कार्यक्रम हुन् । यदि औचित्य छ भने यी सबैको रक्षा गर्नुपर्छ । होइन भने ती कार्यक्रम हिजोको क्रान्तिका कार्यक्रम हुन् । अब हामी सबै समाजवादी क्रान्तिको कार्यक्रमको पक्षमा उभिनुपर्छ ।’

केही दिनअघि सम्पन्न राष्ट्रिय परिषद् बैठकको उद्घाटन सत्रमा लिखित सम्बोधन गरेका नेपालले जबजको विषय उल्लेख गरेका थिएनन् । तर, समापन सत्रमा नेपालले जबज छाड्न नसकिने स्पष्ट पारेका थिए । 

पार्टीको राजनीतिक–वैचारिक प्रतिवेदन जेठको महाधिवेशनबाट टुंग्याउने तयारी छ । यसका लागि अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय महाधिवेशन दस्तावेज मूल समिति बनेको छ । जसमा सम्मानित नेता खनाल पनि छन् । ‘जबज सिद्धान्त होइन, कार्यक्रम हो । अब जबजबाट प्राप्त उपलब्धि संरक्षण गर्दै समाजवादी कार्यक्रमका साथ अगाडि बढ्नुपर्छ,’ उपाध्यक्ष जयन्ती राईले भनिन् ।

उपाध्यक्ष धर्मनाथप्रसाद साह जीवन्त पार्टीमा वैचारिक बहस स्वाभाविक भएको बताउँछन् । महाधिवेशन दस्तावेज समितिका सदस्यसमेत रहेका साहले बहसका क्रममा आएका विचार मिलाएर महाधिवेशनमा प्रस्तुत गर्ने र एकमत हुन नसके महाधिवेशनले नै छिनोफानो गर्ने बताए । ‘बहस त सतहमै देखिसकियो, थप बहस हुन बाँकी नै छ । समितिमा बहस गर्छौँ । हाम्रो प्रयास एउटै विचार बनाउने हुन्छ । यदि भएन भने महाधिवेशनमा पेस हुन्छ । जुन विचार पास भयो, त्यहीअनुसार अगाडि बढ्छ,’ उनले भने ।

जबजदेखि एमसिसीसम्म मतभेद
१. जबज कि समाजवादी कार्यक्रम भन्नेमा नेपाल र खनालबीच मुख्य मतभेद छ । नेपाल जबजलाई त्याग्न नहुने पक्षमा छन् भने खनाल समाजवादी कार्यक्रमको अंग बनाएर जानुपर्नेमा छन् । नेपाल जबजकै जगमा पार्टीलाई लोकप्रिय बनाउन सकिनेमा आशावादी छन् । एकीकृत समाजवादीले पनि जबज नै भने कार्यकर्ता एमालेतिरै आकर्षित हुने खनालको विश्लेषण छ ।

नेपाल भन्छन्, ‘जनताबाट टाढियौँ भने जनताले अस्वीकार गर्छन् । चुनिनका लागि पनि आवधिक निर्वाचनको प्रक्रियामा सामेल होऊँ । यो विचार विश्व कम्युनिस्ट आन्दोलनमा कुन पार्टीले अगाडि सारेको थियो ? हामीले नै सारेका थियौँ, कमरेड मदन भण्डारीको अगुवाइमा हाम्रो पार्टीले अगाडि सारेको थियो– जनताको बहुदलीय जनवाद (जबज) । यो हाम्रो पेटेन्ट राइट भएको चिज हो । यसलाई छोड्न, त्याग्न हामी सक्दैनौँ ।’

तर, खनाल भन्छन्, ‘बहुदलीय जनवाद, नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद जे भने पनि ती हिजोको जनवादी क्रान्तिका कार्यक्रम हुन् । जनवादी क्रान्ति नै सिद्धिसकेपछि ती सबै कार्यक्रम कालातीत भइसके । यसकारण अब ती कुराको पृष्ठभूमिमा उभिएर हामीले समाजवादी कार्यक्रम र लक्ष्यलाई लिएर अगाडि बढ्नुको कुनै विकल्प छैन ।’

२. मित्रशक्ति र विरोधी शक्तिको विषयमा पनि नेपाल र खनालबीच मतभेद छ । नेपाल कांग्रेससहितको वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर जाने पक्षमा छन् भने खनाल वामगठबन्धनको पक्षमा छन् । कांग्रेस वर्गीय रूपमा मित्रशक्ति नभएको निष्कर्ष खनालको छ । 

‘यथार्थ धरातलमा टेकेर चल्नुपर्छ । तथ्यबाट मात्रै सत्यमा पुग्न सकिन्छ । मनोगत विश्लेषण गरेर हुँदैन । अहिले संविधानको पक्षमा भएका शक्तिलाई एकताबद्ध गर्नुपर्नेछ । सुशासनको पक्षमा रहेका शक्तिलाई मिलाएर लानुपर्नेछ । समाजमा रहेका विकृति, विसंगतिका विरुद्धमा लड्न चाहनेलाई मिलाएर लानुपर्नेछ,’ नेपालले भनेका छन् ।

तर, यसमा खनालको भनाइ छ, ‘हामीले सही र गलत आफैँ छुट्याएर काम गर्न सक्नुपर्छ । अनि मात्रै हामी अग्रगतितर्फ जान्छौँ । त्यसकारण हामीले आजको अवस्थामा आफूलाई दह्रो बनाउन सकेनौँ भने हामी आफँै पनि सिद्धिन्छौँ । कम्युनिस्ट आन्दोलन त प्रक्रियावाद र अवसरवादले सिध्याउँछ । अवसरवादलाई ठीक ढंगले प्रहार गर्न सकेनौँ र आफैँभित्रको कुरालाई पनि सच्याउन सकेनौँ भने हामीले पनि सिद्धिनुपर्ने हुन्छ ।’ 

३. राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट पनि दुई नेताको मतभेदको विषय बनेको छ । नेपाल प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा छन् । खनालले भने पार्टीले दुई सिट मात्रै प्राप्त गरेकोमा सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् । ‘हामीलाई जम्मा दुई सिट दिने काम भयो । हामी त्यसैमा मख्ख पर्ने हो र ? हाम्रो कारणले यो गठबन्धन बनेको थियो । हाम्रो सहयोग नभएको भए, हाम्रो योगदान नभएको भए यो गठबन्धन बन्दैन थियो । त्यसको मूल्य खोइ त ? खोलामा बगाइयो,’ खनालले भनेका छन् । 

४. विधानको विषयमा पनि दुई नेताबीच मतभिन्नता छ । खनालले विधानको प्रस्तावनामै प्रश्न उठाएका छन् । पार्टी निर्माणताका विधान बनाउने वेला खनाल अस्पतालमा उपचाररत थिए । केन्द्रीय परिषद् बैठकमा खनालले विधानको प्रस्तावनामै प्रश्नचिह्न खडा गरे । पार्टीले वर्गीय प्रतिनिधित्व गर्ने उनको भनाइ छ ।

. अमेरिकी सहायता परियोजना (एमसिसी)बारे नेपाल र खनालबीच मतभेद रह्यो । पूरक प्रस्तावसहित एमसिसी अनुमोदन गराउनुपर्ने तत्कालीन सत्तागठबन्धनका नेताहरूको निर्णयमा अध्यक्ष नेपाल सहमत भए । नेपालले एकीकृत समाजवादीलाई एमसिसीको पक्षमा उभ्याउँदा खनालले संसद्मा विपक्षमा मतदान गरे । 

६. समाजवादी मोर्चा गठनमा पनि खनालको भिन्न मत छ । जब कि अध्यक्ष नेपाल मोर्चाको संयोजक छन् । यही स्थितिमा समाजवादी मोर्चाको औचित्य नरहने खनालको भनाइ छ । मोर्चा घोषणा सभामा पार्टीका प्रमुखहरूले सम्बोधन गरेका थिए । एकीकृत समाजवादीभित्रको मतान्तरकै कारण मोर्चा घोषणा कार्यक्रममा दोस्रो वरीयताका खनाललाई पनि सम्बोधन गर्न दिइएको थियो । खनाल चार दलीय मोर्चाले मात्रै समाजवादी क्रान्ति अगाडि बढाउन सकिँदैन भन्नेमा छन् । 

ad
ad