१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १७:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

साढे तीन महिनादेखि बन्द हेटौँडा सिमेन्टको उत्पादन सुचारु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:५९:oo

हेटौँडा– ९ मा रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग बन्द भएको करिब साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको छ। उद्योगले सोमबार बिहानबाट उत्पादन थालेको उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले जानकारी दिए।

कोइलाको अभावमा बन्द रहेको उद्योग साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको हो। महाप्रबन्धक पाण्डेले कोइला सप्लायर्सहरूलाई भुक्तानी दिएपछि कोइला आपूर्ति भई पुनः उद्योग चल्न थालेको बताए।

‘कोइला सप्लायर्सहरूलाई भुक्तानी दिन नसकेपछि कोइला आपूर्ति बन्द भएर उद्योग नियमित सञ्चालन गर्न सकेका थिएनौँ। कोइला सप्लायर्सहरूलाई भुक्तानी दिएपछि केही समयलाई पुग्ने कोइला आपूर्ति भएको छ। अब तत्काल उद्योग बन्द हुँदैन,’ महाप्रबन्धक पाण्डेले भने।

चार वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग समय-समयमा कोइला अभाव र उपकरण बिग्रिएर बन्द हुने गरेको छ। ४० वर्ष पुराना मेसिनबाट अहिले पनि उत्पादन गर्नुपर्ने बाध्यताका कारण वेला-वेलामा उद्योग बन्द हुने गरेको महाप्रबन्धक पाण्डेको दाबी छ। उनले उद्योगका पुराना मेसिन मर्मत गरेर कहिलेसम्म चलाउने हो? भन्दै सरकारलाई प्रश्न गरे।

पुराना मेसिनका कारण उत्पादन लागत महँगो पर्ने गरेको र उद्योगले निजी क्षेत्रका उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको उनले प्रस्ट पारे। यस्तै, कच्चा पदार्थको अभाव र ढुंगा पिस्ने मेसिन (क्लिंक) बिग्रिएर पनि वेला-वेलामा सिमेन्ट उत्पादन रोकिने गरेको महाप्रबन्धक पाण्डेको भनाइ छ।

‘सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै पुरानो र जीर्ण भइसकेको छ। मेसिन पटक–पटक बिग्रिने र पूर्ण क्षमतामा उत्पादन गर्न नसक्ने अवस्थामा छौँ। उद्योगमा नयाँ मेसिन नल्याएसम्म समस्या हट्दैन र उद्योग नाफामा जान सक्दैन,’ महाप्रबन्धक पाण्डेले भने।

दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योगबाट लामो समय उत्पादन नहुँदा मौज्दात सिमेन्ट बिक्री गरेर त्यसबाट प्राप्त रकमले कोइला सप्लायर्सहरूलाई भुक्तानी दिएको उनले बताए। पाण्डेका अनुसार चालू आर्थिक वर्षमा उत्पादन भएको २ लाख ४९ हजार ४५६ बोरा सिमेन्टमध्ये करिब १ लाख बोरा सिमेन्ट अझै मौज्दात छ।

ad
ad