Skip This
महोत्तरीको पिपराढीमा सशस्त्रको रेल्वे सुरक्षा बेस स्थापना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २२ सोमबार
  • Saturday, 27 July, 2024
२o८o माघ २२ सोमबार १२:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीको पिपराढीमा सशस्त्रको रेल्वे सुरक्षा बेस स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २२ सोमबार १२:४o:oo

नेपाल रेल्वे कम्पनीद्वारा सञ्चालित जयनगर–जनकपुर–भंगहा रेल्वे सेवाअन्तर्गत स्टेसन सुरक्षाका लागि महोत्तरी जिल्लाको पिपराढी स्टेसन परिसरमा सशस्त्र प्रहरी बल नेपालको रेल्वे सुरक्षा बेस स्थापना गरिएको छ।

नेपाल रेल्वे कम्पनीको स्वामित्वमा रहेको भवनमा सशस्त्र प्रहरी बल, नेपाल रेल्वे सुरक्षा बेस पिपराढीको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीले एक कार्यक्रमबीच बेस उद्घाटन गरिएको हो। लोहारपट्टी नगरपालिका उपप्रमुख सरिता शर्मा, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीका गणपति एसपी लेखनाथ खनालले संयुक्त रूपमा कार्यालयको बोर्ड अनावरण गरी रेल्वे सुरक्षा बेसको शुभारम्भ गरेका हुन्।

उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक लेखनाथ खनालले सशस्त्र प्रहरी बल, नेपाललाई नेपाल सरकारले रेल्वे सुरक्षाको जिम्मेवारी दिएसँगै रेल्वेनजिक पर्ने सशस्त्र प्रहरी बलका कार्यालयहरूबाट सुरक्षा व्यवस्था मिलाउँदै आएकोमा स्टेसन परिसरमै स्थापना भएको बेसबाट रेल्वेको नियमित गस्ती, स्टेसन सुरक्षा र रेल्वे कम्पनीका पूर्वाधारहरूको सुरक्षा गर्न निकै सहज हुने र सुरक्षा व्यवस्था थप प्रभावकारी हुने बताए।

कार्यक्रममा लोहारपट्टी नगरपालिकाकी उपप्रमुख सरिता शर्माले रेल्वे सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई स्थानीय तहबाट आवश्यक सहयोग गर्न नगरपालिका सधैँ तयार रहेको बताइन्। महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले राज्यले विशिष्ट जिम्मेवारी सुम्पेको सशस्त्र प्रहरी बलले रेल्वे सुरक्षाजस्तो संवेदनशील जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्दै आएकोमा छुट्टै कार्यालय स्थापना हुँदा झन् व्यवस्थित र विश्वसनीय सेवा प्रवाह हुने बताए।

नेपाल सरकारले ०७७ साल पुस १५ गते रेल्वे सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिएको थियो। यसै वर्ष असार ३१ गतेबाट सञ्चालन भएको रेल्वे सेवाको सुरक्षाका लागि साउन १ गतेबाट विभिन्न हल्ट तथा स्टेसनहरूमा सशस्त्र प्रहरीहरू खटिँदै आएका छन्। 

जनकपुरमा डिएसपीको कमान्डमा रेल्वे सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपालको छुट्टै कार्यालय यसअघि नै स्थापना भइसकेको छ। पिपराढीमा भने असइको कमान्डमा बेस रहनेछ।