१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक वर्षमा चार सय ५८ विदेशी निष्कासित

अध्यागमन कानुन मिच्नेमा चिनियाँ र अमेरिकी धेरै, निष्कासितको सूचीमा तेस्रोमा बंगलादेशी, चौथोमा उज्वेकिस्तानी र पाँचौँमा बेलायती

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२९:oo

नेपालले २०२३ मा ४५८ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन कानुन मिचेर विनाभिसा बस्ने तथा नेपालमा आएर अपराधमा संलग्न विदेशी निष्कासनमा पर्दै आएका छन् । ५६ देशका नागरिक निष्कासित भएकोमा अध्यागमन विभागको विवरणअनुसार सबैभन्दा धेरै चिनियाँ छन् । एक वर्षमा २०९ जना चिनियाँ निष्कासनमा परेका छन् । दोस्रो स्थानमा अमेरिकी नागरिक छन् । एक वर्षमा ३७ जना अमेरिकी निष्कासनमा परेका छन् । 

निष्कासनमा पर्ने अमेरिकीमा धेरैजसो नेपाली मूलका छन् । अमेरिकी पासपोर्टमा आउने उनीहरू लामो समय नेपाल बस्छन् । निष्कासनमा परेका सबै अमेरिकी ओभर स्टेसम्बन्धी कसुरका रहेको विभागका निर्देशक प्रेमप्रसाद दाहालले बताए । अध्यागमन कानुनबारे जानकारी नहुँदा पनि नेपाली मूलका अमेरिकी कारबाहीमा पर्ने गरेका छन् । 

चिनियाँ पनि धेरैजसो ओभर स्टेमा निष्कासनमा परेको दाहाल बताउँछन् । दुई सय नौमध्ये एक सय ९० जना ओभर स्टेमा परेका हुन् । आठजना वैदेशिक मुद्रा तस्करी, चारजना लागुऔषध, तीनजना संगठित अपराध, दुईजना राजस्व छली तथा ठगी र अपहरणमा संलग्न एक–एकजना छन् । 

निष्कासितको सूचीमा तेस्रोमा बंगलादेश, चौथोमा उज्वेकिस्थान र पाँचौँमा बेलायती छन् । एक वर्षमा बंगलादेश र उज्वेकिस्थानका १९–१९ जना निष्कासनमा परेका भने बंगलादेशका १७ जना छन् । त्यस्तै, श्रीलंकाका ११, पाकिस्तान र स्विडेनका १०–१०, अफगानिस्तानका नौ र जर्मनीका आठ नागरिकलाई कारबाही गरी उनीहरूको देश पठाइएको अध्यागमन विभागका निर्देशक दाहालले बताए । 

निष्कासित विदेशीमध्ये चार सय १२ जनाको ओभर स्टेसम्बन्धी कसुर पाइएको छ । उनीहरू एक वर्षमा पाँच महिनाभन्दा लामो समय नेपाल बसेका थिए । नेपालको अध्यागमन कानुनअनुसार एक अंग्रेजी वर्षभरि बढीमा एक सय ५० दिन पर्यटक भिसामा बस्न पाइन्छ । 

भिसा पारस्पारिकताका कारण अमेरिकी नागरिक भने एक सय ८० दिन बस्न पाउँछन् । यसभन्दा धेरै समय बस्नुलाई अध्यागमनसम्बन्धी कानुनले अपराध मान्दछ । यसभन्दा धेरै बस्नेलाई जरिवाना गरी अपराधको गम्भीरता हेरेर निश्चित अवधि नेपाल आउन नपाउने गरी निष्कासन हुने गरेको अध्यागमन विभागले जनाएको छ । 

निष्कासनमा पर्नेमा ४६ जना विभिन्न अपराधमा पक्राउ परी सजाय भुक्तान गर्नेहरू छन् । लागुऔषध र वैदेशिक मुद्रासम्बन्धी अपराधमा १०–१० जना, संगठित अपराधमा ६, नक्कली पासपोर्टमा पाँच, यौन हिंसासम्बन्धी अपराधमा पाँच र ठगीमा संलग्न पाँचजनालाई सम्बन्धित देश पठाइएको छ । राजस्व छलीमा संलग्न दुई र अपहरण, दुव्र्यवहार, बहुविवाह र शंकास्पद गतिविधिमा संलग्न एक–एकजना छन् । 

अनुगमन नहुँदा अवैध धन्दामा विदेशी 
नेपालमा अवैध रूपमा बस्ने विदेशीका कारण राष्ट्रिय सुरक्षामै चुनौती बढेको भन्दै पाँच वर्षअघि सरकारले अनुगमन गर्न निर्देशिका बनाए पनि अनुगमन भने प्रभावकारी हुन सकेको छैन ।  ०७५ मा ‘विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५’ जारी भएको थियो । निर्देशिकाले अध्यागमन अधिकृतले आफैँ पुर्जी दिएर खानतलासी गर्ने र पक्राउ गर्ने अधिकार दिएको थियो । जसअनुसार खानतलासीलगायत काम हुन सकेको छैन । अध्यागमन विभागका अधिकारी भने यसमा जनशक्ति अभावलाई मुख्य कारण मान्छन् । 

चिनियाँहरू आर्थिकदेखि वन्यजन्तुसम्बन्धी अपराधमा सक्रिय छन् । एक चिनियाँ समूहले एक वर्षसम्म विमानस्थलबाट सुन तस्करी गरेको गत साउनमा ६१ किलो सुन बरामद भएबाट खुलेको थियो । त्यसमा आबद्ध चिनियाँहरू नेपालमा वर्षाैँदेखि सक्रिय थिए । कतिपय पर्यटक भिसामा त केही बिजनेस भिसामा बसेर सुन तस्करी, क्रिप्टोलगायत अपराध गर्दै आएको अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारी बताउँछन् ।

 विद्युतीय चुरोटमा लुकाएर सुन तस्करी गर्नेमा पनि चिनियाँ नै देखिएका छन् । त्यस्तै, दोलखाको लामाबगर नाकाबाट सुन तस्करी गर्नेमा पनि चिनियाँ समूहको सक्रियता देखिएको छ । कतिपय विदेशी बिजनेस भिसाको आवरणमा धर्म प्रचार र जासुसीमा सक्रिय रहेका विगतका अनुसन्धानले देखाएका छन् । 

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ नेपालमा बसेर अवैध गतिविधिमा संलग्नमाथि विभागको इन्टेलिजेन्स टिमको अनुसन्धानले निगरानी गरिरहेको बताउँछन् । ओभर स्टेमा बस्ने विदेशीको विवरण तत्काल थाहा हुने गरी ‘सिस्टम’ बनाउने काम पनि भइरहेको उनको भनाइ छ । 

हालको अध्यागमन प्रणाली यति कमजोर छ कि नेपाल आएका कुन विदेशी ओभर स्टे भए भनेर राज्यले थाहा पाउने अवस्था छैन । अर्काेतर्फ ओभर स्टे बस्दा ५० हजार रुपैयाँसम्म मात्र जरिवाना हुने कमजोर कारबाही प्रणालीले पनि नेपालमा विदेशीको अवैध गतिविधिलाई प्रोत्साहन भइरहेको अध्यागनका अधिकारी बताउँछन् ।

सात वर्षमा ३४ सय ८६ विदेशी निष्कासनमा 
सात वर्षमा नेपालबाट ३४ सय ८६ विदेशी निष्कासनमा परेका छन् । निष्कासित हुनेमा ८५ प्रतिशत ओभर स्टेसम्बन्धी कसुरका छन् । २०२२ मा ५५८ जना निष्कासनमा परेका थिए । २०२१ मा २१८ जना, २०२० मा ३३२ जना विदेशीलाई कारबाही गरी पठाइएको अध्यागमनको तथ्यांक छ ।  २०२० मा नेपालमा गोप्य रूपमा इन्टरनेटमार्फत जुवालगायत अपराधमा संलग्न १२२ जना चिनियाँलाई एकैपटक पक्राउ गरी निष्कासन गरिएको थियो । चीनले प्लेन नै चार्टर गरेर उनीहरूलाई लगेको थियो । २०१९ मा ६६८, २०१८ मा ६९२ तथा २०१७ मा ५६० जना निष्कासनमा परेका थिए । 

ad
ad