१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार २३:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिल गरिएका आयुर्वेद औषधि पसलको थप छानबिन गर्न समिति गठन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २३:३२:oo

जिल्ला प्रशासन कार्यालय गुल्मीले सोमबार सिल गरिएका दुई आयुर्वेद औषधि पसलको थप छानबिन गर्न प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको छ । 

समितिले १९ माघसम्म अवस्थाको सत्य तथ्य बुझेर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ । समितिका सदस्यहरूमा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्य, आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका डा. सुरज पाण्डे, रेसुंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यमान चौधरी छन् । 

जिल्ला प्रशासन कार्यालय गुल्मीले तम्घासमा सञ्चालित दुई आयुर्वेद औषधि पसमा सिल गरेको छ । कानुनविपरीत रमेश अधिकारीले सञ्चालन गरेको सम्पन्न आयुर्वेद औषधि पसल र श्रीमती कमला पाण्डेयले सञ्चालन सफल होमियोप्याथिक औषधि पसलमा सिल गरेको हो । 

स्थानीय स्तरबाट प्रशासनमा व्यापक जनगुनासो आएपछि प्रशासकीय अधिकृत नारायण घर्ती नेतृत्वको टोलीले दुई पसलको छानबिन गरेको थियो । 

अनुगमन टोलीका अनुसार दुई पसललाई आयुर्वेद तथा होमियोप्याथिक औषधिको खुद्रा बिक्री–वितरण गर्ने अनुमति मात्रै रहेको छ । तर, अनुमतिविना ऐलोपेथिक औषधिहरू बिक्री–वितरण गरेको, एक्सरे तथा भिडियो एक्सरे सेवा, फिजियोथेरापी सेवा, नेबुलाइजर सेवा प्रवाह गरिएको छ । 

साथै, भर्ना गरेर स्लाइन चढाउने तथा चिकित्सकको परामर्शविना ल्याब र रेफर गर्ने गरेको पाइएको अनुगमन टोलीमा रहेका आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका डाक्टर सुरज पाण्डेयले जानकारी दिए । 

प्रशासनको टोलीले रेसुंगा नगरपालिका– ९ मा रहेका गोदाम, एक्सरे मेसिन, भिडियो एक्सरे र फिजियोथेरापी कक्षमा ताला लगाएर सिल गरिएको प्रशासनले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी शर्माले स्थानीय जनगुनासोपछि पुगेको अनुगमन टोलीले कानुनविपरीतका काम देखेपछि पसलहरूमा सिल गरेको बताए । उनले अहिले पसल सिल मात्रै गरेकाले समितिले अनुसन्धान गरेर गल्ती भेटिए कानुनअनुसार कारबाही अगाडि बढाउने बताए ।

शर्माले आफूहरूको कुनै स्वार्थ नभएको र नागरिकको स्वास्थ्य संवेदनशीलतासँगको विषय भएकाले कसैको दबाब र प्रभावमा आफू ब्याक नहुने प्रतिबद्धता जनाए ।

सम्पन्न आयुर्वेद औषधि पसलका सञ्चालक रमेश अधिकारीले मान्छेहरूले अरू बनेको देख्न नचाहेका कारण अहिलेको अवस्था आएको प्रतिक्रिया दिए । उनले डाक्टरसहित नै ठूलो रकम खर्च गरेर क्लिनिक सञ्चालन गर्ने योजना भए पनि प्रगति देख्न नसक्नेहरूले बीचमै रोक्न अनेक हतकण्डा गरेको आरोप लगाए । 

‘डाक्टर जीवन थनेटकै सल्लाहमा सामग्री खरिद र व्यवस्थापन अगाडि बढाएका थियौँ । उहाँ विदेश गएपछि सेवा निरन्तरताको प्रबन्ध र व्यवस्थापकीय काममै छौँ,’ उनले भने, ‘करिब चार करोड रुपैयाँ लगानी गरेपछि ममाथि आक्रमण भयो ।’ 

उनले आफूले उपचार नै नगरेको बिरामीको मृत्युको कारणसमेत आफूलाई देखाइएको गुनासो गरे ।

ad
ad