१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
बुद्धि तामाङ, निर्देशक तथा अभिनेता
सञ्जीव योञ्जन काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o९:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

तामाङ समुदायको पीडा बुझ्न ‘मासिन्या’ हेर्नुपर्छ 

Read Time : > 1 मिनेट
सञ्जीव योञ्जन काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o९:o९:oo

नेपाली रंगमञ्च र सिनेमाका लोकप्रिय कलाकार हुन्, बुद्धि तामाङ । रंगमञ्चबाट सिनेमा क्षेत्रमा प्रवेश गरेका उनलाई अभिनयमा भ्याइनभ्याई छ । चलचित्र ‘कबड्डी’मा उनले प्रयोग गरेको ‘हैट’ थेगो निकै चर्चित छ । उनी निर्देशित नाटक ‘मासिन्या’ शुक्रबारदेखि मण्डला थिएटरमा मञ्चन भइरहेको छ । निर्देशक तामाङसँग ‘मासिन्या’को सेरोफेरोमा रही नयाँ पत्रिकाकर्मी सञ्जीव योञ्जनले पाँच प्रश्न गरेका छन् :

‘मासिन्या’ नाटकलाई दर्शकले किन हेर्ने ? 
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त देश हो । विभिन्न जातजातिको आ–आफ्नै भाषा, संस्कृति छ । यसैमध्ये तामाङ समुदायको कथामा आधारित नाटक हो ‘मासिन्या’ । तामाङ समुदायको विशेष गरी पाँचवटा सामाजिक नायक हुन्छन्–ताम्बा, गान्बा, चोहो, बोन्बो, लामा । यीमध्ये बोन्बो संस्कृतिलाई कथा भन्ने माध्यम बनाएर यो नाटक बनाएका छौँ । 

भनेपछि संस्कृतिको पाटोलाई नाटकमा देखाउन खोज्नुभएको हो ?
संस्कृति मात्रै छैन, समुदायभित्र लुकेको पीडा बुझ्न ‘मासिन्या’ हेर्नैपर्छ भन्ने लाग्छ । 

नाटकले समाजलाई दिन खोजेको खास सन्देश के हो ? 
नाटकमार्फत हाम्रो समाजको कथा भन्ने कोसिस गरेका हौँ । मैले भन्नुभन्दा पनि नाटक हेरेपछि दर्शक आफैँले बुझ्नुहुन्छ । समाजमा कुनै पनि स्वरूपका कला महत्त्वपूर्ण हुन्छन् । समाजका लागि कला एउटा गतिलो अनुभूतिको माध्यम पनि हो । सिनेमा, नाटक र संगीतजस्ता विधाहरूले समाज परिवर्तन गर्न प्रभावकारी भूमिका खेल्न सक्छ । ‘मासिन्या’ले समाजलाई यही नै सन्देश दिन्छ भनेर ठोकुवा गर्न सकिन्न । किनकि कलालाई हेर्ने सबैको आ–आफ्नै दृष्टिकोण हुन्छ । यतिचाहिँ भन्न सकिन्छ, आर्टमार्फत तामाङ समुदायको कथा भन्न खोजेका हौँ । नाटकमा सीमान्तकृत समुदायको भोगाइ प्रतिबिम्बित भएको देख्न सकिनेछ ।

तपाईं लामो समयदेखि फिल्ममा व्यस्त हुनुहुन्छ । व्यस्त समयलाई थाती राखेर नाटक निर्देशनमा फर्किनुभयो । नाटक निर्देशन गर्दा र फिल्ममा कलाकारको रूपमा अभिनय गर्दा के फरक पाउनुभयो ? 
म आफूलाई कलाकारको रूपमा उभ्याउँछु । निर्देशनचाहिँ जसोतसो मात्रै गर्छु । निर्देशक बन्न दूरदर्शी सोच चाहिन्छ भन्छन् । यी कुरा आफूसँग छैन जस्तो लाग्छ । मैले यसअघि नाटक निर्देशन गर्न कथा नभेटेको पनि होइन । तर, निर्देशन गर्नु र अभिनय गर्नुमा धेरै अन्तर हुन्छ । निर्देशक भनेको सबै पक्षमा नेतृत्व गर्नु हो ।

तपाईं नाटक र फिल्ममध्ये कुनमा बढी रमाउनुहुन्छ ? 
नाटकमा चाहिँ कम काम गर्छु भन्ने टिप्पणी पनि छ । तर, यसअघि मैले दुईवटा नाटक निर्देशन गरिसकेको छु । अब वर्षमा दुईवटासम्म नाटकमा काम गरौँ भन्ने लागेको छ । यसपटक ‘मासिन्या’को काम संयोगले गर्न पाएँ । निर्देशन गर्नु र अभिनय गर्नु फरक भए पनि काम गर्ने एउटै हो । त्यसैले पनि सँगै लैजाऊँ न भन्ने लाग्छ । मैले सिनेमामा धेरै काम गरेँ । दर्शकले मलाई मन पराइरहनुभएको पनि छ । तर, सिनेमामा भन्दा नाटकमा काम गर्दा बढी सन्तुष्ट हुन्छु । लामो समय नाटकमै काम गरेको भएर पनि हुन सक्छ । सिनेमाभन्दा बढी नाटकमा नै रमाउँछु । 

ad
ad