१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पाठ्यपुस्तक छपाइको काम धमाधम हुँदै, प्रधानमन्त्री कार्यालयले गर्‍याे अनुगमन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:४३:oo

चालू शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने भएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाइ सक्ने गरी काम भइरहेको जनाएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएपछि गत वर्ष युद्धस्तरमा छपाइ कार्य सम्पन्न भएर इतिहासमा नै पहिलोपटक सबै विद्यार्थीले भर्नासँगै पुस्तक पाएका थिए।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको अनुगमन टोलीसँग लिमिटेडका प्रबन्ध–निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको बताए । ‘छपाइका लागि आवश्यक कागज खरिद भइसकेको र छाप्ने काम पनि दुई सिफ्टमा सातै दिन, २४सै घन्टा चलिरहेको छ,’ झाले भने, ‘पुस्तक छपाइसँगै विभिन्न डिपोमा ढुवानी कार्यसमेत सँगै चलिरहेको छ।’

शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा एकदेखि चारसम्म निजी क्षेत्रका छापाखाना र कक्षा पाँचदेखि १२ सम्म जनक शिक्षाले छपाइ गर्ने निर्णय गरेसँगै प्रकाशनमा तीव्रता आएको हो। निजी क्षेत्रका छापाखानाहरूलाई समेत छनाेट गर्न पाठ्यक्रम विकास केन्द्रले टेन्डर आह्वान गरिसकेको छ। 

जनक शिक्षा लिमिटेडका अनुसार कक्षा पाँचदेखि १२ सम्म करिब एक करोड ७० लाख पुस्तक आवश्यक भएकोमा अब करिब ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकी छन्। केन्द्रले दैनिक ७० हजारदेखि ८० हजार प्रतिथानका दरले पुस्तक छपाइ र तयारी भइरहेको जनाएको छ। 

प्रधानमन्त्रीका जनसम्पर्कविज्ञ बुद्धि जिसी, स्वकीय सहसचिव गोकर्ण भट्ट, सहसचिव संगीता ओझालगायतको टोलीले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेको थियो। 

गत वर्ष पुसपछि मात्र कागज आएको भए पनि आवश्यक पाठ्यपुस्तक समयमै छाप्न सफल भएको बताउँदै झाले यो वर्ष पर्याप्त कागज भएकाले सहज भएको बताए। 

अनुगमन टोलीका सदस्य गोकर्ण भट्टले जनक शिक्षक सामग्री केन्द्र लिमिटेडको छपाइको गुणस्तर सुधार गर्नुपर्ने सुझाव दिइएको र अन्य नीतिगत विषयहरूसमेत हल गर्न शिक्षा मन्त्रालयसँग थप छलफल आवश्यक देखिएको जानकारी दिए । उनले भने, ‘केन्द्रको कार्य सन्तोषजनक भए पनि छपाइको गुणस्तरमा सुधार गर्नुपर्ने देखिएको छ।’ 

छापिएका पाठ्यपुस्तक सुरक्षित राख्न, कागज खेर नजाने गरी काम गर्न र छपाइमा गुणस्तर कायम गर्न केन्द्रलाई निर्देशन दिएको प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ जिसीले बताए।  

अनुगमन टोलीले छपाइ भइसकेका पाठ्यपुस्तकहरू गुणस्तर यकिन गरी समयमै सबै जिल्लामा पठाउनका लागि आवश्यक व्यवस्था मिलाउन पनि केन्द्रलाई निर्देशन दिएको छ।

ad
ad