वनजंगल जल्दै, सहरहरू तात्दै : सन् २०२४ मा पनि पृथ्वी तान्ने क्रम नरोकिने भनेर राष्ट्रसंंघ चिन्तित छ । गत जुलाईमा एक लाख वर्षयताको तापमान उच्च बिन्दुमा पुगेको थियो भने कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता हरितगृह ग्यासको लगातार उत्सर्जनले सिर्जित ग्लोबल वार्मिङ नरोकिँदा पृथ्वी तातो फलामे डल्लोजस्तो हुने त होइन भन्ने भय सर्वत्र व्याप्त छ । यतिखेर नै वैश्विक जनसंख्याको आधा भाग सहरमै बस्ने गरेको देखिन्छ । सहरहरूमा हुने भौतिक निर्माणले करिब २१ प्रतिशत कार्बन (स्टिलले ६ प्रतिशत र सिमेन्टले सात प्रतिशत) उत्सर्जन गर्ने देखाएको छ ।
सडक, रेलमार्ग, सुरुङ, विमानस्थलजस्ता भौतिक संरचना एवं मेट्रो सिटी, अग्ला भवन र अधिक सहरीकरणका कारण पनि सहरहरूको तात्ने रफ्तार बढेको छ । खासमा यी सहर निर्माण गर्दा स्थलगत इकोसिस्टम विनाश हुने, रुखबिरुवा, वनजंगल कटानी हुने, समुद्री किनारा र सिमसार क्षेत्र कंक्रिटमा परिणत हुनेजस्ता कारणका साथै बाक्लो जनसंख्यासमेत एकै ठाउँमा गुम्सिँदा मिथेन उत्सर्जनको थप समस्याले आधुनिक सहर तातो सहरमा रूपान्तरण भइरहेका छन् ।
वैज्ञानिकले यसलाई हिटिङ ‘आइल्यान्ड इफेक्ट’ (आगो ओकल्ने टापु) भन्ने गरेका छन् । यसमा छेउछाउको ग्रामीण क्षेत्रमा भन्दा बीच सहरमा तातोपन बढी महसुस भइरहेको हुन्छ र भित्री सहरका बासिन्दाले उखर्माउलो गर्मी महसुस गरेका हुन्छन् । यसको मूल कारण जब सौर्य ऊर्जालार्ई पृथ्वीको सतहले अवशोषण गर्छ, सो बखत कंक्रिट संरचनाले माटोले भन्दा ३२–४० गुणा बढी तापमान होल्ड गरी राख्ने भएकाले कंक्रिट सतह अति छिटै तात्छ ।
गत वर्ष बेइजिङमा सय वर्षपछिको तातोपन महसुस भयो । अहिले अप्रिलमै युरोप, अमेरिका, पूर्वी एसिया, बंगलादेश र भारतका थुप्रै सहरलाई तातो हिटवेभ (लु) ले लपेटेको छ । यतिखेर काठमाडौं वायु प्रदूषण एवं गर्मीकोे दोहोरो मार खप्दै छ भने वीरगन्ज, भैरहवा, धनगढीको तापमान ४२ डिग्री पार देखिएको छ । अझ वन–जंगलमा एकै दिन ३७१ स्थानमा आगलागी भएको छ । सहरहरू तात्ने क्रमसँगै वनजंगल र निकुञ्ज क्षेत्रमा पनि भयानक आगलागी भइरहेको छ ।
हाम्रा ठूला, मझौला वा साना सहरमा वैश्विक मापदण्डअनुरूप कमसेकम ३३ प्रतिशत क्षेत्र हरियाली हुने गरी सहरी वनको विकास गर्न सकेमा सहरको तातोपन घटाउन सकिन्छ
केही वर्षयताका तथ्यांक हेर्दा सहरमा पाँच डिग्री र वनजंगलमा दुई डिग्री सेल्सियससम्म तापमान बढेको छ । सहरहरू हिटिङ आइल्यान्डमा परिणत हुँदै जाँदा कुलिङ आइल्यान्ड मानिएका वनजंगल र निकुञ्जहरू पनि सुक्खाका कारण कतै उस्तै आगोका टापु बन्ने त होइनन् भन्ने गम्भीर चिन्ता पर्यावरणविदहरूले गरेका छन् ।
हिटिङ आइल्यान्डको निर्माण प्रक्रिया : करिना भान सुकमनलगायत सत्तरी वैज्ञानिकले पृथ्वीको सतहमा हुने अतिरिक्त तापमान संग्रहणबारे १७ माचर्, २०२३ को ‘अर्थ सिस्टम साइन्स डाटा’ (इएसएसडी) जर्नलमा एक महŒवपूर्ण शोध प्रकाशन गरेको देखिन्छ, । यसमा सन् १९६०–२०२० सम्म सौर्यबाट पृथ्वीमा आएको प्रकाश शक्ति रि–रेडिएसनबाट वायुमण्डलमा फिर्ता हुन नसकी अतिरिक्त रूपले पृथ्वीमै संग्रह भएकाले यही अतिरिक्त तापमानले जमिन, समुद्र, हिमक्षेत्र र वायुमण्डललाई थप तताएको बताइएको छ ।
यसले के देखाएको छ भने जब सौर्य प्रकाश रेडियसनमार्फत पृथ्वीमा आइपुग्छ, त्यसवेला पृथ्वीले २४० वाट प्रतिवर्गमिटरका दरले हिट इनर्जी अवशोषण गर्छ र यो शक्ति पृथ्वीकै सन्तुलन (जस्तो जिओथर्मल, बायोफिजिकल र इकोसिस्टम सन्तुलन) मा उपयोग हुने गरेकोमा विगत पचास वर्षयता भने मानव सिर्जित हरितगृह ग्यास उत्र्सजनका कारण +०.५ वाट प्रतिवर्गमिटरमा अतिरिक्त संग्रह भएको तापमानका कारण जमिन र समुद्र थप तातो भएको नयाँ तथ्य खुलाएको छ । सन् १९७१ देखि २००६ सम्म पृथ्वीमा २४०+०.५ वाट प्रतिवर्गमिटरमा जम्मा भएको तापशक्ति बढेर सन् २००६ देखि २०२० मा भने २४०+०.७५ वाट प्रतिवर्गमिटर हुन गएको छ । यो क्रमशः बढ्ने क्रममै देखिन्छ ।
यसरी नै द कन्भर्सेसन न्युजपेपरको २ मे २०२३ अंकमा एन्ड्र्यु किङ र स्टेभन सेरउडका अनुसार सौर्यबाट सन् १९६०–२०१८ सम्म कुल प्राप्त इनर्जी ३५८+३७ जेजुल परिमाण भएको देखिन्छ । यो परिमाण हिरोसिमा विस्फोटको ऊर्जाभन्दा २५ बिलियन गुणा बढी छ । यसरी प्राप्त भएको हिट इनर्जी समुद्रमा ९० प्रतिशत, जमिनमा पाँच प्रतिशत, हिमक्षेत्रमा चार प्रतिशत र वायुमण्डलमा एक प्रतिशत रहेको छ । नियमित तापमानसँगसँगै बढेको ३७ जेजुल अतिरिक्त तापशक्तिलाई अतिरिक्त कार्बनको मात्रा बढ्दाको कारण भनी यी दुवै अध्ययनमा देखाइएको छ । कार्बन उत्र्सजनको मात्रा घटोत्तरी गरी हालको ४१० पिपिएमबाट ३५० पिपिएममा ल्याउने हो भने रि–रेडिएसन दर बढ्न गई जमिनको अतिरिक्त वृद्धि तापमान (औसत ०.५ वाट प्रतिवर्गमिटर) घट्छ र ‘अर्थ इनर्जी ब्यालेन्स’ पचास वर्षअघिजस्तै पुनः सन्तुलनमा आउँछ । त्यसैले, वैज्ञानिकले जसरी भए पनि वायुमण्डलबाट कार्बन र मिथेनलगायत चालीस हरितगृह ग्यास घटाउन जोड दिइरहेका छन् ।
जसका लागि ग्लोबल डिकार्बनाइजेसन र नेट जिरो नीतिसहित पेरिस लक्ष्य १.५ डिग्री तोकिएको छ । ठूला सडक, विशाल पूर्वाधार, अग्ला भवन र सहर निर्माणमा प्रयोग हुने असफाल्ट (अलकत्रा), सिमेन्ट, स्टिल, प्लास्टिक, फलामजस्ता वस्तुबाट निर्मित संरचनाले हिट इनर्जी रिट्र्यापिङ (पुनः संग्रहण) गर्न जाँदा सहरहरू अतिरिक्त रूपले तात्दै गई हिट आइल्यान्डमा परिणत हुँदै गएको सहसम्बन्ध यहीँनेर जोडिएको देखिन्छ । सहरहरू हिटिङ आइल्यान्डमा परिणत हुनुमा निम्न चार कारण जिम्मेवार मानिन्छन् :
१) सहरभित्र रुख र हरियाली नहुनु : रुखले ‘इभापोट्रान्सपिरेसन’बाट वरपरको हावामा पानीजन्य आद्र्रता र शीतलता पैदा गर्छ, तर रुख एवं वनजंगल मासिँदा सहर शीतल हुन पाउँदैनन् र तात्छन् ।
२) सहरमा ‘इरेगुलर अर्बान जिओमेट्री’ र अग्ला एवं बहुतले भवन हुनु : यस्ता बहुतले भवनले ‘क्यानेइङ इफेक्ट’ पैदा गर्ने र हावाको गति घटाइदिने हुँदा तापमान बढ्छ । सिमेन्टजन्य संरचनाले सहरलाई भर्टिकल स्काई डेजर्ट (आकाशे मरुभूमि) मा रूपान्तरण गरेका छन् ।
३) सहरमा ‘वेस्टेज हिट’ पैदा हुने : सवारीसाधन, उद्योग कारखाना र एसी सञ्चालनका कारण सिर्जित हरितगृह ग्यासले स्थानीय तातोपन बढेको छ ।
४) सहरमा ‘नेचुरल ल्यान्डस्केप’ अभाव हुनु : सहरभित्र प्राकृतिक खोलानाला, सिमसार, पोखरी, घाँसे मैदान अभाव भएका कारण हावा ओहोरदोहोर गर्न नपाई तापमान बढेको छ ।
हरित सहरीकरण गर्दै ‘ओएसिस इफेक्ट’ बढाउने : अवैज्ञानिक पूर्वाधार बनोटले विश्वव्यापी रूपमा सहरकेन्द्रित तातोपन बढिरहँदा नेपालको सहरी वातावरण पनि अछुतो रहन सकेन । हामीले पनि नेपालका सहरभित्र ग्रामीण क्षेत्रभन्दा बढी तातोपना अनुभव गरिरहेका छौँ ।
काठमाडौं, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, विराटनगरजस्ता बढी जनघनत्व रहेका ठूला सिटीले पनि अचेल हिटिङ आइल्यान्ड इफेक्ट महसुस गरेका छन् । अहिले चितवन, पोखरा, काठमाडौं र मध्यपहाडमा ४२–४३ डिग्री र तराईका सहरमा ४५–४६ डिग्रीआसपास तापक्रम चढेको छ, साथै तातो लु पनि थपिएको छ ।
वास्तवमा यतिखेर हाम्रा सहरमा वायु प्रदूषणको मारसँगै फेरि तातोपनको समस्या थपिएको छ । ‘एक्युआई इन्डेक्स’ दुई सय अंक माथि जाँदा त संसारकै पहिलो वायु प्रदूषित सहरको सूचीमा काठमाडौंको नाम आएको छ । अब नेपालले पनि यी दुवैखाले (अर्बान एयर पोलुसन एन्ड अर्बान हिटिङ) समस्यासँग जुध्न सक्ने हरिया सहर निर्माणतिर जानुपर्छ ।
सहरी संरचना विकास गर्दा ग्रिन, कुल, वेट एन्ड लो कार्बन उत्सर्जन गर्ने सिद्धान्त अपनाउनुपर्छ । अब हाम्रा सहरलाई खैरोबाट हरियो, शीतल र जलवायुमैत्री बनाउनु जरुरी छ । संघीय सरकार, सातै प्रदेश र ७५३ स्थानीय सरकारले खासगरी ग्रिन सिटी (हरिया सहर) निर्माणको मापदण्ड, कानुन र सबैखाले नीतिगत प्रबन्ध गर्नुपर्छ । हरियो पूर्वाधार नीति कार्यान्वयन गर्दा हाम्रा ठूला, मझौला वा साना सहरमा वैश्विक मापदण्डअनुरूप कमसेकम ३३ प्रतिशत क्षेत्र हरियाली हुने गरी सहरी वनको विकास गर्नुपर्छ ।
सहरी प्रदूषण नियन्त्रण गर्न, जलवायु परिवर्तनका कारण बढिरहेको सहरी तापक्रम एवं हिटवेभसँग जुध्न, बाढी नियन्त्रण गर्न, भूमिगत जलस्रोतको सञ्चिति बढाउन एवं जैविक विविधता र इकोलोजिकल कनेक्टिभिटीसमेत अभिवृद्धि गर्न यी हरिया सहर सक्षम हुन्छन् । अब सहरभित्र जंगल, ग्रिनपार्क र मरुद्यान बनाउन ढिलो गर्नुहुँदैन । ओएसिस प्रभाव सकारात्मक हुन्छ । हिटिङ आइल्यान्ड इफेक्ट कम गर्न, वायु प्रदूषण न्यून गर्न र सहरको जलवायु उत्थानशील क्षमता अभिवृद्धि गर्न ओएसिस सिटीको डिजाइन गर्नुपर्ने भएको छ । सुसी पेङ (२०१२) ले ४१९ वटा ठूला सिटीमा गरेको अध्ययनले सहरी वातावरण सुधार्न ओएसिस प्रभाव अति सकारात्मक भएको देखाएको छ । यसका लागि यी उपाय नीतिगत र कार्यगत रूपमा लैजान उचित हुन्छ ।
क) ग्रिन स्ट्रिट तयार गर्ने, व्यापक रुखसहित सहरी वन/बगैँचा निर्माण गर्ने । यसले गर्दा सहरी वायु प्रदूषण न्यूनीकरण हुन्छ भने वायुमा पानी र आद्र्रता बढी शीतलता बढ्छ । साथै, परेको पानी रुखका जरा र जमिनमा बसी भूमिगत जलसतह बढ्ने हुनाले जमिन तात्न पाउँदैन र हिट आइल्यान्ड प्रभाव कम गर्छ । साथै पर्याप्त घाँस रोपणले ‘स्पन्जी इफेक्ट’ उत्पन्न गरी जमिन चिस्याउँछ । रुखको प्रजाति छनोट गर्दा सकभर स्थानीय, सदाबहार हरियो हुने, कार्बन शोषण धेरै गर्नेजस्ता प्रजाति छनोट गर्नुपर्छ ।
ख) सिमेन्ट, कंक्रिट, स्टिल र असफाल्ट प्रयोग नगर्ने । कंक्रिट र अलकत्राको सर्फेस अलबेडो शून्य भएकाले यसले सबै सौर्य प्रकाश अवशोषण गर्छ, हिट संग्रहण बढाउँछ, तसर्थ अलकत्रा एवं कंक्रिटयुक्त पूर्वाधार र पेभमेन्ट नबनाई माटो र दुबोको प्राकृतिक पेभमेन्ट बनाउनुपर्छ ।
ग) अर्बान आर्किटेक्टमा पुनः सुधार गर्ने, अग्ला घर नबनाउने र भवनमा रिफलेक्टिभ कोटिङ प्रयोग गर्ने । यस्ता रिफलेक्टिङ कोटिङले दुई डिग्रीसम्म तापमान कम गर्ने हुँदा यसको प्रयोगसँगै सहरहरू अग्र्यानिक सामग्रीबाट निर्माण गर्ने ।
घ) प्रत्येक भवन, घर र नागरिकलाई रुफ गार्डेन र ग्रिन टप निर्माणमा बढावा दिने ।
ङ) सहरभित्रका प्राकृतिक ल्यान्डस्केप संरक्षण गर्ने, खुलास्थान बढाउने, नदीनाला, तालतलैया, मन्दिर पौवा संरक्षणलाई अँगाल्ने ।
च) उचित रूपले फोहोर व्यवस्थापन गर्ने । ‘थ्री आर’ (रिड्युस, रियुज र रिन्यु) नीति लिने, इलेक्ट्रिक भेइकल बढी प्रयोग गर्ने ।
छ) सहरवरपरको वनजंगल, निकुञ्ज या आरक्षमा आगलागी हुन नदिन सक्रिय वन व्यवस्थापन गर्ने साथै वरपरका नदीनाला, तालतलैया र चिस्यान क्षेत्र संरक्षण गर्ने ।
(घिमिरे वन तथा भूसंरक्षण विभागमा कार्यरत छन्)