१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकामा सवारी दुर्घटना : ६ महिनामा ८८ को मृत्यु 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o७:oo

गत पुस २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका– ४ पानीघाटनजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँचजनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौंको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उनका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियांश गौतम र छोरी स्मारिका गौतमको ज्यान गयो ।

बाटोको दुरवस्था र घुम्तीका कारण उक्त दुर्घटना भएको जनाइएको छ । लामो समयदेखि काठमाडौंबाट मकवानपुरको चित्लाङ जाने बाटो भए पनि अहिलेसम्म उक्त बाटो कालोपत्रे हुन सकेको छैन । यस्तै, गत वर्ष फागुन २४ गते साँझ काठमाडौंको शंखरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा  ५० वर्षीय सञ्चारकर्मी पवनलाल श्रेष्ठको ज्यान गयो ।

साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट बह्मखेल जाँदै गरेको बा.५ख २४१४ नम्बरको टिपरले सञ्चारकर्मी श्रेष्ठले चलाएको बा.९४प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो । उनी राष्ट्रिय समाचार समिति (रासस)का पूर्वसमाचारदातासमेत थिए । 

सोही दिन सोही टिपरको ठक्करबाट साँखुका २२ वर्षीय हरि खड्काको समेत ज्यान गयो । खड्काले चलाएको बा.८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । माथि उल्लेखित घटना प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्लो समय काठमाडौं उपत्यकाभित्र सवारी दुर्घटनाका कारण बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् । आफूले ठीक ढंगबाट सवारीसाधन चलाउँदाचलाउँदै पनि अर्को सवारीसाधनका कारण अकालमा ज्यान गुमाउनुपरेको इतिहास छ । यस्तै, जथाभावी सवारीसाधन चलाउनु र बाटो काट्नुले पनि सवारी दुर्घटना बढेको पाइन्छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म पाँच हजार आठ सय ६५ सवारी दुर्घटना हुँदा ८८ जनाले अकालमै ज्यान गुमाउनुपरेको छ । यस्तै, एक सय ४८ जना गम्भीर घाइते भएका छन् भने चार हजार चार सय ३८ जना सामान्य घाइते भएका छन् ।

काठमाडौं उपत्यकामा सवारीसाधन दुर्घटनाको अवस्था कहालीलाग्दो छ । काठमाडौं उपत्यकामा सवारीसाधन दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलचालक र पैदलयात्रु बढी छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौला काठमाडौं उपत्यकाभित्र जथभावी ढंगले दुईपांग्रे सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको बताउँछन् । ‘उपत्यकाभित्र मोटरसाइकल तथा स्कुटर जथाभावी कुँदाउने र पैदलयात्रुले पनि जथाभावी ढंगले बाटो काट्दा बढी दुर्घटना भएको देखिन्छ,’ उनी भन्छन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारीसाधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछन् । ‘दुर्घटनालाई कम गर्न मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतीमा सवारीसाधन चलाउन नपाइने नियम, सवारीसाधनको स्थिति जाँच, लामो दूरीका सवारीसाधनमा दुई चालक छन् या छैनन् लगायत विषयलाई विशेष निगरानी गर्दै आएका छौँ,’ उनी भन्छन् । साँघुरो बाटोमा तीव्र गतीमा सवारी चलाउँदा दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ ।

ट्राफिक प्रहरीले चालू आवमा विभिन्न कसुरमा चार लाख ५० हजार सात सय २९ सवारीसाधनलाई कारबाही गरेको छ । जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १८ हजार ६ सय २७ चालकलाई कारबाही गरेको छ । यस्तै, लेन अनुशासनमा २९ हजार चार सय दुई, तीव्र गतिमा ६१ हजार आठ सय ४३, रातो बत्तीमा १३ हजार तीन सय सात, फुटपाथ सडक पार्किङमा ५९ हजार आठ सय ५७, बढी भाडामा दुई सय १४, नो हर्नमा ६ हजार दुई सय ७०, ओभरलोडमा तीन हजार तीन सय ३७ सवारीसाधनलाई कारबाही गरेको छ ।

मुलुकभर सवारी दुर्घटना बढेपछि सरकारले यातायात क्षेत्रको समग्र अवस्थाबारे अध्ययन गर्न नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ‘यातायात सुधार सुझाव कार्यदल’ निर्माण गरेको थियो ।

उक्त कार्यदलले झन्डै एक वर्ष लगाएर मुलुकको यातायात क्षेत्रको समग्र अवस्थाबारे अध्यययन गरेर सरकारलाई सुझाव हस्तान्तरणसमेत गरिसकेको छ । उक्त कार्यदलको प्रतिवेदनअनुसार सडक यातायात दुर्घटनाको प्रमुख जोखिम क्षेत्र नै हो । नेपालमा प्रत्येक वर्ष करिब तीन हजार सर्वसाधारणको सवारी दुर्घटनामा परी ज्यान जाने गरेको प्रतिवेदनले औँल्याएको छ ।

प्रत्येक दिन नेपालमा औसत आठजनाको मृत्यु दुर्घटनाबाट भएको प्रतिवेदनमा उल्लेख छ । सडक दुर्घटनामा सबैभन्दा बढी कम उमेर समूह १५ देखि २९ वर्षसम्मका सर्वसाधारणको ज्यान जाने गरेको तथ्य पनि प्रतिवेदनमा छ । दुर्घटनामा संलग्न सवारीसाधनमा मोटरसाइकलको हिस्सा सबैभन्दा धेरै ५०.७२ प्रतिशत छ ।

दुर्घटनावाट मृत्यु हुनेमा युवा समूह बढी रहेको उक्त तथ्यांकले पुष्टि गरेको छ । नेपालमा बर्सेनि सडक दुर्घटनामा परी घाइते हुनेको संल्या ११ हजारभन्दा बढी रहेको छ । उक्त संख्या प्रत्येक वर्ष वृद्धि भइरहेको प्रतिवेदनले औँल्याइएको छ । काठमाडौं महानगरपालिकाका यातायातविज्ञ जगतमान श्रेष्ठ ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउँछन् । ‘चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुने गरेका छन्,’ उनी भन्छन् । 

काठमाडौं उपत्यकामा भने साँघुरो बाटो र तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको उनकाे भनाइ छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौं उपत्यकाभित्र (काठमाडौं, भक्तपुर र ललितपुर) को सवारी व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा एक हजार आठ सय ट्राफिक प्रहरी परिचालित छन् । हाल देशभर ४० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र झन्डै १८ देखि २० लाख सवारीसाधन सञ्चालनमा रहेको तथ्यांक छ ।

ad
ad