Skip This
तीन महिनामा १३ सय एनआरएनले लिए नेपाली नागरिकता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ११ बिहीबार
  • Saturday, 27 July, 2024
नवराज मैनाली काठमाडाैं
२o८o माघ ११ बिहीबार o६:o५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तीन महिनामा १३ सय एनआरएनले लिए नेपाली नागरिकता

उपत्यकाका तीन जिल्लाबाट मात्रै करिब ६ सय नागरिकता वितरण

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ ११ बिहीबार o६:o५:oo

तीन महिनाको अवधिमा एक हजार तीन सयभन्दा धेरै गैरआवासीय नेपालीले नेपाली नागरिकता लिएका छन् । उपत्यकाका तीन जिल्लाबाट मात्र करिब ६ सयले यस्तो नागरिकता लिएका छन् । 

गत २० असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई एनआरएनलाई नागरिकता दिएर गैरआवासीय नेपालीलाई नागरिकताको सुरुवात गरेका थिए । त्यसयता गृह मन्त्रालयका अनुसार ७ माघसम्म देशभरका जिल्ला प्रशासन कार्यालयबाट एक हजार ३२८ वटा एनआरएन नागरिकता जारी भएका छन् । 

थानेश्वर गौतम सहसचिव, गृह मन्त्रालय
तीन महिनामा एक हजार तीन सय भन्दा धेरै गैरआवासीय नेपालीलाई नागरिकता वितरण भइसकेको छ । सबैभन्दा धेरै उपत्यकाका जिल्लाबाट जारी भएको छ । 

एनआरएन नागरिकता उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट धेरै जारी भएको गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले बताए । सबैभन्दा धेरै काठमाडौंबाट चार सय ४३ जनाले यस्तो नागरिकता लिइसकेका छन् । ललितपुरबाट ८६ र भक्तपुरबाट ५३ जनाले नागरिकता लिएको विवरण छ ।

गैरराजनीतिक अधिकारसहितको नेपालमा पहिलोपटक एनआरएन नागरिकता दिन थालिएको हो । ०७२ सालमा जारी संविधानमै यससम्बन्धी प्रावधान भए पनि बल्ल कार्यान्वयन थालिएको हो । सरकारले नागरिकता ऐन र नियमावली संशोधन गरी एनआरएनलाई नागरिकता दिन थालेको हो ।

नागरिकता ऐनको दफा ७ मा गैरआवासीय नेपालीलाई नागरिकतासम्बन्धी प्रावधान छ । ऐनको ७ (क) १ मा, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने’ उल्लेख छ । 

यस्तो नागरिकता पाउनेले मतदान गर्न तथा राजनीति गर्न भने पाउनेछैनन् । साथै, सरकारी–सार्वजनिक पदमा पनि बस्न नमिल्ने कानुनी प्रावधान छ । व्यवसाय गर्न पाउनुका साथै उनीहरूलाई सम्पत्ति भने दुवै देशमा राख्न पाउने यो नागरिकताले दिन्छ । 

नियमावलीले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने प्रक्रिया र मापदण्ड प्रस्ट पारेको छ । निवेदन दिने व्यक्ति वा उसको आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ । तर, विगतमा अन्य देशको नागरिकता लिँदा धेरैले नेपालको नागरिकता पनि कायम गरेको हाल नागरिकता लिने क्रममा खुलेको छ । ‘अन्य देशको नागरिकता लिँदा ९० प्रतिशतले विगतमा नेपालको नागरिकता त्याग गरेको देखिएन,’ जिल्ला प्रशासन कार्यालय, काठमाडौंका एक अधिकारीले भने । 

एनआरएन नागरिकता प्राप्त गर्न विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण चाहिने प्रावधान छ । तर, धेरैले हालै मात्र त्याग गरेको विवरण पेस गरेका छन् । जब कि विदेशी नागरिकता भने वर्षाैँअघि लिएका छन् । 

एनआरएन नागरिकताका लागि नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पनि आवश्यक हुने र शपथ गराउनुपर्ने प्रावधानसमेत ऐन र नियमावलीमा छ । यस्तो नागरिकता लिएका व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहितविपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत छ ।