१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

व्यवसाय जोगाउन सरकार गुहार्दै इँटा व्यवसायी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३५:oo

बजारमा इँटाको माग न्यून हुँदा रुपन्देहीको इँटा उद्योग धराशायी हुने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् । लुम्बिनी इँटा उद्योग व्यवसायी संघले भैरहवामा पत्रकार सम्मेलन गरी व्यवसाय जोगाउनमा सहयोग गर्न सरकारसँग आग्रह गरेको छ । 

बैंकको चर्को ब्याज, स्थानीय तहहरूको मनपरी तरिकाको कर, कच्चा पदार्थको अभावलगायत समस्याका कारण इँटा उद्योग धराशायी अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग–व्यवसायी संघका अध्यक्ष अजयकुमार गुप्ताले बताए । विगतका महिनाजस्तै पुसमा पनि उद्योगीहरू निराश हुनुपरेको उनको भनाइ छ । 

आर्थिक मन्दीका कारण रुपन्देहीमा रहेको ५२ वटा इँटा उद्योगमध्ये २५ प्रतिशत पनि सञ्चालनमा आउन नसकेको गुप्ताले बताए । ‘अहिले जिल्लामा करिब आठ करोड गोटा मात्र इँटा मौजदात छन्,’ उनले भने, ‘यसपटक रुपन्देहीको हिरा इँटा उद्योग, एभरेस्ट इँटा उद्योग र जेएम इँटा उद्योगले मात्र उत्पादनका लागि प्रक्रिया सुरु गरेका छन् ।’ लामो समयसम्म तराईमा घाम नलागेका कारण उत्पादन गर्न सुरसार गर्ने उद्योगहरूले पनि उत्पादन गर्न नपाएको गुप्ताको भनाइ छ । चलेका इँटा उद्योगहरू पनि ५० प्रतिशतभन्दा कम उत्पादन गर्ने अवस्था रहेको उनले बताए । अहिले समग्र उद्योगीहरूको आर्थिक चक्र नै प्रभावित बनेको गुप्ताको भनाइ छ । 

सरकारले मूल्यअभिवृद्धि करमा लाग्ने हर्जाना तथा स्थानीय तहले बढाएका विभिन्न कर हटाइदिन पनि उद्योगीहरूले सरकारसँग आग्रह गरेका छन् । संघका महासचिव दीपक पौडेलले भएका मौज्दात इँटाहरू बैंकहरूको दबाबका कारण सस्तोमै बेच्नुपरिरहेको बताए । आठदेखि १० वटा इँटा उद्योगहरू लिलामीमा चढेको उनले बताए । प्रत्येक वस्तुको बिमा हुने गरे पनि सरकारको नीतिका कारण काँचो इँटाको बिमा नहुने हुँदा बर्सेनि करोडौँ रुपैयाँको नोक्सानी व्यहोर्दै आएको नेपाल इँटा उद्योग–व्यवसायी महासंघका सल्लाहकार हरिप्रसाद अधिकारीले बताए । 
 

ad
ad