१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:१४:oo

भरतपुर महानगरपालिकाले विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद गरेर नष्ट गरेको छ। बुधबार भरतपुरका विभिन्न विद्यायल क्षेत्रमा अनुगमन गरेर सुर्तीजन्य पदार्थ बरामद गरी नष्ट गरिएको हो।

नागरिकको गुनासो र उजुरीका आधारमा विद्यालय क्षेत्रका पसलमा अनुगमन गरिएको भरतपुर महानगरपालिका उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत थानेश्वर सापकोटाले बताए। 

विद्यालय र स्वास्थ्य कार्यालयको वरपर सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने भएकाले अनुगमन गर्दै कडाइका साथ कार्यान्वयन गराइने उनले बताए। अनुगमन टोलीले भरतपुर– १ पोखरा बसपार्कस्थित आदिकवि भानु मावि, रामनगरस्थित रामनगर मावि र भरतपुर– २९ स्थित जुगेडी मावि वरपरका पसलमा अनुगमन गरेको थियो। 

अनुगमनका क्रममा विद्यालय क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्ने गरेको भेटिएपछि चुरोट, सुर्ती, गुड्खा जफत गरी नष्ट गरिएको अधिकृत सापकोटाले जानकारी दिए।

उनले विद्यालय क्षेत्रबाट एक सय मिटरभित्र पर्ने किराना र होटलमा सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने बताए। सुर्तीजन्य पदार्थ बरामद गरेपछि पसल सञ्चालकलाई सचेत पनि गराइएको सापकोटाले बताए।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ को दफा ११ को उपदफा ३ मा शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने व्यवस्था छ। विद्यालय नजिकको पसलमा विद्यार्थीको पहुँच हुने भएकाले विद्यालयबाट सय मिटर आसपासका पसलमा सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाइएको हो।

यस्तै, अनुगमन टोलीले नारायणगढको लायन्सचोकस्थित भैँसी र राँगाको मासु बिक्री गर्ने दुई पसल पनि बन्द गराएको छ। सडकनजिकै बिक्रीका लागि खुला रूपमा मासु राखिएकाले बन्द गराइएको भरतपुर महानगरको कार्यपालिका सदस्य गोपाल दराईले बताए। 

ad
ad