१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १३:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुगुका यार्सापाटन जेठ १५ देखि खुला गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:o३:oo

मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा रहेका पाटन क्षेत्र यार्चागुम्बा संकलनका लागि जेठ १५ देखि प्रवेश खुला गरिने भएको छ। जेठ १५ गतेबाट पाटन क्षेत्रमा यार्सा संकलन सुरु गर्ने निर्णय भएको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ।

जिल्लाबाहिरकालाई प्रतिव्यक्ति दुई  हजार पाँच सय र जिल्लावासीलाई प्रतिव्यक्ति दुई हजार यार्सा संकलन प्रवेश शुल्क निर्धारण गरिएको छ। गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाका अनुसार प्रवेश शुल्क नतिरेर लुकीचोरी यार्सा टिप्ने जोलाई कारबाही गर्ने निर्णय पनि पालिकाले गरेको छ।

चैतदेखि पाटनमा यार्सा उम्रिन सुरु हुने र जेठबाट स्थानीयले टिप्ने गरेको स्थानीयको भनाइ छ। गर्मीले पाटन क्षेत्रमा हिउँ पग्लिँदै जाने भएकाले यार्साको टुसामाथि जमिनमा देखिन थालेपछि टिप्न सजिलो हुने हुन्छ।

मुगुका पाटन क्षेत्रहरूमा उम्रिने यार्सा संकलन गर्न जिल्लाबाहिर र जिल्लाभित्रबाट हजारौँ संकलक पाटन पुग्ने गरेका छन्। छोटो समयमा यार्सा संकलनबाट राम्रो आम्दानी हुने भएकाले कार्मारोङ गाउँपालिकासहित मुगुका अन्य पालिकाबाट समेत बालबालिकादेखि वृद्धवृद्धासम्म पाटन उक्लिने गर्छन्।

पाटनमा डेढ महिनासम्म यार्सा टिपेर स्थानीय फर्किने गरेका छन्। गत वर्ष मुगुको पाटन क्षेत्रमा अत्यधिक मात्रामा यार्सा पाइए पनि यो वर्ष हिउँ कम परेको र खडेरीका कारण यार्सा कमै पाइने स्थानीयहरू बताउँछन्।

मुगुको पाटन क्षेत्रमा पाइने यार्सा प्रतिगोटा पाँच सयदेखि एक हजारसम्ममा बिक्री हुने गरेको छ। यार्सा संकलन क्षेत्रमा चोरी–डकैती, लुटपाट नहोस् भन्ने हिसाबले जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी खटाउँदै आएको छ। यार्सा संकलकको स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीहरूसमेत खटिने गरेका छ्न्।

मुगुम कार्मारोङ गाउँपालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाके, हाङदाङखोला, छापाखोलालगायत दुई दर्जन पाटनहरूमा बढी यार्सा पाइने गरेको छ।

यार्सा टिप्न कार्णालीका १० वटै जिल्ला र देशका अन्य जिल्लाहरू बाजुरा, अछाम, बझाङ, पोखरा, मनाङ, मुस्ताङ, सिन्धुपाल्चोकबाट पनि मान्छेहरू पाटनमा पुग्ने गर्दछन्। संकलकहरूबाट यार्सा खरिद गर्न काठमाडौं, पोखरा, बझाङ, डोल्पाबाट व्यापारीहरू हेलिकाेप्टरमै पाटन आउने गरेका छन्।

गत वर्ष लुकिछिपी यार्सा टिप्न पाटन क्षेत्रमा पुगेका तीनजना संकलकको हिउँ पहिरोमा परी मृत्यु भएको थियो।

ad
ad