१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
टेकराज थामी काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १४:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

काठमाडौंको थलीमा घर भाडामा लिएर अवैध मदिरा कारखाना सञ्चालन, नौ पक्राउ

Read Time : < 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:२o:oo

काठमाडौंको मनोहरा नगरपालिका थलीमा एक घर भाडामा लिएर अवैध मदिरा कारखाना सञ्चालन गरिएको पाइएको छ । प्रहरीले अवैध गतिविधिमा संलग्न नौजनालाई पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वदेशी र विदेशी ब्रान्डका नक्कली रक्सी बनाउने कारखाना फेला पारेको हो । कारखानामा विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका मदिरा नक्कली रूपमा उत्पादन भइरहेका थिए । 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ५ थलीस्थित भरत थापाको दुईतले पक्की घर भाडामा लिएर विनोदकुमार कार्कीले मदिरा कारखाना चलाइरहेका थिए । प्रहरीले विशेष सूचना पाएपछि बुधबार छापा हान्दा ठूलो परिमाणमा मदिरा बनाउन, प्याकिङ गर्न, लेबलिङ गर्न प्रयोग गरिने सामानहरू फेला परे । 

प्रहरीका अनुसार सो क्रममा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा फेला पारेको छ । यस्तै, मदिरा बनाउन प्रयोग गरिने सामानहरू, सगुन ब्रान्डका मदिरा पदार्थ, चिनी–पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजस्व विभागको अन्तःशुल्कको स्टिकरहरू, लेबलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरूलगायत अन्य विभिन्न सामग्री फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले विनोद कार्कीसमेत नौजनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका कार्कीसँगै मनोज खत्री, महेश खत्री, मनीष खत्री, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ र लेखविक्रम थापा तथा काठमाडौं घर भएका सुमन नगरकोटी छन् ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न ब्रान्डका गणस्तरहीन नक्कली मदिरा प्रचलित दरभाउभन्दा कम मूल्यमा बेचबिखन गर्दै कालोबजारीसमेत गर्ने गरेका थिए । 

ad
ad