१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o७:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कालिञ्चोकमा हिमपात, होटेल व्यवसायी र किसान उत्साहित  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:३२:oo

प्रसिद्ध तीर्थस्थल दोलखाको कालिञ्चोक क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको छ। यो वर्षकै पहिलोपटक हिमपात भएपछि दोलखाका उच्च हिमाली क्षेत्रका किसान र कुरी उपत्यकाका होटेल व्यवसायी खुसी भएका हुन् । हिमपातले चिसो बढाए पनि धार्मिक आस्थासँगै हिउँको आनन्द लिन दोलखा आउनेहरूमा उत्साह थपिएको स्थानीय बासिन्दा बताउँछन् ।

मंगलबार मध्याह्नदेखि परेको हिमपात लगातार भइरहेको स्थानीय होटेल व्यवसायी डम्बरबहादुर तामाङले जानकारी दिए । कालिञ्चोकसँगै दोलखाका उच्च हिमाली क्षेत्रमा सुरु भएको हिमपातले किसानमा समेत उत्साह थपिएको छ । यो समय त्यस क्षेत्रका किसानका लागि मुख्य आलुखेती गर्ने समय हो । लामो समयदेखि वर्षा र हिमपात नहुँदा चिन्तित बनेका किसानसमेत उत्साहित बनेका छन् । 

दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमिटरको दूरीमा रहेको कालिञ्चोक ३,८४२ मिटरको उचाइमा रहेको छ । हरेक वर्ष पुसदेखि चैतसम्मै हिमपात हुने कालिञ्चोकमा पर्यटकहरू धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका लागि पुग्ने गर्छन् । चरिकोटबाट कुरीसम्म कच्ची प्रकृतिको सडक रहेको कालिञ्चोकमा उपत्यकाबाट अत्यधिक पर्यटक पुग्ने गरेको स्थानीय होटेल व्यवसायी चन्द्रकुमार लामाले जानकारी दिए ।

लामाका अनुसार हिमपातपछि स्की खेल खेल्न र मनोरम दृश्य अवलोकनसहित मन्दिर दर्शन गर्न धेरैजसो युवायुवतीले कालिञ्चोक क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेका छन् । त्यसबाहेक अन्य धार्मिक पर्यटक पनि हिमपात भएको वेला मन्दिर पुग्न रुचाउने गरेको त्रिपुरा रिसोर्ट कुरीका सञ्चालकसमेत रहेका व्यवसायी लामाको भनाइ छ । 

कालिञ्चोकको मुख्य आकर्षण भनेको टाकुरोमा रहेको कुण्ड हो । अग्लो टाकुरोमा सधै जलयुक्त कुण्ड हुनु कालिञ्चोकको मुख्य विशेषता भएको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन् । कालिञ्चोकमा पुग्ने पर्यटकहरूले आफ्नो मनोकामना पूरा होस् भन्दै घन्टा र त्रिशुूल चढाउने गर्दछन् । यो मन्दिरमा एउटा मात्रै वरदान माग्दा पूरा हुने जनविश्वास रहेको छ ।

विगतमा उपत्यका र दोलखा तथा आसपासको जिल्लाबाट मात्र पर्यटक पुग्ने गरेको कालिञ्चोकमा अहिले तराई तथा भारतीय दर्शनार्थीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको दिकी होटेल प्रा.लि.का सञ्चालक डम्बरबहादुर तामाङले बताए । विशेषगरी शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने दोलखामा हिमपात भएपछि पर्यटकको संख्यामा वृद्धि हुने होटेल सञ्चालक तामाङको भनाइ छ । कालिञ्चोकमा सडकमार्ग सकिएलगत्तै कुरीबाट केबलकारको समेत सुविधा रहेकाले पर्यटकलाई मन्दिरसम्म पुग्न सहज छ । 

ad
ad