१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चौधरी ग्रुपअन्तर्गतका कम्पनीले एक वर्षमा तिरे १६ अर्ब १४ करोड कर

राज्यको कुल राजस्वमा चौधरी ग्रुपको योगदान १.८७ प्रतिशत, व्यावसायिक ग्रुपबाट तिरेको करलाई एकमुस्ट गणना गरी सरकारीस्तरबाटै सार्वजनिक गर्ने व्यवस्था मिलाउन आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:१६:oo

चौधरी ग्रुपअन्तर्गतका कम्पनीहरूले एक वर्षमै १६ अर्ब रुपैयाँ कर बुझाएका छन् । आफूअन्तर्गतका खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तीय क्षेत्र, अटोमोबाइल्स, शिक्षा, पूर्वाधार एवं न्यु टेक्नोलोजीलगायत क्षेत्रका कम्पनीले आर्थिक वर्ष ०७९/८० मा १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको चौधरी ग्रुपले जानकारी गराएको छ । 

ग्रुपको लगानी रहेका नबिल बैंक, मेघौली सेराई रिसोर्ट, सिजी ब्रुअरी, सिजी फुड्स, सिजी सिमेन्ट, सिजी इलेक्ट्रोनिक्सलगायत कम्पनीले धेरै कर बुझाएका छन् । ग्रुपअन्तर्गतका कम्पनीले बुझाएको कर सरकारको कुल राजस्वको १ दशमलव ८७ प्रतिशत हुन आउने ग्रुपको दाबी छ । 

चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको हुन सक्ने ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले बताए । पौडलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ, अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने उच्च रहेको छ ।’

राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा सन्तोष लागेको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बताए । ‘हामीले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेका छौँ र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्नेछ भन्नेमा हाम्रो विश्वास छ,’ उनले भने । अध्यक्ष चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजस्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने बताए । यस्तो सोचबाट राजस्वको अपेक्षित वृद्धिदर हासिल भई राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुने उनको भनाइ छ । 

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष ०७५/७६ मा ११ अर्ब ६७ करोड, ०७६/७७ मा नौ अर्ब ८७ करोड, ०७७/७८ मा १४ अर्ब २८ करोड, ०७८/७९ मा १७ अर्ब ७२ करोड र ०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको विज्ञप्तिमा उल्लेख छ  । 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले ग्रुपले नेपाललाई प्राथमिकतामा राखेर खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तीय क्षेत्र, अटोमोबाइल्स, शिक्षा, पूर्वाधार एवं न्यु टेक्नोलोजीसम्ममा तीव्र गतिमा लगानी विस्तार बताए । ‘हाम्रो ग्रुप एक सय ५० वर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ । र, हामी नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेका छौँ । यसबाट देशको समावेशी विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने ।

नेपालमा व्यावसायिक ग्रुपहरूले सरकारको राजस्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने परिपाटी नहुँदा चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजस्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको प्रवक्ता पौडेलले बताए । ‘करदाताका रूपमा व्यवसायमार्फत भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । 

यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यो द्विविधालाई अन्त्य गर्न र आफूले राजस्वमा गरेको योगदानलाई आमजनमानसबीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यावसायिक ग्रुपको सामाजिक उत्तरदायित्वका हिसाबले चौधरी ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गर्छ ।’ व्यावसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याइएको योगदानको वास्तविक तथ्य आमजनमानससमक्ष राख्न सरकारीस्तरबाटै व्यावसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउनका लागि ग्रुपले आग्रह गरेको छ । 

ad
ad