१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o७:११:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसियन कप फुटबल : बहराइनमाथि दक्षिण कोरियाको जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:११:oo

 एसियन कप फुटबल प्रतियोगितामा उपाधि दाबेदार दक्षिण कोरियाले सोमबार बहराइनमाथि ३–१ को सानदार जित निकालेको छ । कतारको दोहामा जसिम विन हमाद रंगशालामा दक्षिण कोरियाले बहराइनमाथि पूरै समय दबाबमा राखेको थियो । समूह ‘ई’मा दक्षिण कोरियाले तीन अंक बटुल्दा पहिलोमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

बहराइनले दक्षिण कोरियालाई खेलको ३८औँ मिनेटसम्म गोलरहित बराबरीमा रोकेको थियो । खेलको ३९औँ मिनेटमा इन वियोम ह्वाङले दक्षिण कोरियालाई १–० को अग्रता दिलाए । उनले डिबक्सभित्र बायाँ खुट्टाले गोल गरेका थिए । पहिलो हाफमा दक्षिण कोरिया एक गोलमै सीमित भयो । 

मध्यान्तरपछि बहराइन खेलमा फर्कियो । दक्षिण कोरियाले दोस्रो हाफको सुरुवात क्रममा बहराइनलाई हल्का रूपमा लिएको पिथयो । खेलको ५१औँ मिनेटमा बहराइनले एक–एकको बराबरी गोल फर्कायो । अब्दुल्लाह अलले डिबक्समा सहजै गोल गर्दा दक्षिण कोरिया निराश भयो । बराबरी गोलसँगै दक्षिण कोरियाले रणनीति परिवर्तन गरेको थियो । 

आक्रामक र सटिक पासमा दक्षिण कोरियाले बहराइनमाथि दबाब राख्यो । बहराइनको बराबरी केवल पाँच मिनेटसम्म मात्र रह्यो । खेलको ५६औँ मिनेटमा काङ इन लिनले दक्षिण कोरियालाई २–१ को स्थितिमा राखे । व्यावसायिक रूपमा लिन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग आबद्ध छन् । उनले बुन्डेस लिगमा आबद्ध किम मिनको सटिक पासमा गोल गरेका हुन् । खेलको ६९औँ मिनेटमा ह्वाङले व्यक्तिगत दोस्रो गोल गर्दा दक्षिण कोरिया ३–१ ले अगाडि रह्यो । यद्यपि, यसपछि दक्षिण कोरियाले कुनै थप गोल गर्न सकेन । खेलको अन्तिम आठ मिनेटको इन्जुरी समयमा बहराइनले रक्षात्मक खेल प्रस्तुत गरेको थियो । 

इन्जुरी समयमा दक्षिण कोरियाका कप्तान सोङ हेङले सहज गोल अवसर चुकाएका थिए । डिबक्सभित्र उनले बल नियन्त्रणमा लिन नसक्दा गोल गर्न सकेनन् । इंग्लिस क्लब टोटनह्यामबाट व्यावसायिक फुटबल खेल्ने सोङले पहेँलो कार्ड पाएका थिए । उनले विपक्षी खेलाडीले लडाएको भनी पेनाल्टी अपिल गरेका थिए । यद्यपि, उनी डिबक्सभित्र बहराइनका खेलाडीले टच गरेका थिएनन । जितसँगै तीन अंक जोडेको दक्षिण कोरिया शीर्ष स्थानमा छ । हारबाट प्रतियोगिताको सुरु गरेको बहराइन तालिकाको पुछारमा छ । यो समूहमा दक्षिण कोरिया र बहराइनसँगै जोर्डन र मलेसिया छन् ।

ad
ad