Skip This
प्रधानमन्त्री एकदिवसीय कप : रासिदको कीर्तिमानी शतकमा पुलिस विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
बागमतीविरुद्ध शतक प्रहार गरेपछि रासिद खान । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार o७:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री एकदिवसीय कप : रासिदको कीर्तिमानी शतकमा पुलिस विजयी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o७:३१:oo

नेपाल पुलिस क्लबका रासिद खानले प्रधानमन्त्री कप (पिएम) एकदिवसीय क्रिकेट प्रतियोगितामा शतकीय इनिङ्स खेलेका छन् । प्रतियोगिताको पहिलो दिनमै रसिदले शतकीय योगदान दिँदा पुलिसले बागमती प्रदेशलाई ६८ रनले हरायो । त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको पुलिसले ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८२ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा बागमतीले ४२.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १४ रन मात्र जोड्न सक्यो । 

सातौँ नम्बरमा ब्याटिङ गरेका रासिदले १ सय १२ बलमा ९ चौका र ६ छक्काको सहयोगमा १ सय ६ रन जोडे । उनले पुलिसको ब्याटिङमा अविजित शतक लगाएका हुन् । प्रधानमन्त्री कप क्रिकेटमा सातौँ नम्बरका ब्याटिङ गरी शतक लगाउने उनी पहिलो खेलाडी हुन् । साथै, आफ्नो क्रिकेट करिअरमा उनले पहिलो व्यक्तिगत शतक पनि लगाउन सफल भए । पुलिस इनिङ्सको एक समय ७२–५ को दयनीय अवस्थामा थियो । रासिद र आरिफ शेखले छैटौँ विकेटका लागि एक सय २० रनको साझेदारी गर्दै पुलिसलाई बलियो स्थितिमा पुर्‍याए । 

यी दुवै ब्याट्सम्यानले पुलिसलाई ४०.५ ओभरमा १९२–६ को स्थितिमा राखे । आरिफले ६६ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ५७ रन जोडेका थिए । ओपनर सुनिल धमलाले ३४ बलमा २० रन तथा अर्जुन साउदले २३ बलमा दुई छक्का प्रहार गरी २० रन बटुलेका थिए । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले १४ बलमा समान एक चौका र छक्का प्रहार गरी २१ रन बटुले भने करण केसीले १५ रन जोडे । 

पहिलो ब्याटिङ गरेको पुलिसलाई सुरुवाती क्रममा कमजोर बनाउन राजन ढकाल र सूर्या तामाङले कसिलो बलिङ गरे । राजनले ५४ रनमा तीन विकेट लिए । सूर्याले पनि ५० रन खर्चेर तीन विकेट हात पारे । गौतम केसी र सोनु देवकोटाले समान एक विकेट हात पारे । 

आशुतोष शतक बनाउन चुके
लक्ष्य पछ्याउँदा बागमतीले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर आशुतोष घिरैया र इशान पाण्डेले पहिलो विकेटका लागि १७.१ ओभरमा ९६ रनको साझेदारी गरी बागमतीलाई जितको आशा दिलाएका थिए । अलराउन्ड प्रदर्शन गरेको रासिदले १७.१ ओभरमा पाण्डेको विकेट लिँदै पुलिसलाई खेलमा फर्काए । पाण्डेले ४८ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ४४ रनको योगदान दिए । त्यसछि बागमतीले निरन्तर विकेट गुमाउँदै गयो । 

विकेटको अर्कोछेउमा आशुतोष डटेर सामना गरिरहेका थिए । उनले सातौँ विकेटसम्म साझेदारी गरी जितको सम्भावना यथावत् नै राखे । तर, इनिङ्सको ३७.२ ओभरमा उनले आफ्नो विकेट गुमाउँदा बागमतीको आशा सबै समाप्त भयो । आशुतोषले शतकीय इनिङ्स खेल्न आठ रनले चुके । पुलिसका कप्तान दीपेन्द्रसिंहको ओभरमा क्याचआउट हुनुअघि आशुतोषले ८७ बलमा नौ चौका र चार छक्का प्रहार गरी ९२ रनको योगदान दिए ।

सो ब्याटिङ इनिङ्समा बागमतीका लागि प्रतीक श्रेष्ठले  १० रन, विपिन आचार्यले १७ रन, सोनु देवकोटाले १९ रन  तथा गौतम केसीले १३ रनको योगदान दिए । पुलिसका लागि करण केसी, रासिद खान र दीपेन्द्रसिंहले समान दुई विकेट हात पारे । सागर ढकालले ५६ रन खर्चेर सर्वाधिक तीन विकेट हात पारे । 

मधेशको सानदार जित
प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले कोशीमाथि सात विकेटको सानदार जित निकालेको छ । मधेशले एक सय ७९ बाँकी रहँदै सानदार जित निकालेको हो । पहिलो ब्याटिङ गरेको कोशीले ४१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन मात्र बनाएको थियो । कोशीले २१ अतिरिक्त रन पाएको थियो । सहज लक्ष्य पछ्याएको मधेशले २०.१ ओभरमा तीन विकेटको नोक्सानीमा एक सय २९ रन जोडेको थियो । मधेशको जितमा ओपनर अनिल शाहले ५४ बलमा १४ चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ८८ रनको योगदान दिए । 

अनिलले अर्का ओपनर हरिशंकर साहसँग पहिलो विकेटका लागि ८३ रनको साझेदारी गर्दै जितको आधार बनाए । हरिशंकरले ३३ बलमा चार चौका प्रहार गरेका थिए । यसअघि ब्याटिङ गरेको कोशीविरुद्ध प्रदीप पवनले १५ रन खर्चेर तीन विकेट हात पारे । राजेश यादव, रञ्जित कुमार र पवन सराफले समान दुई विकेट हात पारे । 

ब्याटिङको क्रममा कोशीका लागि दुई खेलाडीले मात्र दोहोरो रन बनाए । अंकित सुवेदीले ४० रन र फिर्दोष अन्सारीले ४१ रनको योगदान दिए । अंकितले ५० बलमा सात चौका प्रहार गरे । अन्सारीले ७१ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो रन नै बनाएनन् । कोशीका दुई खेलाडी शून्य रनमा आउट भए । कोशीको ब्याटिङमा एक मात्र छक्का प्रहार भएको थियो । अन्सारीले कोशीको ब्याटिङमा एकमात्र छक्का प्रहार गरे । प्रतिस्पर्धामा मधेशले कोशीलाई पाँच पेनाल्टी रन दिएको थियो । लक्ष्य पछ्याउँदा मधेशले प्रतिओभर ६.३९ रनरेटमा ब्याटिङ गरेको थियो । कोशीले बलिङमा एक लेगवाई र चार वाइडमात्र दिएको थियो । 
 

ad
ad