१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार ११:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रमबाट मालिकाका १५ सयभन्दा बढी विद्यार्थी लाभान्वित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:१६:oo

गुल्मीको मालिका गाउँपालिकामा सञ्चालित ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रमबाट एक हजार पाँच सयभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । यो मालिका गाउँपालिकाको आर्थिक वर्ष ०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम हो । ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम अध्यक्ष देवीराम अर्यालले मालिका गाउँपालिका– १ को नेटाबाट सुरु गरेका थिए । 

पहिलो दिन वडा नम्बर १ र २, दोस्रो दिन वडा नम्बर ५ र ६, तेस्रो दिन वडा नम्बर ७ र ८ र अन्तिम दिन वडा नम्बर ३ र ४ का विद्यालयहरूबीच कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रममार्फत विद्यालयका असहाय तथा विपन्न घरका बालबालिकालाई प्रोत्साहन वितरण गर्नुका साथै विद्यार्थी एवं शिक्षक तथा अभिभावकसँग साक्षात्कार गरिएको मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले जानकारी दिए । ‘कार्यक्रमले सहयोगसँगै विद्यार्थी, विद्यालय र अभिभावकसँग नजिक बनाएको छ,’ अर्यालले भने, ‘शिक्षाभित्रका समस्या पनि पहिचान भएकाले नीति कार्यक्रममा सुधार गर्दै जान्छौँ ।’ 

कार्यक्रममा बाल कक्षादेखि १२ कक्षासम्म अध्ययन गर्ने विपन्न घरका विद्यार्थीलाई गाउँपालिकाले झोला र कापी हस्तान्तरण गरेको छ । त्यस्तै, खेलकुदको जग विद्यालयस्तरबाटै राम्रो होस् भन्ने उद्देश्यले गाउँपालिकामा सञ्चालित ५३ वटै सामुदायिक विद्यालयलाई भलिबल, नेट, चेस, स्किपिङ, लुँडो, चिप्लेटी, पम्पलगायतका खेल सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख भुम घर्तीले जानकारी दिए । 

‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रममा तीन हजार ६ सय कापी, तीन सय एक झोला, ४४ भलिबल, ३३ वटा भलिबल नेटलगायतका खेल सामग्री प्रदान गरिएको घर्तीले बताए ।

आगामी वर्षको नीति तथा कार्यक्रमको तयारीसँगै गाउँपालिकाले शैक्षिक सत्रको सुरुवातमै गरेको ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रमले विद्यालय शिक्षामा समावेशिता तथा सामाजिक न्याय स्थापना गर्न टेवा पुगेको गाउँपालिकाको दाबी छ ।

कार्यक्रमले विद्यार्थी, विद्यालय र अभिभावकहरूको मनोबल उच्च बनाएकाले गाउँपालिकाको शैक्षिक सुधारको अभियानमा सहायक हुनेसमेत अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिए । 

खनालका अनुसार शैक्षिक सुधार वर्ष ०८१ लाई अभियानकै रूपमा लैजान, सामुदायिक विद्यालयप्रति बढ्दै गएको वितृष्णा सुधार गरेर शैक्षिक प्रणालीमा सुधार ल्याउन विद्यार्थीसँग प्रत्यक्ष रूपमा संवाद गरेर शैक्षिक समस्याको पहिचान गर्न र कमजोर नागरिकसँग स्थानीय सरकारको सम्बन्ध मजबुत बनाउन ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गरिएको हो ।

ad
ad