१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष २७ शुक्रबार ०६:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष २७ शुक्रबार ०६:३३:००

सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी गरेको छ । ‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तर्सम्बन्ध) ऐन २०७७’ को व्यवस्थाअनुसार सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने विषयमा छलफल भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । 

कृषि मन्त्रालयले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीबारे प्रदेश सरकारका कृषिमन्त्री र सचिवहरूसँग छलफल गरेको मन्त्रालयका प्रवक्ता सबनम सिवाकोटी अर्यालले जनाकारी दिइन् । वर्तमान सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० पुसमा राष्ट्रका नाममा सम्बोधन गर्दै कृषिक्षेत्रमा लगानी दशक घोषणा गर्ने बताएका थिए । 

न्यूनतम समर्थन मूल्य, कृषि तथा पशुपक्षीको बिमाका लागि आवश्यक उत्पादन लागत संकलन, कृषि तथ्यांक संकलन तथा व्यवस्थापनमा एकरूपता कायम गर्ने, ‘संघ, प्रदेश र स्थानीय तह कृषिक्षेत्र समन्वयसम्बन्धी कार्य प्रक्रिया २०८०’ को कार्यान्वयनलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । यस्तै, छाडा पशु तथा वन्यजन्तु नियन्त्रण, बाली तथा पशुपक्षीजन्य रोग–किराहरू तथा सम्भावित महामारी नियन्त्रण तथा भ्याक्सिनको प्रयोग सम्बन्धमा प्रदेश सरकारका कृषि मन्त्रालयसाँग छलफल गरेको हो ।

फलफूल विकास केन्द्रले ०७६/७७ मा गरेको अध्ययनअनुसार २६ हजार पाँच सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको छ । जसमा कोशी प्रदेशमा पाँच हजार नौ सय ९६ हेक्टर, बागमती प्रदेशमा चार हजार तीन सय ४८, गण्डकी प्रदेशमा सात हजार सात सय ९५, लुम्बिनी प्रदेशमा तीन हजार ८९ हेक्टर, कर्णाली प्रदेशमा तीन हजार ६ सय १७, सुदूरपश्चिममा एक हजार सात सय ४६ हेक्टरमा सुन्तला खेती हुँदै आएको तथ्यांक छ । ६ वटै प्रदेशमा उत्पादनशील क्षेत्रफल १४ हजार पाँच सय ५१ हेक्टर जमिन रहेको छ । उत्पादन एक लाख ५६ हजार प्रतिटन रहेको केन्द्रको भनाइ छ ।