१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नवीन अर्याल काठमाडाैं
२०८० पौष २७ शुक्रबार ०६:२७:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय ध्वजावाहक न्यारोबडी सिजनमै ४४ दिनदेखि ग्राउन्डेड, ४९ करोड गुम्यो

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०८० पौष २७ शुक्रबार ०६:२७:००

व्यवस्थापनको उदासीनताका कारण नेपाल वायुसेवा निगम (नेवानि)को न्यारोबडी एयरबस–३२० जहाज ४४ दिनदेखि ग्राउन्डेड छ । बायाँ पखेटामा रहेको इन्जिनमा समस्या देखिएपछि ९एन–एकेएक्स १३ मंसिरको राति बैंककबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै ग्राउन्डेड गरिएको हो । निगम व्यवस्थापनले साताभित्र भाडाको इन्जिन जोहो गरेर जहाज उडाउनुपर्नेमा लापरबाही देखाएको छ ।

व्यस्त सिजनमा ४४ दिनदेखि जहाज ग्राउन्डेड हुँदा निगमले ४९ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइसकेको छ । एउटा न्यारोबडी ग्राउन्डेड हुँदा दैनिक औसतमा एक करोड १४ लाख रुपैयाँ आम्दानी गुम्ने स्रोतको भनाइ छ । ग्राउन्डेड जहाजको दायाँ पखेटामा इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)सँग भाडामा लिइएको इन्जिन झुन्डाएर राखिएको छ । जहाज नउडे पनि दैनिक दुई हजार अमेरिकी डलरका दरले इन्जिनको भाडा तिर्नुपर्ने हुन्छ । भाडाको इन्जिन ४४ दिनदेखि यत्तिकै राख्दा एक करोड १४ लाख ३८ हजार रुपैयाँभन्दा बढी ‘क्यास लस’ भइसकेको स्रोत बताउँछ ।

इन्जिन फेर्नका लागि जहाज बिहीबार राति साढे ११ बजे दुबई हुँदै इजरायल उड्न लागेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । तर, इजरायलमा निगमको इन्जिन अझै मर्मत भइनसकेको स्रोतको भनाइ छ । चौतर्फी दबाबपछि निगम व्यवस्थापनले आलोचनाबाट जोगिन जहाज इजरायल पठाउन लागेको स्रोतको दाबी छ । ३१ भदौमा एकेएक्सको दायाँ इन्जिन मर्मतका लागि आइएआईलाई दिएर भाडाको इन्जिन जडान गरेर उडान सञ्चालन गरिएको थियो । आइएआईले ६५ दिनसम्म इन्जिन मर्मत गरेर हस्तान्तरण गरिसक्नुपर्नेमा एक सय १७ दिनसम्म पनि मर्मत गरिदिएको छैन । प्रवक्ता पौडेलले भने, ‘इन्जिन अहिलेसम्म तयार भइसकेको छैन, तर आइएआईले जहाज ल्याउँदै गर्नुस्, त्यतिन्जेल इन्जिन मर्मत भइसक्छ भनेको छ ।’

एकेएक्सको इन्जिन १० मंसिरमा बोरेस्कोप गरेर हेर्दा १० साइकलभन्दा बढी उडाउन नमिल्ने देखिएको थियो । त्यसपछि निगमले विभिन्न गन्तव्य देशमा सात साइकल व्यवसायिक उडान गरेको थियो । अहिले जहाजमा तीन साइकल (उडान–अवतरण) मात्र बाँकी रहेको बताइएको छ, जुन इन्जिन फेर्नका लागि इजरायलमा उडान गर्न साइकल बचाएर राखिएको हो ।

पछिल्लोपटक ४४ दिनदेखि ग्राउन्डेड भएको जहाजको विगत पनि दर्दनाक छ । यही जहाज पछिल्लो ६ महिनाको अवधिमा ११९ दिन (चार महिना) ग्राउन्डेड भएको छ । यसअघि ३१ असारमा दायाँ इन्जिन बिग्रिएर ग्राउन्डेड भएको जहाज इजरायली कम्पनी आइएआईको भाडाको इञ्जिन जडान गरेर ११ असोजदेखि नियमित उडानमा फर्किएको थियो । त्यसवेला साढे दुई महिना जहाज ग्राउन्डेड हुँदा निगमले ८० करोडभन्दा बढी आम्दानी गुमाउनुपरेको थियो । साथै, निगमको अन्तर्राष्ट्रिय उडान पनि अस्तव्यस्त बनेको थियो ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी छन् । थोरै जहाज हुनाले सोमबार अर्को न्यारोबडी जहाज ९एन–एकेडब्लूमा प्राविधिक समस्या आउँदा काठमाडौं–बैंकक उडानका डेढ सय यात्रु अलपत्र परेका थिए । दुईवटै न्यारोबडी जहाज ग्राउन्डेड हुँदा यात्रुलाई समयमै गन्तव्यसम्म पुर्‍याउन जहाजको अभाव खड्किएको छ । दुईपटकसम्म जहाज चढाएर ओरालेपछि यात्रुहरूले नाराबाजीसमेत गरेका थिए ।

विगतमा इन्जिन बिग्रिँदा सात महिनासम्म झुलाएको कम्पनीलाई नै निगमले एमआरओ नियुक्त गर्दा फेरि धोका
निगम व्यवस्थापनले न्यारोबडी जहाजको लिजसहित इन्जिन मर्मतका लागि इजरायली कम्पनी आइएआईलाई एमआरओ नियुक्त गरेको छ । तर, सम्झौताबमोजिम तोकिएकै समयमा इन्जिन भाडामा दिन र निगमको इन्जिन मर्मत गर्न आइएआई अक्षम साबित भएको छ । यसअघि अर्को न्यारोबडी एकेडब्लूको इन्जिन मर्मतका लागि सात महिनासम्म झुलाउने कम्पनीलाई नै निगम व्यवस्थापनले मिलीभगतमा फेरि इन्जिन मर्मतका लागि जिम्मेवारी सुम्पिएको थियो ।

‘इन्जिन मर्मत र भाडामा लिन एउटै कम्पनी छानिएको छ, जुन सार्वजनिक खरिद ऐनविपरीत छ),’ स्रोतले भन्यो, ‘त्यसमाथि ब्ल्याक लिस्टेड’ गर्नुपर्ने कम्पनीलाई आपसी समझदारीमा दुई वर्ष अवधि थप्न पाउने गरी ६ वर्षसम्मका लागि एमआरओ नियुक्त गरिएको छ ।’ एउटै कम्पनीले लिज र मर्मतको जिम्मेवारी पाउँदा आफ्नो इन्जिनको भाडा अवधि लम्ब्याउन मर्मतमा ढिलाइ गरिदिने सम्भावना रहन्छ ।

सम्झौताबमोजिम आइएआईले ६५ दिनमा इन्जिन मर्मत गरेर हस्तान्तरण गरिसक्नुपथ्र्यो । तर, कम्पनीले एक सय १७ दिनसम्म पनि इन्जिन मर्मत गरिदिएको छैन । ३१ भदौमा निगम एकेएक्स जहाज इजरायल पठाएर इन्जिन मर्मतका लागि आइएआईलाई हस्तान्तरण गरेको थियो । स्रोतको दाबी छ, ‘आइएआईले फेब्रुअरी अन्तिमसम्म मात्र इन्जिन मर्मत गरेर दिन सक्ने बताएको छ ।’ तर, यो विषयलाई निगम नेतृत्वले गुपचुप राखेर अहिले नै जहाज इञ्जिन फेर्न भन्दै इजरायल पठाएको छ ।

एमआरओ सम्झौताअनुसार निगमले इञ्जिन बिग्रिएको जानकारी गराएको एक सातासम्ममा आइएआईले भाडाको इन्जिन उपलब्ध गराउनुपर्ने थियो । तर, जहाज ग्राउन्डेड भएको ४४ दिन पुग्दासम्म पनि आइएआईले भाडाको इन्जिन जोहो गरिदिन सकेको छैन । आइएआईले निगमलाई भाडामा इन्जिन उपलब्ध गराउन नसक्ने जानकारी गराएको छ । ‘एमआरओ कम्पनीले लिजमा दिन इन्जिन पाएनौँ भन्यो, हामी आफैँले पनि इन्जिन खोजेका थियौँ, तर ठ्याक्कै मिल्ने इन्जिन भेटिएन,’ निगमका प्रवक्ता पौडेलले भने, ‘भाडाको इन्जिन भेटिएको भए हामी आफैले आइएआईलाई जानकारी गराएर ल्याउने योजना थियो ।’

क्षमतावान् कम्पनी एमआरओ नियुक्त गर्नेभन्दा पनि निगम व्यवस्थापन कमिसन सेटिङमा लागेपछि यस्तो समस्या आएको स्रोतको दाबी छ । यदि आइएआईले इन्जिन मर्मत गरेर हस्तान्तरण गर्न फेब्रुअरी अन्तिमसम्म (९४ दिन) पुर्‍याए निगमलाई भाडाको इन्जिनबापत दैनिक दुई हजार डलरको दरले दुई करोड ८४ लाख नोक्सानी ब्यहोर्नुपर्नेछ । यस्तै, एक अर्ब सात करोड रुपैयाँ आम्दानी गुम्ने खतरा हुनेछ ।

आइएआईले इञ्जिन मर्मत गरेर नसक्दै जहाज इजारयल पठाउँदा त्यहीँ थन्किने देखिन्छ । जसले गर्दा जहाज उडाएर लैजाने पाइलटहरू, इञ्जिनियर र क्याबिन क्रुको अतिरिक्त खर्च समेत ब्यहोर्नुपर्ने हुन्छ । ‘नेपालमा जहाज ग्राउन्डेड हुँदा सरकारदेखि सर्वसाधारणसम्म चौतर्फी विरोध भइरहेको छ, त्यसैले निगम नेतृत्व इन्जिन ल्याउन जहाज इजरायल पठाइसकेको भनेर पन्छिन खोजेको हो,’ स्रोतले भन्यो, ‘जहाज इजरायल पठाउँदा चालक दलको खर्च, इन्स्योरेन्स, दैनिक चेकजाँचलगायतमा झन् धेरै खर्च हुने देखिन्छ ।’

आइएआईसँगको सम्झौताबमोजिम समयमै भाडामा इन्जिन नदिए ‘लस अफ फ्लाइट’ र इन्जिन मर्मत गर्न नसके ‘पेनाल्टी’ लगाउनुपर्नेमा निगम व्यवस्थापनले हालसम्म क्लेम नगरेको बुझिएको छ । बरु उल्टै भाडाको इन्जिन झुन्डाएर दैनिक दुई लाख ६६ हजार रुपैयाँका दरले यत्तिकै आइएआई कम्पनीलाई बुझाउँदै आएको छ ।

निगमले कुनै जहाज ग्राउन्डेड भइहाले तत्कालै भाडाको इन्जिन ल्याउन र बिग्रिएको इन्जिन मर्मत गर्न दिन भन्दै आपसी सहमतिमा दुई वर्ष समय थप्न सकिने प्रावधानसहित चार वर्षका लागि एमआरओ छनोट गरेको हो । ‘जहाज ग्राउन्डेड भएपछि सार्वजनिक टेन्डर आह्वान गरेर कम्पनी छनोट गर्दा समय लागेको र यसले निगमलाई घाटा मात्रै हुने भएकाले लङटर्मका लागि एमआरओ नियुक्त गरिएको हो,’ स्रोतले भन्यो, ‘तर, पहिल्यै एमआरओ छनोट गर्दा पनि समस्या सुल्झिन सकेन ।

६ महिनामा ११९ दिन यसरी भयो ग्राउन्डेड

निगमको न्यारोबडी ‘९एन–एकेएक्स’ जहाजको दायाँ पखेटामा रहेको इन्जिनमा समस्या आएपछि गत ३१ असारमा ग्राउन्डेड भयो । तीन साइकल (उडान–अवतरण)मात्र गर्न सकिने अवस्थामा ३१ असारमा ग्राउन्डेड भएको जहाज ११ असोजसम्म नियमित उडानमा फर्किन सकेन । इन्जिन फेर्नका लागि जहाज विदेश लैजान केही साइकल जोगाएर राख्ने गरिन्छ ।

यहीबीचमा निगमले इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई) कम्पनीलाई मेन्टेनेन्स, रिपेयर ओभहल ‘एमआरओ’ नियुक्त गरेको थियो । ३१ भदौमा इन्जिन फेर्न एकेएक्स जहाजलाई इजरायल पठाइयो । तत्काल इन्जिन मर्मत नहुने भएपछि आइएआइएकै भाडाको इन्जिन जडान गरियो । र, निगमको इन्जिन मर्मतका लागि आइएआईलाई हस्तान्तरण गरियो । तर, भाडाको इन्जिन फेर्न पनि ढिलाइ गरिँदा जहाज करिब १२ दिन त्यहीँ ग्राउन्डेड भयो । आफनो एउटा र भाडाको अर्को इन्जिनमा जहाज ११ असोजमा इजरायलबाट दुबई हुँदै यात्रु बोकेर काठमाडौं आयो ।

त्यसपछि नियमित उडान भर्न थालेको जहाजको बायाँ पखेटाको इन्जिन (आफनो)को १० मंसिरमा बोरोस्कोप (इन्जिनको अवस्था जाँच) भयो । त्यसलाई इन्जिन निर्माता कम्पनीमा पठाइयो । कम्पनीले उक्त इन्जिनले १० साइकलभन्दा बढी उडान गर्न नमिल्ने चेतावनी दियो । तीन साइकल बचाएर अरू कमर्सियल उडानमा सकाएको निगमले १३ पुसदेखि जहाज ग्राउन्डेड गरेको छ । पछिल्लोपटक बैंककबाट काठमाडौंमा जहाज अवतरण गरेपछि फेरि ग्राउन्डेड भयो ।

यसअघि साढे दुई महिना ग्राउन्डेड भई भाडाको इन्जिन जोडेर उडान सुरु गरेको दुई महिनामै फेरि ग्राउन्डेड भएको पनि ४४ दिन पुगेको छ । यसरी निगमको एकेएक्स जहाजका दुवै इन्जिन बिग्रिएका छन । जहाजको बायाँ पखेटामा भाडाको इन्जिन झुन्डाएर राखिएको छ । जहाज नउडे पनि भाडाको इन्जिनका लागि निगमले दैनिक दुई हजार अमेरिकी डलर तिर्नुपर्छ ।