१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पहाडको टुप्पोमा पुग्यो लेखखोलाको पानी, वर्षौँको सपना पूरा 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३३:oo

तुर्माखाँद गाउँपालिका– ३ का लेखगाउँ, तितिरगैरा, बोरेलीगडा र बिजु गाउँबाट कर्णाली नदी बगिरहेको दृश्य हरेक पल आँखैअगाडि देखिन्छ। तर, यी गाउँ मरुभूमिजस्तै छन्। 

न त्यो कर्णाली हेरेर प्यास मेटिन्छ न त त्यहाँको पानी उकालो चढाएर गाउँ ल्याउन सम्भव छ। गाउँको आँगनभरि फन्को मारेर घुमेकोजस्तै देखिने कर्णाली नदीनिकट यी गाउँका ४३ घरधुरीले भने पुस्तौँदेखि पिउने पानी बोक्न तीन घन्टा उकाली–ओराली गर्नुपर्थ्याे । त्यही कर्णाली किनारनजिकैको लेखपानी खोलाबाट सोलार लिफ्ट प्रविधिमार्फत घरमै पानी पुगेपछि स्थानीय खुसीले दंग भएका छन्।

बिजुलेख सोलार लिफ्ट खानेपानी योजनामार्फत घरघरमा निर्माण गरिएका धारामा पानी पुगेपछि त्यसको उद्घाटन गर्न गाउँ पुगेका तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसी र कर्णाली जलपरियोजनाका प्रमुख सुनीलकुमार दाससहितको टोलीलाई गाउँलेले धन्यवाद दिए। ‘अध्यक्षज्यू, आज सपना पूरा भयो। हामी यही दिनको पर्खाइमा थियौँ। हाम्रा लागि योभन्दा ठूलो खुसी अरू हुनै सक्दैन। अब गाउँमा पुगेको पानी दिगो हुनुपर्छ,’

उद्घाटन कार्यक्रममा महिलाहरुको टोली सहित बिजुलेख आएकी लेखगाउँकी धर्मा बुढाले भनिन्। उनकै छिमेकी ५५ वर्षीय बिसे कामीले दिनभरि पानी बोक्नुपर्ने बाध्यता हटेपछि अब बालबालिकाले पढ्न पाउने र महिलालाई समेत सुख हुने भन्दै खुसी व्यक्त गरे।

‘आज यो गाउँका मान्छे सबै खुसी छन्,’ उनले भने, ‘हाम्रा कैयौँ पुस्ताले पानीकै दुःख झेल्नुपर्‍यो। यसबारे सोच्ने कोही थिएन। अहिले पालिका सरकारले सोचिदियो र हामीलाई सुविधा भयो।’ 
पानीको उद्घाटनपछि गाउँपालिका अध्यक्ष डम्बर बिसीले घन्टाैँ उकालोमा पानी बोक्नुपर्ने बाध्यताको अन्त्य गरिएको भन्दै अब यसको दिगोपनामा ध्यान दिनुपर्ने बताए।

‘घरमै पानी त आयो, अब यो दिगो हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि पालिकाले के गर्नुपर्छ त्यो हामी गर्छौँ।’ उनले मर्मत कोष निर्माण गरिएकाले त्यसको सही सदुपयोग गर्नुपर्ने बताए। पिउने पानी प्रयोग गरेर अन्य खेर जाने पानीमार्फत तरकारी, फलफूल र खेतबारीमा समेत सिँचाइ गर्न उनले सुझाव दिए।

गाउँमा टाढा रहेका मुहानबाट पानी बोक्नुपर्ने समस्या सबैभन्दा धेरै महिला र बालबालिकाले भोग्दै आएको भन्दै तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष विमला शाहीले अब त्यो दुःख झेल्नुनपर्ने बताइन्। उनले गाउँमा पानी पुगेपछि सबैभन्दा बढी महिला खुसी भएको बताइन्। वडाध्यक्ष महेन्द्रबहादुर शाहीले निर्माण गरिएका संरचनाको संरक्षण गरेर गाउँमा पुगेको पानीको सुरक्षा गाउँलेले नै गर्नुपर्ने बताए।

त्यसका लागि सबैलाई पानीको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए। कर्णाली नदीसँग जोडिएका अछामसहित दैलेख, कालीकोट, जुम्ला र कैलालीलगायत जिल्लाका २९ वटा पालिकामा सोलार लिफ्ट प्रविधिमार्फत विकट बस्तीमा पानी पुर्‍याइरहेको कर्णाली जलपरियोजनाका प्रमुख सुनीलकुमार दासले यो योजनाको दिगोपनाका लागि मर्मत कोष स्थापना गरेर हेरालोको समेत व्यवस्था गरिएको बताए।

उनले सोलार, पाइपलाइन र अन्य संरचनाको राम्रो सुरक्षा प्रबन्ध गरिएकाले यो योजना दिगो हुने उल्लेख गरे। एक करोड २६ लाख ७९ हजार ६४७ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको बिजुलेख सोलार लिफ्ट खानेपानी योजनामा तुर्माखाँद गाउँपालिकाको ५१ लाख ४३ हजार ७१७ रुपैयाँ र कर्णाली जलपरियोजनाको ५० लाख तथा समुदायको श्रमदानबापतको २५ लाख ३५ हजार ९२९ रुपैयाँ खर्च गरिएको छ। 

कर्णाली नदीछेउको लेखपानी खोलाबाट एक हजार नाै सय मिटर उचाइमा रहेको नेट्टेकान, कालिकाथान र टावरघर डाँडाको टुप्पोमा लिफ्टमार्फत पानी पुर्‍याइएको आयोजनाका इन्जिनियर नवीन रानाले बताए। त्यहाँबाट लेखगाउँ, तितिरगैरा, बोरेलीगडा र बिजुगाउँका ४३ घर र एउटा विद्यालयमा गरी ४४ वटा धारामार्फत पानी वितरण गरिएको छ। 

यस आयोजनाले सोलार लिफ्ट प्रविधिमार्फत पहाडको टुप्पोमा पानी पुर्‍याउन १२ घनमिटरको एउटा र पाँच घनमिटरको दुईवटा बेस ट्यांकी, पाँच घनमिटरको एउटा र १८ घनमिटरको अन्य दुईवटा ट्यांकी निर्माण गरेको छ भने चार किलोवाट र दुई किलोवाटका पम्प स्थापना गरी ५४ वटा सौर्य पाताहरूसमेत जडान गरेर गाउँमा पानी पुर्‍याउन सफल भएको हो। 


 

ad
ad