आइसिसी यू– १९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता नेपालले अभ्यास खेलमा स्कटल्यान्डमाथि एक सय ३५ रनको सानदार जित निकालेको छ । प्रतियोगितामा सहभागी हुन नेपाली युवा टोली दक्षिण अफ्रिकामा छ । दक्षिण अफ्रिकामा नेपालले पहिलो ब्याटिङ गरी ४९.२ ओभरमा सबै विकेट गुमाएर दुई सय ८४ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा स्कटल्यान्ड ४३.२ ओभरमा एक सय ४९ रनमै समेटियो । नेपालका लागि तिलकराज भण्डारीले तीन विकेट लिएका थिए । आकाश चन्दले दुई विकेट लिए ।
तिलकराजले १७ रन तथा आकाशले १८ रन खर्चे । यसअघि ब्याटिङ गरेको नेपालका लागि गुल्सनकुमार झाले शतकीय इनिङ्स खेलेका थिए । उनले एक सय १४ रन बनाए । दीपक बोहराले अविजित ५८ रनको योगदान गरे । गुल्सनले १ सय १५ बल र दीपकले ५४ बलको सामना गरेका थिए । स्कटल्यान्डका उजैर अहमदले २८ रन र खानले २४ रन जोडे ।
विश्वकपको समूह ‘डी’मा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । २१ जनवरीमा नेपालले न्युजिल्यान्डसँग खेल्दै विश्वकप सुरु गर्नेछ । नेपालले २४ जनवरीमा पाकिस्तान र २६ जनवरीमा अफगानिस्तानको सामना गर्नेछ । नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ ।