१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
एजेन्सी पेरिस
२o८१ बैशाख १९ बुधबार o६:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

फ्रान्समा ३४ वर्षका युवा बने प्रधानमन्त्री

Read Time : > 1 मिनेट
एजेन्सी, पेरिस
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:५८:oo

३४ वर्षीय गेब्रियल याटाल फ्रान्सको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार नयाँ सरकारको प्रमुखको रुपमा याटालको नाम घोषणा गरेका हुन् । याटाल आधुनिक फ्रान्सेली इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्री हुनेछन् । यसअघि समाजवादी लरेन्ट फाबियस सन् १९८४ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए ।उनी एलिजाबेथ बोर्नको उत्तराधिकारी बन्ने भएका हुन् । बोर्नले आफ्नो कार्यकालको २० महिनापछि राजीनामा दिएकी थिइन् ।

त्यो अवधिभर संसद्मा बहुमत नहुँदा उनले निकै संघर्ष गर्नुपर्‍यो । हाल शिक्षामन्त्री रहेका याटालले सरकारमा आकर्षक नियुक्ति गर्ने विश्वास गरिएको छ । उनले अब जुनमा हुने महत्वपूर्ण युरोपेली संसदीय चुनावमा फ्रान्सेली सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाउनेछन् । उनको उदय द्रुत गतिमा भएको छ । दश वर्षअघि उनी स्वास्थ्य मन्त्रालयमा प्रस्ट भूमिका नभएका एक सल्लाहकार र समाजवादी कार्यकर्ता मात्र थिए । 

उनी प्रधानमन्त्री कार्यालय सम्हाल्ने देशको पहिलो समलिंगी व्यक्ति पनि हुनेछन् । भाषण र बहसमा पोख्त उनको कलाले राष्ट्रपति इम्यानुअल म्याक्रोँको सजिलै ध्यानाकर्षण गरेको थियो । उनी २९ वर्षको उमेरमा सरकारका सबैभन्दा कम उमेरका मन्त्री बनेका थिए । त्यति वेला उनी कनिष्ठ शिक्षामन्त्री बनेका थिए । सन् २०२० देखि उनी सरकारका प्रवक्ता भए । राष्ट्रपति म्याक्रोँ पुनः निर्वाचित भएपछि उनी छोटो समयका लागि बजेटमन्त्री थिए र त्यसपछि गत जुलाईमा शिक्षामन्त्रीको जिम्मेवारी पाए । उनी म्याक्रोँ सरकारको सबैभन्दा प्रशंसनीय पात्र रहेका विभिन्न मत सर्वेक्षणले देखाएका छन् । 

याटालका सामु प्रशस्त चुनौती देखिन्छन्, जसरी उनका पूर्ववर्ती एलिजाबेथ बोर्नले सामना गरिन् । तिनमा मुख्यत कट्टर दक्षिणपन्थी विपक्षी (जसको लोकप्रियता बढिरहेको छ), संसद्मा बहुमत नभएकाले नयाँ कानुन बनाउन आइपर्ने कठिनाइ र दोस्रो कार्यकालमा आफूले के हासिल गर्न चाहेको परिभाषित गर्न असमर्थ राष्ट्रपति । त्यसवाहेक पनि नयाँ प्रधानमन्त्रीका आफ्नै राजनीतिक चुनौती पनि छन् । विशेषतः गेराल्ड डार्मानिन र ब्रुनो ले माइरेजस्ता हेभिवेटहरूमाझ आफ्नो शक्ति स्थापित गर्नु उनलाई कठिन हुन सक्छ । तथापी उनी स्वयं प्रतिभाशाली र क्षमतावान् रहेको विपक्षीसमेत स्विकार्छन् ।  नेसनल एसेम्ब्लीमा उनलाई धेरैले रुचाउँछन् ।

यो परिवर्तन पेरिसमा हुन लागेको ओलम्पिक खेल र युरोपेली संघको संसद्को निर्वाचनअघि भएकाले महत्वका साथ हेरिएको छ । सो चुनावमा म्याक्रोँको मध्यमार्गी दलको उग्र दक्षिणपन्थी नेतृ मरिन ले पेनको दलसँग टक्कर हुँदै छ । म्याक्रोँले आफ्नो राष्ट्रपति पदको अन्तिम तीन वर्ष उनको टिमलाई सृदृढ गर्न खोजिरहेको सन्दर्भमा पछिल्लो परिवर्तन भएको विश्लेषण गरिँदै छ । याटाल  बोर्नको सरकारमा शिक्षा मन्त्रालय सम्हालिरहेका थिए, जसको कामले उनी अघिल्लो सरकारमा सबैभन्दा लोकप्रिय मन्त्री रहेका थिए । सोमबार बोर्नले राजीनामा दिएपछि याटालको नियुक्तिको अपेक्षा गरिएको थियो । जुनमा हुने युरोपेली निर्वाचन र त्यसपछि सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनमा उग्र दक्षिणपन्थीसँग म्याक्रोनको मध्यमार्गी शक्तिहरूको जित सुनिश्चित गर्नु याटालको सबैभन्दा महत्वपूर्ण काम हुनेछ । 

याटालको अधिक लडाकु शैली उहाँका पूर्ववर्ती बोर्नको विपरीत हुने सम्भावना छ । कम उमेरमा उच्च पद हासिल गरेपछि याटालको तुलना उनका राजनीतिक गुरु तथा वर्तमान राष्ट्रपति म्याक्रोँसँग तुलना हुन थालेको छ । राष्ट्रपति म्याक्रोँ 
३९ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा फ्रान्सको राष्ट्रपति बनेका थिए । 

फ्रान्सेली सञ्चारमाध्यमले सन् २०२७ मा म्याक्रोँको कार्यकालको सीमा नाघ्दा याटालले एलिसी प्यालेसमा उनको स्थान लिन सक्ने अनुमान गरेका छन् । सेप्टेम्बरमा फ्रान्सेली साप्ताहिक पोइन्टले एक समाचारको शीर्षक नै राखेको थियो, ‘ग्याब्रिएल एटल, नयाँ म्याक्रोँ ?’ आफ्नो सापेक्ष न्यून राजनीतिक अनुभवका बाबजुद याटालले दृढ र निर्णायक व्यक्तिका रूपमा ख्याति कमाइसकेका छन् । गत साता प्रकाशित ओडोक्सा सर्वेक्षणअनुसार याटाल सरकारमा सबैभन्दा लोकप्रिय व्यक्ति थिए । एकतिहाइभन्दा धेरै फ्रान्सेली नागरिकले प्रधानमन्त्रीका रूपमा उनको नियुक्तिलाई समर्थन गरेका छन् । 
 

ad
ad