१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख २० बिहीबार o६:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

१२ दिने सुत्केरी अंशुको स्वास्थ्य  केन्द्रमा मृत्यु, समयमै भएन उद्धार

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१o:oo

१२ दिनअघि सुत्केरी भएकी २३ वर्षीया अंशुु बुढाको उपचारका क्रममा बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ज्यान गएको छ । शिशुको अवस्था भने सामान्य रहेको परिवारले जनाएको छ ।

१२ पुसमा नर्मल डेलिभरी भए पनि २२ पुसदेखि स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि बाजुरा पुर्‍याइएकी हुम्लाको ताजाँकोट गाउँपालिका– ५ डोप्ककी अंशुुको उपचारका क्रममा सोमबार राति साढे १० बजे मृत्यु भएको हो । ‘उहाँको अक्सिजन लेभल निकै घटेको थियो, आइसियूमा राख्नुपर्ने अवस्था थियो, तर हामीकहाँ आइसियू थिएन,’ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले भने, ‘उपचारको प्रयास भए पनि राति ज्यान गयो ।’

डाक्टर शाहका अनुसार सामान्यतया अक्सिजनको मात्रा ९५ भन्दामाथि हुनुपर्ने भए पनि अंशुलाई स्वास्थ्य केन्द्र ल्याएका वेला ३९ मात्रै थियो । उनलाई सोमबार दिउँसो १ बजे स्वास्थ्य केन्द्र कोल्टी पुर्‍याइएको थियो । अंशुले १२ दिनअघि हुम्लाको ताजाँकोटमा रहेको मदना स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा छोरी जन्माएकी थिइन् । र, सोही साँझ घर लगिएको थियो ।

अंशु सुत्केरी भएको ११ दिन मात्रै पुगेको थियो । २२ पुसमा श्वासप्रश्वास बढ्न थाल्यो । रिँगटा चल्यो, टाउको दुख्न थाल्यो, उच्च रक्तस्राव सुरु भयो । मदना स्वास्थ्य चौकीबाट अनमि माया बैजीसहितको स्वास्थ्यकर्मीको टोली घरमै पुगेर जाँच गरेको मदना स्वास्थ्य चौकीका इन्चार्ज रामलाल देवकोटाले बताए । तर, मदनामा उपचार सम्भव नभएपछि उनलाई कोल्टी लगिएको थियो । 

अंशुलाई कोल्टी पुर्‍याउँदा पनि उपचार सम्भव नभएपछि स्वास्थ्य केन्द्रले हवाई उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र लेखेको थियो । जिल्ला प्रशासनले पनि निःशुल्क हवाई उद्धारका लागि केन्द्रको महिला तथा बालबालिका मन्त्रालयअन्तर्गतको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मा सम्पर्क गरेको थियो ।

तर, रातिको समयमा मौसममा खराबी भन्दै हेलिकोप्टर नपठाउँदा सोमबार राति अंशुको ज्यान गएको हो । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाका अनुसार स्वास्थ्य केन्द्रबाट राति पत्र आएकामा राति नै उद्धारका लागि काठमाडौंमा खबर गरिएको थियो । ‘राति मौसम खराबीका कारण हेलिकोप्टर आउन नसक्ने भनिएपछि मंगलबार बिहान ६ बजे सेनाको हेलिकोप्टरमार्फत उद्धार गर्ने जानकारी आएको थियो,’ तिमल्सेनाले भने, ‘राति नै घटना भएछ ।’

मदना स्वास्थ्य चौकीले सोमबार बिहान नेपालगन्जका लागि रेफर गरेको थियो । तर, आर्थिक अवस्था कमजोर भएकाले सुविधासम्पन्न अस्पताल लैजान नसकेर कोल्टी लगिएको उनका ससुरा जितबहादुर बुढाले बताए । ‘मुटु र फोक्सोको समस्या थियो,’ बाजुराको कोल्टी हुँदै नेपालगन्ज लैजाने तयारी थियो, उपचारका क्रममा ज्यान गएछ,’ मदना स्वास्थ्य चौकी इन्चार्ज देवकोटाको भनाइ छ । अंशुको गत वर्ष विवाह भएको थियो ।

सरकारले ०७५/७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य जोखिममा परेकाको निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रपति उत्थान कार्यक्रम हिमाली र पहाडी गरी १८ जिल्लामा लागू गरिए पनि प्रभावकारी हुन सकेको छैन । 
 

ad
ad