१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
श्यामबहादुर खड्का
२o८१ बैशाख १७ सोमबार १४:२४:oo
Read Time : > 4 मिनेट
ad
ad
ब्लग डिजिटल संस्करण

महाभारत युद्धको झल्को दिने भुवोपर्व

Read Time : > 4 मिनेट
श्यामबहादुर खड्का
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १४:२४:oo

पुस महिना एक ठूलो पर्वको रूपमा मनाइने र सुदूरपश्चिमको हरेक गाउँमा खेलिने तरबार र ढालको खेल भुवो अन्य वर्षको जस्तैे गाउँगाउँमा आउनै लागेको छ । दुयाको चाड भनिने र पुसको शुक्ल पक्षको द्वितीयादेखि खेलिने यो पर्व, यस वर्ष पुसको २८ गते परेको छ । १० दिनभन्दा बढी अवधि खेलिने यो खेल यसपटक एक दिनका लागि मात्र खेल्न पाइने अवस्था छ । भोलिपल्ट महिनाको मसान्त परेको र माघका कारणले भुवो खेलिँदैन ।

जब यो भुवोको चाड आउँछ, पहाडका गाउँमा बाजाका आवाजका साथै भुवा र भस्सोका शब्दहरू सुनिन्छन् । मानिस ढाल–तरबार लिएर भुवाखाडामा जम्मा हुन्छन् । सामूहिक रूपमा खेलिने यस खेलमा मानिस आफ्ना सुख–दुःख र रिसरागका साथै आपसी वैमनस्य बिर्सेर एकै गोलोपंक्तिमा लामबद्ध भएर स्वचालित रूपमा खुट्टाको चाल र ढाल–तरबारको नाचमा सहभागी हुन्छन् । बाजा बजाउनेहरू आफ्नो धुनमा बजाइरहेका हुन्छन् र कसैले निर्देशित गर्न पर्दैन । जसोजसो बाजा बज्छ भस्यारा (भुवो वा भस्सो खेल्ने)हरू आफ्नो चाल बदल्छन् ।

यस पर्वको मुख्य विशेषता मान्यजनबाट पिठायो (चामलमा बेसार पिसेर बनाइएको)को टीका लगाउनु र आशीर्वाद प्राप्त गर्नु हो । शुद्ध र भवानीको आशीर्वादको रूपमा लिइने यो पिठायो देवीलाई चढाएपछि घर र गाउँका मानिस लगाउँछन् । दसैँमा जमरासहित पिठायोको टीका लगाइन्छ भने यस पर्वमा पिठायोको टीका मात्र लगाइन्छ । त्यसैले भुवो भट्याउँदा भन्ने गरिन्छ ‘चिउडो पिठायो, बनायो लायो ।’ हाल कतै बजारमा उपलब्ध पहेँलो रङको प्रयोग हुन थाले पनि गाउँतिर यो चलन छुटेको छैन । दुया पर्वको महत्वपूर्ण खाद्य चिउणो (चिउरा)लाई देवीदेवतालाई चढाएर आफू खान्छन् । भनाइ नै छ, ‘दसैँमा जमरो पिठायो र दुयामा चिउणो पिठायो ।’ यी दुवै पर्व भवानीको आराधनाका लागि मनाइन्छन् । त्यसै पनि पुसको शुक्लपक्षलाई चार नवरात्रमध्ये एक मानिन्छ । यस पक्षका अष्टमीको दिनलाई पुसको पसैति भनेर पर्वको रूपमा देवी र देवताको मन्दिरहरूमा पूजाको आयोजना हुन्छ ।

भुवोको सुरुवातका लागि दुया पर्वको दुई दिनअगाडि पुसको औँसीमा जगाउने काम गरिन्छ । कतैकतै मंसिर पूर्णिमालाई भैल्या पुनि भनेर राँका हाली भुवो जगाएको भन्छन । खासगरी पुसको औँसीमा जगाएपछि मात्र भुवो खेलको सुरुवात मानिन्छ । औँसीको दिन उज्यालो हुनुअगाडि, बिहान गाउँको नाइकेसहितका मानिस भुवाखाडो जम्मा हुन्छन । अघिल्लो दिन ल्याइएको मुढा बालेर धुनी जगाउँछन् । त्यस दिन पाँच पाण्डवको नाममा देवी भवानीको बत्ती बालेर भुवोलाई आह्वान गरिन्छ । जम्मा भएका मानिस हातहातमा राँको लिएर भुवो भन्दै गोलाइमा कदम बढाएर भुवो भट्याउँछन् र केही बेरपछि भुवो जगाइएको मानेर राँको धुनीमा फालेर घर फर्कन्छन् ।

यहाँको प्रत्येक गाउँमा परापूर्वकालदेखि भुवाखाडो भनेर एक चौरलाई तोकिएको हुन्छ । अन्दाजी सय–डेढ सय मानिस उभिने, खेल्ने, उफ्रिने यो सार्वजनिक वा मन्दिरको चौर हुन सक्छ । त्यस जमिनको जग्गाधनी भए उसले मौसमअनुसार बाली लगाउँदैन । बाली लगाएको भए पनि भुवो खेल्दा मासिएमा कुनै विवाद गर्न पाउँदैन । 

दुया (द्वितीया)को पर्वको दिन गाउँका मानिस बिहान भवानीका बत्ती बाली घरघरमा पूजा गर्छन् । बास उठाल्ने नाममा बटुक आदि आफूसँग उपलब्ध परिकार बनाएर चढाउँछन्, खान्छन् । भुवोलाई पाँच पाण्डवको खेल भन्ने गरिन्छ । वास्तवमा भुवो शब्द भुवानी (भ्वानी) वा भवानीबाट उत्पत्ति भएको मानिन्छ । देवी भवानीको आराधनाको रूपमा लिइने यो भुवो कौरव र पाण्डवको बीचको युद्धको प्रतिरूप मानिन्छ । मान्यताअनुसार यही महिनाको आसपास कुरुक्षेत्रको युद्ध भएको थियो । युधिष्ठिरले युद्ध जित्नका लागि देवीको आराधना गरेको विवरण महाभारतमा नै उल्लेख पाइन्छ ।

स्मरण रहोस्, पुस शुक्ल द्वितीयको दिन बझाङमा रहेको पाँच पाण्डवको मन्दिरमा पर्व मानेर पूजा हुन्छ । नजिकै रहेको भवानी माणुमा समेत पूजा लाग्दछ ।

पर्वको खानपिनपछि यस दिन गाउँलेहरू तरबार र ढाल लिएर अपराह्न भुवाखाडोमा जम्मा हुन्छन् । भुवो खेल्दा टल्कियोस् भनेर हतियारहरूलाई एक–दुई दिनअघि नै सफा गरेर राख्छन् । वर्षभरिमा यही वेला यी हतियारको प्रयोग हुने गर्छ । कम उमेरका केटाहरू कसैले खुकुरी पनि बोकेका हुन्छन् । खास प्रयोग हुनुपर्ने ढाल–तरबार भए पनि कसैले काठ समाउने प्रचलन पनि बढेको छ । हाल गाउँतिर तरबारहरू मासिँदै र हराउँदै गएका छन् । नयाँ जोड्नप्रति अहिलेको पुस्ताको चासो छैन र गाउँघरमै बन्ने यी हतियार अहिले बन्न सक्ने अवस्था छैन । ढाल त देख्नका लागि पनि पाइँदैन र विकल्पको रूपमा बोटको हाँगा (स्याउला) र कपडाको पनि प्रयोग हुने गरेको छ । 

गाउँभरिका मानिस भुवाखाडोमा जम्मा भएपछि खेलको तयारी हुन्छ । बाजा बजाउने मानिस पनि आफ्नो ठाउँ बीचमा बसिसक्छन् । भुवो खेल्ने भस्याराहरू भुवाखाडोको वरिपरि खेल्नका लागि पंक्तिबद्ध हुन्छन । पुरुषले मात्र खेल्ने यस खेलको असक्त वृद्ध, आइमाई केटाकेटीहरू (उमेर पुगेका र रहर गर्ने केटाहरूबाहेक) छेउमा बसेर रमिता हेर्छन् । अगाडि पाँच–६ जना मानिस भुवो भट्याउने हुन्छन् । तिनीहरूलाई अनुशरण गर्दै करिब २० भन्दा बढी मानिस भस्सी रे भस्सो भन्दै पंक्तिमा लाग्छन् । त्यसवेला बिस्तारैको तालमा बाजा बज्दछन् । भस्याराहरू पनि त्यही तालमा गोलो भएर कदम अगाडि बढाउँछन् । यसमा अगाडितर्फ झुकेर तरबार प्रहार गरेजस्तो र ढालले पछाडि छेकेजस्तो गर्छन् र पछाडितर्फ फर्कँदासमेत त्यही चालका साथ कदम बढाउँछन् । 

भुवो भट्याउनेले भुवो उत्पत्ति, कुरुक्षेत्रदेखि आफ्नो गाउँसम्म त्यसको आगमनको कथा भन्छन् । तिनीहरूलाई अनुशरण गर्नेले भुवो रे भुवो अथवा ठाउँअनुसार भस्सी रे भस्सो मात्रै भन्छन् । यस चालको भुवोमा भवानी, पाण्डव र स्थानीय देवी–देवताको नाम लिएर आशीर्वाद मागिन्छ ।

त्यो गाथा सकिएपछि बाजा बजाउनेहरूले छिटो कदम र छोटो शब्द भट्याइने भुवोको ताल परिवर्तन गर्छन् भने भस्याराहरू पनि त्यहीअनुसार आफ्नो खेल र खुट्टाको चाल परिवर्तन गर्छन् । यो भुवोको दोस्रो चाल हो । यसमा अगाडि बढ्ने गति छिटो–छिटो हुन्छ । भुवो भट्याउने शब्द पनि छोटा हुन्छन् । भट्याउनेलाई अनुशरण गर्नेले पनि एक शब्द भुवो भनेर टुंग्याउँछन् । यसमा अगाडि–पछाडि फर्किने चाल पनि छिटो हुन्छ । यो चाल खेलेको केही समयपछि भुवोको तेस्रो चाल खेलिन्छ । बाजा बजाउनेले भुवोलाई यस चालमा ताल दिनासाथ भस्यारा पनि आफ्नो खुट्टाको चाल परिवर्तन गर्छन् । यसमा शब्द छोटो भए पनि अगाडि फर्केको वेला एक–दुई कदम अगाडि र पछाडि फर्केको वेला त्यसरी नै पछाडि कदम बढाउँदै छिटो–छिटो अगाडि बढ्छन् । यसवेला भस्याराहरूको कदम, जोस, फुर्ती हेर्नलायक हुन्छ ।

बाजाहरू बज्न बन्द भएपछि भस्याराहरू तितरबितर हुन्छन् र भुवो खेल रोकिन्छ ।

पहिलो दिन भुवोखाडामा भुवो खेलिसकेपछि गाउँका घरहरूमा भुवो खेलिन्छ । सबभन्दा पहिले रजवार वा नायकको घरमा भुवो लगिन्छ । सबै ठाउँमा माथि उल्लेख भएअनुसार नै भुवो खेल खेलिन्छ । गाउँमा पहिलो सन्तान जन्मेको घर, नोकरी, बढुवा वा नयाँ मान प्राप्त गरेको व्यक्तिको घरमा भुवो लगाइन्छ । भुवो लगाइएको घरको मानिसले चिउरा, पिठायो, फूल, प्रसादका साथमा क्षमताअनुसार केही नगद रकम पनि प्रदान गर्दछन् । यसमा भुवो खेल्दा वा घरमा माग्न जाँदा जातीय भेदभाव गरिँदैन ।

एक दिनको भुवो लगाउने घर सकिएपछि फर्केर भुवाखाडामा आउँछन् र फेरि बेलुकाको भुवो लाग्छ । त्यसपछि त्यही चौरमा राति अबेरसम्म ऐतिहासिक गाथाका भारी खेल, झोडा, ढुस्का र डेउडा खेलसमेत खेलिन्छन् ।

त्यसरी नै भोलिपल्टको भस्याराको भुवो खेल्ने दिनचर्या सुरु हुन्छ र रातमा सकिन्छ ।

कहिलेकाहीँ जान्ने मानिस भुवो खेलेपछि चाली भन्ने एक छुट्टै खेल खेल्छन् । यो एक विशेष प्रकारको बाजाको ताल र खुट्टाको चालसहितको हुन्छ । ढाल र तरबारलाई विशेष तरिकाले चलाउन जान्नुपर्दछ । हाल पुरानाबाट नयाँले सिक्न नसकेको अवस्थामा लोप हुने अवस्थामा छ ।

भुवो खेलिने अवधि माग्न सकिने घर र भुवो खेल्ने दिन बाँकी हेरी बढीमा दश दिन लम्ब्याइन्छ । १५ दिनको पक्ष रहने भए पनि त्यति अवधि खेलिँदैन । कहिलेकाहीँ यो पक्षका केही तिथिहरू धर्मको महिना माघमा पर्न जाँदा त्यसवेला तरबार समाइँदैन वा तिथिका कारण माघमा पर्दा यो चाड मनाइँदैन । माघ लाग्ने भए मसान्तभन्दा अघिल्लो दिन समाप्त गरिसक्नुपर्छ । भुवो समाप्त हुने दिन बत्ती बालेर भवानीको पूजा गरी बिदाइ गरिन्छ । संकलन गरिको रकमले बोका किनेर बलि दिई प्रसादको रूपमा काँचो मासु घर–घर पठाइन्छ । पाँच पाण्डवको समेत पूजा गरेर अर्को वर्ष खेल्ने गरी भुवो समाप्त गरिन्छ । 

ad
ad