१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचन : बागमतीमा चार सिटका लागि उम्मेदवारी दर्ता हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:२५:oo

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रमुख दलहरूले आफ्ना उम्मेदवार तय गरेका छन् । यही फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो । जसमा बागमती प्रदेशमा चार सिटका लागि निर्वाचन हुँदै छ। 

यसका लागि आज सोमबार प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तगठबन्धनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी दल मिलेर चुनावमा सहभागी हुँदै छन् । बागमतीमा कांग्रेसले अन्य र महिला गरी दुई सिटका लागि उम्मेदवारी तय गरेको छ भने माओवादी केन्द्रले अपांग कोटामा उम्मेदवारी दिने तय गरेको छ । यस्तै, एकीकृत समाजवादीले बाँकी रहेको दलित कोटामा उम्मेदवारी दिनेछ ।

जसअन्तर्गत कांग्रेसले आफ्नोतर्फबाट अन्यमा जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, माओवादीबाट अपांगतर्फ श्रीकृष्ण अधिकारीको उम्मेदवारी दर्ता हुनेछ भने एकीकृत समाजवादीले कुन क्लस्टरमा उम्मेदवारी दिने भन्नेमा अन्याेल हुँदा उम्मेदवार तय गर्न सकेको थिएन, तर एकीकृत समाजवादीको भागमा दलित कोटा पर्ने निश्चित भएपछि उसले आफ्नोतर्फबाट घनश्याम रिजाललाई उम्मेदवार बनाउने सम्भावना छ ।

यस्तै, बागमती प्रदेशमा एमालेले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उमेदवारको नाम टुंगो लगाइसकेको छ । एमालेका तर्फबाट बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपांगता–अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा रहेका छन् ।

यसैगरी, राप्रपाले यसअघि नै राष्ट्रिय सभा सदस्य निर्वाचनका आफ्ना उम्मेदवारको नामावली सार्वजनिक गरिसकेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र  पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवारका रूपमा अघि सारिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट कुल तीन सय ४७ जना मतदाताले मतदान गर्नेछन् । जसमा प्रदेश सभाका एक सय १० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी दुई सय ३७ जना रहेका छन् । राष्ट्रिय सभामा रहेका एमालेका नौ, कांग्रेसका चार माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एकजना गरी २० सांसदको पदावधि यही फागुन २० गतेबाट सकिने भएपछि निर्वाचन हुन लागेको हो । जसमा बागमती प्रदेशबाट चारजना सांसदको पदावधि सकिँदै छ ।

बागमतीबाट पदावधि सकिने सांसदहरूमा स्वतन्त्रबाट खिमलाल देवकोटा, एमालेबाट रामचन्द्र राई, दिलकुमारी रावल थापा ‘पार्वती’ र एकीकृत समाजवादीबाट सिंगबहादुर विश्वकर्मा रहेका छन् ।
 

ad
ad