१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १७:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

तनहुँद्वारा नवलपुर १० रनले पराजित, पराजुली एक्लैले लिए नौ विकेट

गण्डकी प्रदेश पिएम कप पुरुष क्रिकेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:५o:oo

पोखरामा जारी गण्डकी प्रदेश पिएम कप पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगितामा तनहुँ जिल्लाले विजयी सुरुवात गरेको छ।

क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत चौथो खेलमा तनहुँले नवलपुरलाई १० रनले पराजित गरेको हो। प्रतियोगिताअन्तर्गत समूह ‘ए’का खेलहरू सम्पन्न भएका छन् भने समूह ‘बी’को यो पहिलो खेल हो।

समूह एबाट स्याङ्जाले दुवै खेलमा जित हात पारी समूह विजेता बन्दै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। उपाधिका लागि स्याङ्जाले समूह ‘बी’को विजेतासँग २५ गते हुने खेलमा भिड्नेछ।

आइतबारको खेलमा टस जितेर ब्याटिङ रोजेको तनहुँ २८.४ ओभरमा अलआउट हुँदै एक सय १० रनको योगफल तयार गरेको थियो। एक सय ११ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नवलपुर २४.१ ओभरमा अलआउट हुँदै एक सय रनमा समेटियो।

खेलमा तनहुँका लागि कृष ऐरले ४७ बलमा चार चौका र दुई छक्कासहित टोलीका लागि सर्वाधिक ४१, उत्सव श्रेष्ठले २५ बलमा तीन चौका र एक छक्कासहित २१ र ओपनर समीर कँडेलले ३२ बलमा चार चौकासहित १८ रन जोडेका थिए। टोलीका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। अर्का ओपनर दीपेश अधिकारीसँगै अन्य तीन खेलाडी शून्य रनमा बाहिरिए।

नवलपुरका लागि ओपनर गोविन्द विकले ३३ बलमा तीन चौका र एक छक्कासहित टोलीका लागि सर्वाधिक २७ रन जोड्दा अर्का ओपनर प्रोमिस अर्यालले १५ बलमा चार चौका र एक छक्कासहित २२, विशाल पौडेलले १७ बलमा तीन चौकासहित १७, रिजन काफ्लेले १७ बलमा दुई चौकासहित १५ र सन्देश बस्नेतले २३ बलमा एक चौकासहित ११ रन जोडेका थिए।

तनहुँका पराजुली एक्लैले हात पारे नौ विकेट
आजको खेलमा एकै खेलाडीले नौ विकेट हात पार्न सफल भएका छन्। तनहुँका सन्दीप पराजुली एक्लैले नौ विकेट लिएका हुन्।

म्यान अफ द म्याचसमेत रहेका पराजुली ९.१ ओभर खेल्दै दुई मेडनसहित २५ रन खर्चेर नौ विकेट हात पार्न सफल भएका थिए। दिनेशजंग बुढामगरले दुई ओभर खेल्दै २७ रन खर्चेर एक विकेट हात पारे।

नवलपुरका विशाल पौडेलले ७.४ ओभर खेल्दै २४ रन खर्चेर तीन, कुमार रानाले चार ओभर खेल्दै २३ रन खर्चेर दुई, कमल परियारले नौ ओभर खेल्दै दुई मेडनसहित ३१ रन खर्चेर दुई र अप्रजित पौडेलले पाँच ओभर खेल्दै २८ रन खर्चेर एक विकेट हात पार्न सफल भए।

सोमबार तनहुँ र पर्वतबीचको खेल हुनेछ।

ad
ad