१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
खोल्सीका पानी पस्दा हिउँदमा पनि हिलाम्य सडक ।
गगन अयडी बाजुरा
२०८० पौष २२ आइतबार ०६:२७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सडक निर्माण अलपत्र छाडेर ठेकेदार दुई वर्षदेखि सम्पर्कविहीन

Read Time : > 2 मिनेट
गगन अयडी, बाजुरा
२०८० पौष २२ आइतबार ०६:२७:००

ठेक्का सम्झौताअनुसार बाजुराको कोल्टी–मार्तडी सडकअन्तर्गत चुथी–ढम्कने खण्डको पाँच किमि गत असारमै कालोपत्रे भइसक्नुपथ्र्यो, तर पौने पाँच करोड लगिसकेको बानियाँ–ईश्वशेर जेभी १५ प्रतिशत मात्रै काम गरेर दुई वर्षदेखि गायव छ ।

ठेकेदार नै सम्पर्कविहीन भएपछि बाजुराको कोल्टी–मार्तडी सडकखण्डअन्तर्गत पर्ने बडीमालिका नगरपालिका– ७ को चुथीदेखि ढम्कनेसम्मको पाँच किमि सडक कालोपत्रे अलपत्र परेको छ । ३० असार ०८० सम्म काम सक्ने गरी १९ कात्तिक ०७६ मा पूर्वाधार विकास कार्यालय अछामसँग सम्झौता गरेको बानियाँ–ईश्वशेर जेभी कामै नगरी दुई वर्षदेखि सम्पर्कविहीन छ । जब कि २१ करोड ५४ लाख ५६ हजारको ठेक्कामा उसले चार करोड ७३ लाख भने लगिसकेको छ । 

मार्तडीदेखि कोल्टीसम्म तीन खण्डमा पूर्वाधार विकास कार्यालय अछामले टेन्डर गरेको थियो । मार्तडीदेखि चुथीससम्म नौ किलोमिटर पहिलो खण्ड, चुथीदेखि ढम्कनेसम्म पाँच किलोमिटर दोस्रो खण्ड र ढम्कनेदेखि कोल्टीचौरसम्म २६ किलोमिटर ठेक्का गरेर कार्यालयले तीनवटा निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । मार्तडीदेखि कोल्टीसम्म ४० किलोमिटर कालोपत्रे गर्न प्रदेश र संघ सरकारबाट एक अर्ब ५७ करोड ७५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । पूर्वाधार विकास कार्यालय अछामका सूचना अधकिारी देवीप्रसाद उपाध्यायका अनुसार पहिलो र तेस्रो खण्डमा काम भइरहे पनि दोस्रो खण्डमा १५ प्रतिशतमात्रै प्रगति भएर दुई वर्षदेखि काम नै रोकिएको छ । पाँच पटकसम्म चिठी पठाउँदा पनि ठेकेदारले वास्ता नगरेको उनले बताए ।

‘चुथी–ढम्कने पाँच किमि सडक कालोपत्रे अघिल्लो वर्ष असारमै सकिनुपर्ने थियो । करोनाका कारण भन्दै एक वर्ष म्याद थपेर यो वर्षको असारसम्म लम्ब्याइएको थियो । तर, थपेको म्याद सकिँदा पनि सडक निर्माण १५ प्रतिशतमै सिमित छ,’ उपाध्यायले भने, ‘पहिलो किस्ताको चार करोड ७३ लाख निकासा गरेर लगिसकेको ठेकेदार दुई वर्षयता सम्पर्कविहीन छ । कार्यालयबाट पाँचपटक चिठी पठाइसकेपनि  काम गर्न आलटाल गर्दै आएको छ ।’

बडीमालिका नगरपालिका– ७ का वडाध्यक्ष धर्मराज उपाध्यायले पनि चुथीदेखि ढम्कनेसम्म १५ प्रतिशतभन्दा बढी काम नभएको र सडकको धेरै ठाउँमा गाडी तानेर सवार गर्नुपर्ने अवस्था रहेको बताए । स्थानीय धनकृष्ण विकले ठेकेदारको लापरबाहीका कारण यात्रुले समस्या झेल्नुपरेको बताए । सडक अलपत्र अवस्थामै छाड्दा जिप, ट्याक्टरलगायत यतायातका साधन ठाउँठाउँमा फस्ने गरेको उनको भनाइ छ । सडक नबन्दा ४० किलोमिटर सडकमा १५ सयदेखि दुई हजार रुपैयाँ गाडी भाडा तिर्नुपर्ने अवस्था आएको विकको गुनासो छ । 

चुथीमा केही दिन काम गरेबापतको ज्यालासमेत नदिएर सडक निर्माणको काम अधुरो छोडी दुई वर्षदेखि ठेकेदार सम्पर्कविहीन भएको अर्का स्थानीय हंस सार्कीले बताए । सडक धुलाम्मे र जताततै खाल्टाखुल्टीले गर्दा यात्रा गर्न निकै समस्या भएको उनको भनाइ छ । चुथीदेखि ढम्कने सडकखण्डमा ट्याक्टर, जीपलगायत यातायातका साधन तानेर सञ्चालन गर्नुपरेको ट्याक्टरचालक फत्य चौधरीले बताए । सडक राम्रो नहुँदा गाडी चलाउन निकै जोखिम भएको र ४० किलोमिटर सडकमा एक दिनभन्दा बढी समय लाग्ने गरेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालयले ठेकेदारलाई पटकपटक ताकेता गरे पनि बेवास्ता गरेको बताए । तत्काल सडकको स्थलगत अनुगमन गरी यस वर्षभित्र काम सम्पन्न गर्न निर्देशन दिने र समयमै काम सम्पन्न गर्न नसके कानुनबमोजिम कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । 

बानियाँ ईश्वशेर जेभी कम्पनीका ऋषि बानियाँले भने बाजुराकै स्थानीय यज्ञ शाहीलाई कामको जिम्मा दिएको, तर उनले समयमै काम गर्न नसकेको दाबी गरे । ‘उनलाई पटकपटक भनिरहेका छौँ, उनले काम गर्न नसके अर्कोलाई जिम्मा दिएर भए पनि चाँडै काम थाल्छौँ,’ उनले भने । पेटी ठेकेदार यज्ञ शाहीले मेसिनहरू सबै मर्मत गर्नुपर्ने भएकाले सामान बाहिरबाट आउँदै गरेको र केही दिनमा काम सुरु गर्ने बताए ।